बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

होटल/ रेष्टुरेण्टका ताला खुले, मान्छे छिरेनन्

होटल/ रेष्टुरेण्टका ताला खुले, मान्छे छिरेनन्

साउन १५ मा कामदार बोलाएर सञ्चालन तयारी थालेका व्यवसायीले असोज १ गतेदेखि पुन ताला खोलेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • असोज २ २०७७, शुक्रबार

पोखरा, २ आसोज– बिहीबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडका होटल र रेष्टुरेण्टहरु खुले । पर्यटकविहीन लेकसाइड खुले पनि चहलपहल खासै थिएन । केही रेष्टुरेण्टहरुको ढोकामा ‘टेक अवे’को सूचना टाँसिएकै थियो । सोमबार मन्त्रिपरिषद् बैठकले होटल तथा रेष्टुरेन्टलाई पनि सञ्चालनमा आउने अनुमति दिएसँगै पोखराका होटल, रेष्टुरेन्ट पनि खुलेका हुन् ।
यसअघि गत साउनमा सरकारले होटल तथा रेष्टुरेन्ट व्यवसायलाई ‘टेक अ वे’ सर्भिसका लागि मात्रै अनुमति दिएको थियो । सञ्चालन अनुमति पाए पनि संक्रमणको दर ह्वात्तै बढेपछि सरकारले पुनः बन्द गर्न निर्देशन जारी गरेको थियो । तर, असोज एक गतेदेखि भने सरकारले पूर्ण रुपमा सञ्चालन अनुमति पाएसँगै पर्यटकीय नगरि पोखराका करिब २५ प्रतिशत होटल तथा रेष्टुरेन्ट व्यवसाय खुलेका छन् ।
सुरक्षा मापदण्ड पालना गर्दै सञ्चालन अनुमति माग्दै आएका थिए । आन्तरिक उडान र लामो दूरीका सवारी सञ्चालनमा ल्याएर पर्यटन व्यवसायलाई पनि बिस्तारै लयमा फर्काउने माग राख्दै आएका व्यवसायी सरकारको यो निर्णयसँगै उत्साही बनेका छन् । लामो समयको बन्दाबन्दीका कारण २५ प्रतिशत व्यवसायी पलायन भइसकेको पर्यटन व्यवसायीहरुले तथ्यांक निकालेका थिए । यही अवस्था कायम रहे अबको ६ महिनाभित्रमा ५० प्रतिशत व्यवसायी पलायन हुने चेतावनी दिदैं आएका व्यवसायी सरकारले सञ्चालन अनुमति दिएसँगै उत्साही देखिएका हुन् ।
‘बुकिङको आशा त होइन । तर, यहीं अवस्था कतिञ्जेल बस्ने ?’, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विका तुलाचनले भने, ‘बिस्तारै–बिस्तारै पूरानै लयमा आउँछ भन्ने सन्देश दिन मात्रै हो ।’ साउन १५ मा सञ्चालन अनुमति दिए पनि हवाई सेवा र लामो दूरीका सवारीले सञ्चालनको अनुमति पाएका थिएनन् । साउन १५ मा सञ्चालनको अनुमति पाएपछि व्यवसायीहरुले आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालनको तयारीसमेत थालेका थिए । बिदामा पठाइएका कामदारलाई फिर्ता बोलाएर सञ्चालन तयारी थालेका व्यवसायीहरुलाई सञ्चालनमा पुन रोक लगाउँदा अन्यौलको स्थिति पैदा गराएको थियो ।
साउन १५ मा कामदार बोलाएर सञ्चालन तयारी थालेका व्यवसायीले असोज १ गतेदेखि पुन ताला खोलेका हुन् । ‘साउन १५ पछि सञ्चालनमा आउने तयारी थालेका होटल, रेष्टुरेण्टहरु चल्न थालेका छन् । अरु पनि बिस्तारै सञ्चालनमा आउँछन्’, अध्यक्ष तुलाचनले भने, ‘अहिले नै पर्यटक आउनेभन्दा पनि सकारात्मक सन्देश दिने हो ।’
पोखरेली पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवि पोखरेलले होटल तथा रेष्टुरेन्ट साथै हवाई उडानको अनुमतिले पर्यटन व्यवसायीलाई उत्साही बनाएको बताए । ‘कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन मात्रै विकल्प होइन । कोरोनासँग जुध्दै, जोगिँदै सुरक्षा मापदण्ड र हेल्थ प्रोटोकल पालना गर्दै अघिबढ्नुको विकल्प छैन’, उनले भने । अध्यक्ष पोखरेलले आफ्ना व्यवसायीलाई सुरक्षाका मापदण्ड अपनाउनका लागि आवश्यक तालिम पनि दिएको बताए ।
आफू सुरक्षित बन्दै आएका पाहुनालाई सुरक्षित सेवा दिने आफूहरुको दायित्व रहने उनको भनाई छ । व्यवसाय सञ्चालनमा आएसँगै संक्रमणको दर थप फैलिन नदिनको लागि आफूहरु थप सचेत बनेको समेत उनले बताए । आन्तरिक तथा बाह्य पर्यटकले गुलजार बनि रहने पोखरा छिट्टै पुरानै लयमा फर्किने उनको विश्वास छ ।
३ देखि ४ अर्ब हाराहारिमा लगानी रहेको पोखराको पर्यटन व्यवसायमा ७५ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यस्तै १० हजार बढी निजी व्यवसायी आबद्ध छन् । दैनिक १३ हजार बढी घाटा व्यहोर्दे आएको पोखरेली पर्यटन व्यवसाय आन्तरिक पर्यटन चलायमान भए १/२ वर्षमै पुरानै लयमा फर्किने पर्यटन व्यवसायीहरुले विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->