पर्वत, २९ भदौ– पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा खोलामा बाढीसँगै आएको पहिरोले घर पुरिँदा ३ बर्षीया बालिकाको मृत्यु भएको छ ।
वडाध्यक्ष टीकाराम भुसालका अनुसार रातभर भएको अविरल वर्षापछि स्थानीय भुकेखोलामा बढेको भेलसँगै आएको पहिरोले सिर्सुवाका नबिन बि.क.को घर पुरेको हो । कुन समयमा पहिरो आएको यकिन नभएको तर पहिरो आएको थाहा पाएपछि परिवारका अन्य सदस्य भाग्न सफल भए पनि ३ वर्षीया बिबिका भने पहिरोमा नै परेको र उनको शव निकाली सकिएको भुसालले बताए । पहिरोमा अन्य मानिस भने परेका छैनन् तर पशु चौपायाहरू भने पुरिएका छन् ।
सोही पहिरोले नवीनको घर भन्दा तल रहेको थानेश्वर भुसालको घर र गोठमा क्षति पु¥याउनुको साथै धान खेती पनि पुरेको छ । मुडिकुवाकै अर्को ठाउँ चुरीमा पनि पहिरो जाँदा रामप्रसाद तिवारीको गोठमा बाँधिएका चौपाया मरेका छन् ।
वडाध्यक्ष भुसालले मुडिकुवाका विभिन्न ठाउँबाट घरहरू पहिरोको उच्च जोखिममा परेको भनी आफूलाई खबर आएको पनि बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले पनि घट्नाहरुको बिषयमा जानकारी संकलन गर्ने काम भइरहेको बताउँदै मुडिकुवाको पहिरोमा प्रहरीले उद्धार गरिरहेको र पूरा विवरण आउन बाँकी रहेको जानकारी दिए ।





