पोखरा, ३० भदौ– करिब ५ खर्बको हाराहारिमा लगानी भएको गण्डकी पर्यटन व्यवसायमा कोरोना कहरअघि ७५ हजारले प्रत्यक्ष रोजगारी पाएका थिए । १० हजार ५ सय निजी व्यवसायी पर्यटनमा आवद्ध थिए । तर, कोरोना महामारिका कारण ठूलो लगानी रहेको गण्डकीको पर्यटन क्षेत्र जोखिममा परेको छ । कोरोना कहरका कारण पर्यटन क्षेत्रमा लगानीको ठूलो हिस्सा पलायन हुने देखिएको छ ।
गण्डकी प्रदेशका पर्यटन व्यवसायीमध्ये २५ प्रतिशत व्यवसायी यो व्यवसायबाट पलायन भइसकेको पर्यटन व्यवसायीहरुले तथ्यांक निकालेका छन् । यस्तै, लामो समयको बन्दाबन्दीका कारण पर्यटन क्षेत्रबाट दैनिक १३ करोड २१ हजार नोक्सानी ब्यहोर्नु परेको व्यवसायीहरुले बताएका छन् । ‘पोखरा विश्वकै सुन्दर सहर, मुख्य व्यवसाय पर्यटन भएको कुरा त यहाँहरु सबैलाई थाहै छ । बाहिरी पर्यटक नआउँदा सुनसान छ’, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले भने, ‘७÷८ महिना नै भइसक्यो पर्यटक नआएको । धेरै पलायन हुने अवस्था छ । लगानी जोखिममा छ ।’
उनले ७० देखि ८० प्रतिशत विस्थापित भएको र यो तथ्याङ्क तथ्यांक गण्डकीका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको बताए । यही अवस्था रहिरह्यो भने अबको ६ महिना भित्रमा ५० प्रतिशत व्यवसायी पेशा परिवर्तन गर्न बाध्य हुने उनको जिकिर छ । सामान्य अवस्थामा फर्के पनि पर्यटन व्यवसाय खुला हुन गाह्रो हुने उनले बताए । ‘केही वर्ष लाग्छ । २०१९ मा १२ लाख पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । त्यति नै संख्यामा पर्यटक भित्र्याउन ५ वर्ष लाग्ने देखिन्छ’, उनले भने, ‘पर्यटन व्यवसाय असाध्यै जोखिममा परेको छ । यसको भविष्य अझै अनिश्चित छ । कोभिडको उपचार अनिश्चित देखिइसकेको अवस्था पनि छैन । त्यसकारण भविष्यमा यो उद्योग अझ बढी जोखिमपूर्ण देखिएको छ ।’
औषधि पत्ता लागेर सामान्य अवस्थामा फर्किसक्दा समेत पर्यटन व्यवसाय लयमा फर्किन ५ वर्ष लाग्ने व्यवसायीको अनुमान छ । आन्तरिक र छिमेकी देशका केही पर्यटक ल्याउन सके १ डेढ वर्ष भित्रैमा पनि पूरानो लयमा फर्किने अवस्था रहे पनि त्यो सब गर्न गाह्रो पर्ने देखिएको छ । विकसित मुलुकहरुमा आन्तरिक पर्यटन खुला हुन थालेका छन् । तर, सरकारले पर्यटन क्षेत्र सुचारु गर्न कुनै स्पष्ट नीति नल्याएकोमा उनले गुनासो पोखे । आन्तरिक उडान खुला गरेर आन्तरिक पर्यटक भित्र्याउन सरकारले नीति ल्याउनुपर्ने देखिएको उनले सुनाए । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले कोरोना कहरा कारण पर्यटन व्यवसाय सबै अस्तव्यव्यस्त बनेको भन्दै गुनासो पोखे । अरु व्यवसायी सहज भएपछि सहज रुपमा चल्न सके पनि पर्यटन क्षेत्र भने माथि उठ्न धेरै समय लाग्ने उनले बताए ।
धेरै जसो व्यवसायी पलायन भई सके पनि टिकेका व्यवसायीलाई एकदै गाह्रो परेको उनले सुनाए । ‘आफ्नै जग्गामा व्यवसाय सुरु गरि रहेको टिकेको छन् । भाडामा लिएर व्यवसाय गरेकाहरु छोड्दै छन्’, उनले भने, ‘महंगो ब्याजमा ऋण लिएर व्यवसाय सुरु ग¥यो कतिलाई घरधनीले छट दिएनन् । दिए पनि धेरै पीडा छ । त्यो कारणले तत्काल रिकभरि नहुने हो भने धेरै व्यवासायीले व्यवसाय छोडेर पलायन हुनुपर्ने बाध्यता छ ।’सरकारले पर्यटन व्यवसायीलाई सहयोगको लागि कुनै नीति नल्याइ मौन बसेकोमा उनको गुनासो छ । बिना कुनै योजना लकडाउन भनेर यस्तै उपक्रमले ५० प्रतिशत भन्दा बढी व्यवसायी यो क्षेत्रबाट पलायन हुने उनको जिकिर छ । ‘पर्यटन क्षेत्रमात्रै होइन हरेक क्षेत्रका व्यवसायलाई स्पष्ट नीति नआउँदा गाह्रो छ’, उनले भने ।
पर्यटन क्षेत्रलाई यो अवस्थाबाट माथि उकास्न पहिलो आन्तरिक पर्यटन नै अघि बढाउनुपर्ने उनले सुनाए । यसको लागि सरकारी र निजी दुबै क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाई छ । पोखराको पर्यटनमा १ खर्ब ३५ अर्ब लगानी देखिएको छ । कतिपय व्यवसायीले बैंकमा ऋण नलिई सुरु गरेको हुनाले त्यो डाटा नआउन सक्ने सम्भावना पनि रहने उनले सुनाए । ‘ राष्ट्रिय तथ्याङ्कले यही नै देखाएको छ । १५ अर्ब भन्ने कुरा पनि आएको छ । कतिपय रजिष्टर नभएको पनि छन् । तिनको डाटा लिन जरुरी छ, सही डाटा लिनुपर्ने हुन्छ’, उनले भने ।
तीनै तहका सरकार महामारि भन्दै मौन बस्दा यो भन्दा ठूलो असहज परिस्थिति सामना गर्नुपर्ने देखिएको उनले सुनाए । कुनै पनि द्विविधा नगरि स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने उनले सुझाएका छन् । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बैशाख, जेठसम्म होटल व्यवसायीमध्ये करिब १० प्रतिशत छोडेर पलायन भएको बताए । भदौ, असोजबाट निस्फिक्री व्यवसाय खुल्ने अपेक्षा लिए पनि अवस्था झनै जटिल बन्दै आएको उनले सुनाए ।
३ देखि ४ अर्ब हाराहारिमा लगानी रहेको पोखरेली पर्यटनमा आश्रित व्यवसायीहरुमध्ये यस्तै अवस्था रहे ४० प्रतिशत बढी पलायन हुने अवस्था आउन सक्ने उनले बताए । ‘संघीय बजेटले पुन कर्जालाई मात्रै सम्बोधन गरेको छ । अर्को कोष राख्ने भने पनि राखिएको छैन । ५० अर्बको कोष राखेर श्रमिकलाई तलब भत्ता र तालिम दिने भनिएको थियो’, उनले भने, ‘तर, कार्यविधि नै नबनेको अवस्था छ ।’ प्रभावित व्यवसायीले पाउने भनिए पनि प्रभावित हुन कुनै मापदण्ड नबनेको हुँदा । प्रभावित भए पनि नपाउने अवस्था रहेको उनले सुनाए । व्यवसाय सबै ठप्प भएर बसेको अवस्थामा पानी बिजुलीको न्युनतम शुल्क तिर्न पनि व्यवसायीलाई हम्मेहम्मे परेको भन्दै उनले दुखेसो पोखे । ‘होटल व्यवसाय पूर्ण लकडाउनमा छन् । १ लाख सम्म महसुल बाहेक आएको छ । आम्दानी छैन । साना साना खर्च भई रहेको सरकारले ५ प्रतिशत ब्याजदर भने पनि तिर्न गाह्रो छ’, उनले भने ।
दुईतीन महिना लकडाउन हुने अनुमान लगाए पनि ६ महिनासम्म लकडाउन लगाउँदा व्यवसायीहरु मारमा परेको उनले बताए । दशैं तिहारसम्म आन्तरिक पर्यटन चल्ने अनुमान व्यवसायीले लगाएका थिए । यद्यपि, त्यो समय पनि घर्किसकेको छ । २ वर्षसम्म ब्याज र किस्ता तिर्ने समय मात्रै धकेलेर मात्र नहुने उनको जिकिर छ । ‘शुन्य आम्दानी छ । ब्याजदर तिर्न पनि गाह्रै छ । रणनैतिक योजना बनाएर उत्थान गर्न नीतिगत योजना धेरै काम गर्नुपर्ने देखिन्छ’, उनले भने ।व्यवसायी गर्नुपर्ने धेरै पाटोहरु रहे पनि सरकारलाई नीतिगत रुपमा सहयोग गर्न उनको अपिल छ ।





