भुमिका
नेपालमा पुरुषको तुलनामा महिलाको संख्या एक प्रतिशतले बढी छ । प्रकृतीले पनि महिलाहरुलाई कोमल शरीर, कोमल मन, ममताको खानी, सृजनाको प्रतीक, खुला हृदय भएको, जति बयान गरे पनि कम हुने, कुनै पनि सभ्य समाज, सुखी परिवार, सुखद दाम्पत्य जिवन, परिवारको भविष्य, यी महिलाबिना असम्भव छ । महिलाबिना घरमा चुलो बल्दैन, दाम्पत्य जिवननै हुँदैन, मानव जिवनको सृष्टी नै हुँदैन, प्रेम कहानी नै बन्दैन, कसैको पनि परिवार अगाडी नै बड्दैन, यस्ता महिलाहरु परिवारलगायत समाजका खम्बा हुन् भन्ने कुरामा कसैको पनि दुई मत छैन । परिवारको कुनै सदस्य बिरामी भयो भने सबैभन्दा पहिला चिन्ता महिलालाई पुरुषलाई भन्दा पहिला नै हुन्छ । आफनो जन्मघर छोडेर पराईलाई अपनाउनु पर्ने पनि महिलालाई, नौ महिनासम्म गर्भमा राखी बच्चा जन्माउन पर्ने पनि महिलालाई, श्रीमान, बच्चाबच्चीहरुको हेरचाह र हुर्काउन पर्ने, सासुससुरा सबैको हेरचाह गर्नुपर्ने पनि महिलाले । तिजमा माईत गई आमा बाबु, दाजुभाई सबैलाई खुसी पार्नको लागि गाउने–नाच्ने अनि माईती परिवारसंग माया र ममता आदनप्रदान गर्ने साथै सस्ंकृतीको जगेर्ना गर्ने जिम्मा पनि महिलालाई नै छ । यदी कुनै दम्पतीमा निसन्तानपनको समस्या आईपरेमा सबैभन्दा पहिला महिलालाई नै दोषी ठह¥याई परिवारबाट अपहेलना, उपहास हुनुपर्ने समाजबाट पनि अपहेलित हुनुपर्ने, साथै परिवारबाट श्रीमानलाई अर्को विवाहको लागि दबाब दिई सौतासमेत ब्यहोर्न पर्नेमा पनि महिलाहरु बाध्य हुन्छन् । निसन्तानपन महिला र पूरुष दुबैको उत्तिकै भुमिका रहन्छ ।
जब महिला गर्भवती हुन्छीन् गर्भवतीमा आउन सक्ने जटिलताहरु जस्तैः गर्भपतन, रक्तअल्पता, उच्च रक्तचाप साथै कम्पन, प्रशव बेथा साथै यो बेलामा आउन सक्ने अस्वाभाविक समस्याहरु अनि गर्भवतीको र प्रशवको बेलामा अत्यधिक रक्तश्राब भई मृत्यु पनि हुने अवस्था पनि महिलाले नै व्यहोर्नु पर्ने । क्यान्सर रोग पुरुषलाई भन्दा महिलालाई नै बढी पाईन्छ । स्तन, पाठेघरको मुखको क्यान्सर, अण्डासयको साथै पाठेघरको क्यान्सर हाम्रो जस्तो विकासोन्मुख देशमा प्रसस्त मात्रामा देखीन्छ । यसको तुलनामा लिङ्ग साथै अण्डकोषको अनि स्तन क्यान्सर महिलाको तुलनामा पूरुषमा कम देखीन्छ । विभिन्न अनुसन्धानका अनुसार डिप्रेसनजस्तो डरलाग्दो रोग पनि पूरुषलाई भन्दा महिलालाई नै हुन्छ, जसको अन्तिम नतिजा आत्महत्या पनि हुन पूग्दछ ।
यसमा पनि सरकारको नीति अनुसार सरकारी जागिरे होस, अध्ययन, तालिममा सहभागितामा होस वा राजनीतिमा सक्रीय हुन होस् महिलाको आरक्षणको हकमा पुरुषको तुलनामा नगन्य नै मानिन्छ । यति धेरै हाम्रो जिवनमा महत्व राख्ने महिलालाई उनीहरुले पाउने हक अधिकार सामाजिक, राजनैतिक, शैक्षिक क्षेत्रहरु आदी विभिन्न विधामा कुनै अर्कै बेलामा छलफल गर्नेछौं । यसैगरी महिलाहरुको साधारण स्वास्थ्य अथवा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा पाउनु पनि एक महत्वपुर्ण अधिकार हो । यस सम्बन्धी विस्तृत रुपमा छलफल गर्नु सान्र्दभिक ठान्दछु ।
जिवनयापन गर्न पाउने अधिकार
गर्भवती अवस्थामा खतरापुर्ण वा जोखिमपुर्ण वा जटिलतापुर्ण अवस्था आउन सक्ने भएकोले श्रीमान, परिवारलगाएत यस सम्बन्धी काम गर्ने स्वास्थ्यकर्मी वा चिकित्सकहरु एकजुट भई उक्त महिलालाई यस्तो अवस्था आउन नदिने वा आएमा उपचार गरी सामान्य जिवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्नु पर्दछ ।
स्वतन्त्रता र सुरक्षाको अधिकार
कुनै पनि महिलालाई उनीहरुको इच्छाविरुद्व गर्भवती गराउने, गर्भपतन गर्न लगाउने, जर्बजस्ती परिवार नियोजन गर्न लगाउने गरेको पाईन्छ तर यस्तो क्रियाकलाप गर्ने र गर्न लगाउने कुनै पनि व्यक्ति वा समुह अथवा परिवारलगाएत संघसंस्थाहरुलाई कानुनको दायरामा ल्याई आवस्यक कार्वाही गरी महिलाहरुको गर्भवती हुने, गर्भपतन गराउने साथै परिवार नियोजनको साधन वा स्थायी बन्ध्याकरण गर्ने स्वतन्त्रता महिलामै सुरक्षित हुनु पर्दछ र यो अधिकार सम्पन्न गराउनको लागि सरकारले दरो र भरपर्दो कानुन ल्याउनु पर्दछ ।
विभेदरहितको अधिकार
प्रजनन अधिकार सम्बन्धित अधिकारअन्तर्गत श्रीमानश्रीमती, धनी गरीब, पढेको नपढेको, जातियता, क्षेत्रियता, वर्गियता आदीहरु बिच कुनै पनि भेदभाव हुनु हुँदैन । यदी भएको प्रमाण फेला पारेमा कानुन बमोजिम कारवाही गर्नु पर्दछ ।
गोपनियताको सुनिश्चितताको अधिकार
कुनै पनि महिलाले योन र प्रजनन स्वास्थ्य सम्बन्धीका क्रियाकिलापमा सेवा प्रदायक व्यक्ति, संस्था वा समुहले सेवा लिएका सेवाग्राहीले लिएका सेवाहरु गोप्य राखीदिई गोपनियताको अधिकार सुनिश्चित गर्नु पर्दछ ।
वैचारिक स्वतन्त्रताको अधिकार
आफनो धर्म, संस्कार, सँस्कृती विद्यमान देशको परिस्थीती राजनैतिक, आर्थिक अवस्था साथै योन र प्रजनन सवास्थ्यको बारेमा चिन्तनन, मनन र स्वतन्त्र वैचारिक प्रवाह गर्ने अधिकार सुनिश्चित हुनु पर्दछ ।
शिक्षा र सुचनाको अधिकार
योन र प्रजनन स्वास्थ्यको बारेमा गहन अध्ययन गर्ने, शिक्षा प्राप्ती गर्ने, रेडियो, पत्रपत्रिका, इन्टरनेट आदी विभिन्न माध्यमबाट सुचना प्राप्त गर्ने अधिकारको सुनिश्चितता हुनुपर्दछ ।
वैवाहिक स्वतन्त्रताको अधिकार
अहिले पनि महिलाहरुले आमाबाबु, परिवार, समाज आदीको डरको कारणले स्वतन्त्र रुपबाट पति रोज्न पाउने, राम्रो परीवारसंग जिन्दगी गुजार्न पाउनु पर्ने इच्छाा र अधिकारबाट बञ्चित छन् । सभ्य र सुखमय दाम्पत्य जिवन बिताउनको लागि राम्रो जिवनसाथी खोज्ने र राम्रो परिवार रोज्ने अधिकारको पनि सुनिश्चितता हनु पर्दछ ।
बच्चा पाउने अधिकार
कुनै पनि महिलाले विवाहपश्चात कति र कहिले बच्चा जन्माउने, एक बच्चापछि अर्को बच्चाको अन्तर कति हुनुपर्ने महिलाहरुलाई नै स्वतन्त्र रुपबाट सोच्ने र निर्णय लिन सक्ने अधिकारको सुनिश्चितता हुनु पर्दछ ।
स्वास्थ्य सेवा र स्वास्थ्य सुरक्षाको अधिकार
महिलाहरुले पाउने स्वास्थ्य सेवा स्तरीय, गुणयुक्त, पहुँचसहितको, शुलभ र वैज्ञानिक हुनुपर्दछ र उक्त सेवा सुरक्षित र औषधी प्रयोग गर्दा होस वा अत्याधुनिक प्रविधिको प्रयोग होस सधैं खतरामुक्त हुनु पर्दछ ।
वैज्ञानिक प्रगती अनुसारको प्रविधिको प्रयोग गर्ने अधिकार
आजकल स्वास्थ्य सम्बन्धी अत्याधुनिक प्रविधि र उपकरण आईसकेका छन् । जस्तैः सीटी स्क्यान, यमआरआई, टेष्ट टयुब बेबी, अत्याधुनिक प्रयोगशाला आदिको प्रबेश भईसकेको छ, यसको प्रयोग गर्ने अधिकार पनि महिलाहरुलाई सुनिश्चित गर्नु पर्दछ ।
संघ संस्था र राजनीतिक सहभागिताको अधिकार
कुनै पनि सभा, समारोह, सम्मेलन, गोष्ठी, राजनैतीक भेलाहरुमा महिलाहरुको सहभागिता पहिलाको भन्दा केही बढेतापनि पुरुषको तुलनामा नगन्य नै छ । परिवार, बालबच्चाको रेखदेख र हेरचाहमै उनीहरुको समय बितिरहेको हुन्छ र अरु क्रियाकलापको लागि समय निकाल्नै सक्दैनन् । त्यसकारण परिवारका सदस्यहरुले घरका काममा साथ दिई महिलाहरुलाई उपयुक्त अवसरहरुमा सहभागिता लिन पाउने अधिकारको सुनिश्चितता गर्नु पर्दछ ।
तनावबाट मुक्तिको अधिकार
महिलाहरु प्रायः गरेर शारीरीक वा यौन शोषणबाट ग्रसीत भई मानसिक रुपबाट तनावमै समय बिताएका हुन्छन जस्ले गर्दा महिलाहरुले शारीरीक रुपले विभिन्न रोगहरुबाट गुज्रीरहेका धेरै उदाहरणहरु छन् । यसबाट मुक्ति पाउनको लागि परिवार, समाज, राज्य र महिला अधिकार सम्बन्धी राज्यले बनाएका कानुनहरुको सहि कार्यान्वयन गरी उक्त अधिकारको सुनिश्चितता हुनु पर्दछ ।
सन्तान प्राप्तीको अधिकार
प्रजनन क्षमता राख्ने महिलाहरुमध्ये १० देखी १५ प्रतिशत महिलाहरुमा वा दम्पतीहरुबाट सन्तान प्राप्ती नभएका पनि छन् । जसमा अहिले पनि महिलाहरुलाई नै दोष दिई पुरुषले दोस्रो तेस्रो विवाह गरेको प्रसस्त उदाहरणहरु पाईन्छन् र महिलाहरुको त जिन्दगी नै बरबाद भएको छ । त्यसकारण सन्तान नहुनुमा कसकोमा के कमजोरी भएको छ सोही अनुसारको कमजोरी पहिचान गरी उपचार गर्ने र अत्याधुनिक उपकरणसहितको उपचार पद्वती स्वदेशमै भित्रिई सकेको हुनाले उक्त पद्वतीको उचित प्रयोग गरी सन्तान प्राप्तीको सुख हासिल गर्ने अधिकारको सुनिश्चितता हुनु पर्दछ ।
यि बुँदाहरुमा आधारित महिलाले प्रजनन स्वास्थ्य सम्बन्धी पाउने अधिकारहरु नेपाल सरकारले बनाएका ऐन नियम, कानुनहरु लिपिबद्व रुपमा अक्षरस लेखिएता पनि त्यसको कार्यान्वयन पक्ष फितलो नै देखीएको छ । जिवनसाथी, परिवार, समाज, संघसंस्था, सरकारी निकाय र नेतृत्व वर्गहरु महिलाको अधिकार सम्बन्धी दायित्व बोध, उत्तरदायि, संवेदनशिल र प्रतिवद्व हुनु पर्दछ र यसको कार्यान्वयन पक्ष पनि उत्तिकै बलियो, सबल र सक्षम हुनु पर्दछ । महिलाहरु आफनो अधिकार लिन र यसको सदुपयोग गर्न आफै सक्षम हुनु पर्दछ र अन्याय सहनुभन्दा पनि अन्यायविरुद्व लड्न सक्ने हिम्मत पनि हुनु पर्दछ । महिलाको हातमा श्रीमान र परिवारको जिन्दगी अडिएको छ, महिलाहरुले आफुले पाएको अधिकारको सदुपयोग गरी परिवार र समाजलाई स्वर्ग बाउन सक्नुपर्दछ । कताकती महिलाहरुले आफनो कर्तव्यलाई बिर्सेर बाटो बिराएको पनि कहिलेकाहीँ सुन्नमा आउँछ, त्यसो भएमा फेरी आफनो संसार नै हिनाबिना हुन्छ र भबिष्य नै बर्बाद हुन्छ यसो गर्नु कदापी हुँदैन । महिला अधिकारको साथसाथै परिवार, समाज र देशप्रती पनि बफादार, संबेदनशिल भई कर्तब्यबोध पनि हुनु पर्दछ तब नै यो जिबन, यो परिवार र यो संसार स्वर्गभन्दा पनि सुन्दर र जिवन सार्थक हुन्छ । साथै सबैको भविष्य उज्वल हुन्छ ।




