पोखरा, १ असोज– यातायात व्यवसायीहरुले बिहीबारबाट लामो दूरीका सार्वजनिक बस सञ्चालनमा ल्याउने भएका छन् । ५० प्रतिशत बढी भाडा लिएर ५० प्रतिशत यात्रु बोक्ने पाउने गरि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारी सञ्चालन अनुमति दिएपछि व्यवसायीहरुले यो निर्णय गरेका हुन् । उनीहरुले आवश्यक सुरक्षा मापदण्ड पालनासहित यातायात चलाउने प्रतिवद्धता पनि जनाएका छन् ।
सरकारले तोकेको आवश्यक मापदण्ड पालना गर्दै सवारी सञ्चालनमा ल्याउने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए । अन्य पेशा, व्यवसाय सञ्चालनमा आइसक्दा पनि आफूहरुले सञ्चालन अनुमति नपाएको भन्दै यातायात व्यवसायी केही समयअघि देशव्यापी रुपमा विरोधमा उत्रिएका थिए ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले त सरकारी निर्णयको अवज्ञा गर्दै असोज १ गते सवारी सञ्चालनको तयारी थालेको थियो । सवारी सञ्चालन गर्ने सन्दर्भमा बनेको ‘कोभिड–१९ सार्वजनिक यातायात व्यवस्थापन सञ्चालन कार्यविधि निर्देशिका २०७७’जारी निर्देशिका अनुसार नै मापदण्ड अपनाएर सवारी सञ्चालनको तयारी थालेको पृथ्वीराजमार्ग बस व्यवसायी कम्पनीले सरकारले तोकेको मापदण्ड अनुसार नै सवारी सञ्चालनमा ल्याउने बताएको छ । ‘२ सिटमा एक जना मात्रै यात्रु राखेर ५० प्रतिशत भन्दा बढी भाडा लिएर सवारी सञ्चालन गर्छौँ’, कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले भने, ‘गाडी छुट्नुअघि डिसइन्फेक्सन गछौं, सेनिटाइज गराउँछौं ।’ शंका लागेका यात्रुलाई हामी यात्रा गराउँदैनौं । सवारी चढ्दा यात्रुले अनिवार्य मास्ककको प्रयोग गर्नुप¥यो ।’
कम्पनीबाट लामो दूरीमा काँकडभिट्टा र महेन्द्रनगर । त्यसैगरि, अधिराज्यका प्रमुख सहरमा गाडी छुट्दै आएका छन् । यसअघि पोखराबाट काँकडभिट्टामा ७ वटा गाडी सञ्चालनमा रहेकोमा पहिलो चरणमा २ वटा मात्रै छुटाउने अध्यक्ष केसीले बताए । वीरेन्द्रनगर, काठमाडौं, नारायणगढ, सुनौली लगायतका ठाउँमा संख्याको हिसाबले कमै मात्र गाडी निकाल्ने उनले सुनाए । पहिलो चरणमा कम्पनीका १ सय गाडी सडकमा निस्किने छन् ।
कम्पनीले गाडी डिसइन्फेक्सन र शुद्धिकरणका लागि अत्याधुनिक मेसिन पनि किनेको छ । गाडी छुट्नुअघि प्रत्येक शाखाबाट डिसइन्फेक्सन र सेनिटाइज भएर मात्रै गाडी छुट्ने उनले बताए । ‘१६ वटा मेसिन किनेका छौं, त्यसमा चाहिने सामान पनि प्रत्येक शाखामा पुगिसकेका छन्’, उनले भने ।
डिसइन्फेक्सन र सेनिटाइजको लागि कम्पनीले गण्डकी टेक्नोलोजिस प्रालिसँग सहयकार्य गरेको छ । कम्पनीका अध्यक्ष रवि सुनारका अनुसार हावामा भएको इन्फेक्सन र सतहमा भएकोलाई सेनिटाइज गरिने साथै सतहमा भएकोलाई सोडियम हाइड्रो क्लोराइड भन्ने केमिकल प्रयोग गरेर सेनिटाइज गरिने छ । हावामा भएको भाइरसलाई बाफले क्लियर गर्छ । डिसइन्फेक्सन गर्दा एन्टि ब्याक्टेरियल, एन्टिभाइरल लिक्विड, केमिकल लिक्विड प्रयोग हुने उनले सुनाए । केमिकल लिक्विड मेसिनमा राखेर हिट गरेर त्यही केमिकलको धुँवाले सेनिटाइज गरिने उनले सुनाए । ‘त्यसले हावामा भएको ड्रपलेट, सतहमा रहेको इन्फेक्सनको चान्स हुने ड्रपलेटलाई निस्क्रिय गर्छ’, उनले भने । हेल्थ गाइडलाइन अनुसार सवारी सेनिटाइज र डिसइन्फेक्सन गरिने उनले सुनाए । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीसँग आबद्ध भएका १४ सय सवारी देशैभरिका प्रमुख सहरमा सञ्चालनमा छन् । महिनौ घर, ग्यारेजमा सवारी थन्काएर राख्दा समेत सरकारले बेवास्ता गर्दै आएको आरोप लगाउँदै आएको कम्पनीले यात्रुको चाप अनुसार सवारी सञ्चालनमा ल्याउने बताएको छ ।





