मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

अबरुद्ध पोखरा बागलुङ-सडक आजबाट सुचारु हुने

अबरुद्ध पोखरा बागलुङ-सडक आजबाट सुचारु हुने


  • संजय रेग्मी
  • भाद्र ३० २०७७, मंगलबार
फाईल तस्विर

पर्वत, ३० भदौ– मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुस्मा नगरपालिका १ सहस्रधारामा ३ दिनदेखि लगातार पहिरो झर्दा अबरुद्ध रहेको पोखरा–बागलुङ सडक आजबाट सुचारु हुने भएको छ ।
गत शनिवार रातीबाट आज बिहानसम्म पनि थोरै थोरै मात्रामा गेगर र पानी सहितको पहिरो खस्ने नरोकिएपछि आकस्मिक सेवाका सवारीहरु समेत रोकिनपर्ने भएकोले आजबाट पहिरो झर्दै गर्दा पनि पन्छाउने काम गरिने तयारी थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काले बताए । वर्षा रोकिएको भए पनि ५ सय मिटर माथिबाट पहिरो निरन्तर खस्दा सडकको ५० मिटर भन्दा बढी भाग पूर्ण रुपमा पूरिएको छ ।
पहिरो रोकिएपछि सडक खुलाउँला भन्ने हो भने यातायातको सुविधा नै बन्द हुने भएकोले खस्दै गरेको गेगरलाई हटाउँदै सडक खुलाउँदै गर्नुको विकल्प नरहेको खड्काको भनाई छ । सडकमा जम्मा भएको हिलो र गेगर हटाउन एक्स्काभेटर व्यवस्थापन गर्न लागिरहेको र काम सुरु गरेको २ घण्टामा पूरा हुने भएकोले आज दिउसोबाट सडक सुचारु हुने भएको हो । शनिवार राती र आइतबार दिनभर खसेको गेगर र ढुङ्गालाई हटाएर आइतबार साँझपखबाट सडक सुचारु गराइएको थियो । तर आइतबार राती र सोमबार दिनभर पनि पहिरो खस्ने क्रम नरोकिँदा आज बिहानसम्म पनि बाटो अवरुद्ध रहेको छ । पहिरोको कारण साबिकको धौलागिरीका तीन जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङका सवारी बाहिरिन पाएका छैनन् । ती जिल्ला जानका लागि पोखरा लगायतका ठाउँबाट छुटेका सवारी पर्वत सदरमुकाम कुस्मामा नै रोकिएका छन् ।
तीन दिनसम्म सडक बन्द रहँदा जागिरका बागलुङ–कुस्मा आउजाउ गर्ने सरकारी तथा गैर सरकारी कर्मचारीहरूलाई समस्या भएको छ । बागलुङ, म्याग्दी र मुस्ताङबाट आकस्मिक अवस्थाका बिरामी थप उपचारको लागि पठाउँदा सोही बाटो हुँदै पोखरा जानुपर्छ । त्यस्ता खालका बिरामी रिफर भएमा सडककै कारण ज्यान समेत जान सक्ने भएकोले पहिरो खस्दै गर्दा पनि पन्छाउँदै, सडक सुचारु गराउनुपर्ने बाध्यता भएको ट्राफिक प्रहरी प्रमुख खड्काको भनाई छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->