मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

ढोरपाटन बाढी पीडितलाई एकीकृत बस्ती निर्माणमा जोड दिऔं

ढोरपाटन बाढी पीडितलाई एकीकृत बस्ती निर्माणमा जोड दिऔं


  • कृष्ण अधिकारी
  • भाद्र २६ २०७७, शुक्रबार

गतसाता भाद्र १७ गते साँझैबाट सिम सिम पानी परिरहेपनि अब बर्खा सकिदै गएको ठानेर भुजिखोला आसपास भुसुण्डे, दुनेपोखरा, लाकुरीबोट, सुकुरदुँग, दुने पँधेरा, घट्टबोट लगायत बस्तीका घर परिवार राती साढे ११ बजे सबै मस्त निद्रामा थिए। उनीहरु ननिदाउँदासम्म भुजिखोलामा बग्ने पानीको प्रवाह बर्षौदेखि सुन्दै आएको जस्तै खलखल बगिरहेको थियो । त्यसैले उनीहरु कसैले सोचेको थिएन, आडमा बग्दै आएको छिमेकी खोलाले बेइमान गर्छ, दर्जनौको ज्यान लिन्छ, सिरनदेखि पुछारसम्मका बस्तीहरुको उठीबास पार्छ र अरबौको क्षति गर्छ भनेर। पहिलो प्रहरको मस्त निद्रामा रहेका बेला सधै आफुहरुलाई चिसो पानी र ताजाहावा दिँदै भुजिखोलाले एक्कासि दैवीरुप लियो र क्षणभरमै आसपासका बस्तीहरु केहीलाई बगर बनायो र कैयौलाई चिथोर्दै लग्यो।
३८ जनाको ज्यान लयो । जसमा २१ जनाको लास प्रायको अंगभंगको अवस्थामा बडीगाढ खोलासम्म फेला पर्दैछ। त अझै १९ जना बेपत्ता नै छन् । तिनका आफन्तहरु लाससम्म त फेला पर्छ कि भनेर खोलाका तीरतिर गुल्मीको मिर्मीसम्म खोजि कार्य जारी गरिरहेका छन्। यसरी मानवीय क्षति हुनुको साथै ८० घर पूर्ण नष्ट भएका छन्, ५१ घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै एक स्वास्थ चौकी, दुई विध्यालय, ११ वटा झोलुँगेपुल, १० वटा काठेपुल, ५ वटा ढलान कुलो र ११ वटा लघुविधुत योजनामा क्षति पुगेको छ । अहिले ढोरपाटन ७, ८ र ९ वडाका कैयौ स्थानमा विधुतसेवा अवरुद्द छ र सञ्चार सेवा पनि यहाँ नियमित हुन सकेको छैन। बुर्तिबाङ ढोरपाटन सडकमा पनि ठाँउठाँउमा क्षति पुगेको छ।
पाँच वर्ष अगाडि नै यी बाढी प्रभावित बस्तीहरुलाई जोखिमयुक्त ठाँउ भनेर पहिचान भैसकेको भएपनि कसैले वास्ता गरेका थिएनन् । विकासका नाममा जाने बजेटको ठुलो खर्च हिउँदे डोजर आतंकको विकासे कामबाट यो क्षेत्र पनि अछुतो रहने कुरा भएन । ढोरपाटन शिकार आरक्ष प्रवेश मार्गका रुपमा रहेको देउराली पहाडमा पनि मोटरबाटो यत्रतत्र खनिएकै थियो। त्यही मोटरबाटोमा पहिरो अँएर ढोरपाटन ९, भुजिखोलाको सिरनमै खोला थुनियो र ताल बन्यो । त्यही ताल परेको पानी एकै पटक खुल्दा यस खालको विनास निम्तिएको मानिएको छ।
उद्दार कार्यमा राज्य, राजनीतिक पार्टी र संघसंस्थाहरु
घटनाको भोलिपल्ट विहानैदेखि नेपाल प्रहरी, शशस्त्र, सेना र स्थानीय जनप्रतिनिधि उद्दार कार्यमा खटिएका थिए । दिउसो प्रदेश सांसद खिम विक्रम, राजमोका गौरिश्वर पण्डे सहितको टोली, नेपाली काँग्रेसका जीत शेरचन र दोर्ण कुँवरको टोली र पर्सि पल्ट गृहमन्त्री राम बहादुर थापा, संघीय सांसद देवेन्द्र पौडेलको टोली यहाँ आएर बाढीपीडितलाई सान्त्वना र प्रारम्भिक मानवीय सहयोग गरेका थिए। गृहमन्त्री थापाले क्षति पुगेका घरहरुलाई राज्यले पुनर्निर्माण गर्ने बताएका छन। त्यस्तै प्रदेश मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले घटना स्थलको निरिक्षण गर्दै सनाखत भएका १३ घर परिवारलाई जनही ५० हजारका दरले नगद राहत उपलब्ध गराएका थिए । उनले नगरपालिकाले जग्गा उपलब्ध गराए संघ र प्रदेश मिलेर एकीकृत बस्ती निर्माणमा पहल गर्ने बताएका छन्।
राजमो जिल्ला अध्यक्ष अमर थापा र प्रदेश साँसद खिम बिक्रम शाहीको टोली घट्नास्थल पुगेर मृतक र बेपत्ता भएका २१ परिवारलाई जनही ५ हजारका दरले र विस्थापित ९६ परिवारलाई जनही २ हजारका दरले तत्काल नगद राहत सहयोग गरको छ। नेपाली काँग्रेसले ७५ घर परिवारलाई त्रिपाल, खाध्यन्न र नगद सहयोग गरेको छ। त्यस्तै राष्ट्रय लोकदोहोरी प्रतिष्ठान बागलुङ, नेपाल रेडक्रस सोसाईटी, लायन्स क्लब बाग्लुङ लगायत संघ संस्थाहरुले त्रिपाल, खाध्यन्न, लत्ता कपडा आदि सहयोग गरिरहेका छन्।
विहिवार मात्रै नेकपा जिल्ला पार्टी बाग्लुङका अध्यक्ष इन्द्रलाल सापकोटा सहितको टोलीले ढोरपाटन नगरपालिकाले स्थापना गरेको दैवीप्रकोप राहतकोषमा जम्मा हुनेगरी १९ लाख, ५८ हजार ७५६ को चेक मेयर देव कुमार नेपालीलाई हस्तान्तरण गरेको छ। त्यस्तै विदेशमा रहेका गोल्कोट समाज जापान, हङकङ बाग्लुङ समाज, गल्कोट समाज यूके लगायतले पनि सहयोग सँकलन गरिरहेको बताएका छन्।
सहयोगी मनहरुले जुटाएको सम्पूर्ण सहयोग रकम व्यवस्थित एकीकृत बस्ती निर्माणमा लगाएर दिर्घकालिन समस्या समाधान गर्न सक्यो भने ढोरपाटन बाढीपीडितको स्थायी उद्दार हुनेछ । सहयोग रकमको पारदर्शीता, एकद्वार प्रणाली, सही ब्यवस्थापन र निस्वार्थ सेवाभाव भयो भनेमात्र यी कार्यहरु पुरा हुनेछन् । यसमा सवैको ध्यान पुगोस ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->