पोखरा, २८ भदौ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले निर्माणाधीन पोखरा विमानस्थलको निरीक्षण गरेका छन् । भैरहवा विमानस्थलको निरिक्षणपछि पोखरा विमानस्थलको निरिक्षण गर्न आइपुगेका पर्यटन मन्त्री भट्टराइले विमानस्थल निरीक्षण गर्दै विमानस्थलको निर्माण कार्य तोकिएको समयमै सकिने जिकिर गरे ।
यसअघि विमानस्थल व्यवस्थापनले आयोजनाले लामो समयको बन्दाबन्दी र चीनबाट आउनुपर्ने कामदार पनि उतै रोकिएका हुनाले निर्माण कार्य तोकिएको समयमा सक्न मुस्किल हुने बताएको थियो । पर्यटनमन्त्री भट्टराइले निरीक्षणको क्रममा कामदार ल्याउनका लागि पहल गर्ने बताए । उनले भन्सारमा रोकिएका सामान सहज रुपमा ल्याउने वातावरण बनाउनको लागि पहल गर्ने आश्वासन पनि दिए । ‘जुन हाम्रो चीनबाट आउनुपर्ने कामदार रोकिनु भएको थियो । उहाँहरुलाई ल्याउनको लागि पहल गर्छु भन्नु भएको छ’, मन्त्री भट्टराईको भनाई उधृत गर्दै आयोजना प्रमुख विनेश मुनाकर्मीले भने, ‘भन्सारमा रोकिएका सामान पनि सहजै ल्याउन पहलगर्ने बताउनु भएको छ । कोभिड १९ मा पनि विमानस्थलमा भइरहेको कार्य प्रगति देखेर खुसी व्यक्त गर्नु भएको थियो ।’ उनले विमानस्थलका कर्मचारीलाई धन्यवाद समेत दिएका थिए ।
उडान अवरोधको रुपमा रहेको विमानस्थलको पूर्वी डाँडो, ल्याण्डफिल्ड साइट, जग्गा प्राप्ति, मु–आब्जा लगायतका विषयहरु पनि छन् । मन्त्री भट्टराइले सबै समस्याको समाधान भइसकेको दाबी गरेका थिए । महानगरपालिका र प्रदेश सरकासँगको समन्वयमा यी विवाद टुंग्याइने उनले बताएका थिए । डाँडा कटानको लागि बनको काम सकिएपछि सरकारी वन क्षेत्र पनि काट्नुपर्ने हुनाले डाँडा नकाटुञ्जेल उडान नहुने हुँदा विभिन्न म्यानेजमेन्टको टुंगो लगाएर उडान सञ्चालन गर्न ६ महिना अघि नै काम सक्नुपर्ने हुन्छ । विमानस्थल आयोजनाले तोकिएको समयभन्दा ६ महिनाअघि जुलाई १० मा काम सकेर उडान भर्ने बताएको थियो । कामदारको अभावले समयमै काम सक्न मुस्किल हुने अनुमान आयोजनाको छ ।
धेरै जसो स्ट्रक्चरका काम निर्माणको अन्तिम चरणमा पुगे पनि इक्युपमेन्ट स्ट्रक्चरको निर्माणका लागि दक्ष जनशक्ति चीनबाटै ल्याउनुपर्ने आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए । अहिले विमानस्थलमा २४४ चीनियाँ र ११८ नेपाली कामदारले काम गरिरहेका छन् । तीमध्ये केही चीनियाँ कामदारको काम सकिएर स्वदेश फिर्ने तयारीमा छन् ।
अहिले विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, लाइटिङका कामहरु सकिइसकेको छ । केबुलका काम पनि सकिइसकेको छ । माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ । गाडी गुड्ने रोड, एक्सेसस रोड र ट्रमिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ । कार पार्किङको काम पनि सकिएको र बिल्डिङको हकमा १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिइसकेको आयोजना प्रमुख मुनाकर्मीले बताए । मेकानिकल, इलेक्ट्रिकलका काम पनि भइरहेको छ । विमानस्थलको निर्माण कार्य ६३ प्रतिशत सकिएको छ ।
अन्र्तराष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा बनिरहेको विमानस्थलको सन् २०२१ भित्र निर्माण सकेर उडान सुरु गर्ने लक्ष्य लिइएको छ । विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्ने बताइएको छ । चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋणमा लिएर यो विमानस्थल बनाउन सुरु गरिएको हो ।
विमानस्थलका लागि ०३२ सालमा ३१ सय ५० रोपनी जग्गाको अधिग्रहणको सूचना जारी गरि २०३४ सालबाट मुआब्जा वितरण गर्न थालिएको थियो । तत्कालीन समयमा १ सय ५० घर परिवार विस्थापित भएका थिए । ०७५ मा अन्तिम पटक भनी आउटर पेरिफेरल रोडको नाममा तारबारको वरिपरि १० मिटर चक्लाइको जग्गा अधिग्रहण गरिएको थियो ।





