पोखरा, ५ असोज– रुपाकोटमा अहिले कालोपत्रे सडक छ । सवारीहरु कालोपत्रेबाटोमा आनन्दसँग जान्छन् । तर, कालोपत्रे बाटो निमार्ण गर्दा बाटोको छेउमा नाली तथा बाटो जोगाउन ग्याबिनमा राखिएको जालीमा काम गर्ने मजदुरहरुले अहिलेसम्म पसिनाको मूल्य पाएका छैनन् । त्यो पनि २÷४ सय हैन, सबै मजदुरको गरेर १७ लाख रुपैयाँ !
धादिङ–बेनिघाट रोडाङ–९ बाट कामका लागि पोखरा आएका २५ जना मजदुरहरु ४ वर्षदेखि रकम पाउने आशामा बसिरहेका छन् । तर, अहिलेसम्म उनीहरुले काम गरेको रकम पाएका छैनन् ।
धादिङ रोडाङका गाउँका रमेश चेपाङको जिम्मामा आएका २५ जना मजदुरहरुले २०७३ सालमा खोलाको छेउदेखि भिरचोक सम्म नाली बनाए÷जाली लगाए । रमेशले स्थानीय रामजी अधिकारीसँग पार्टनरसिपमा उक्त काम गरे । बीचमा रामजी राजनीतिज्ञ भएर निस्के, कामतिर ध्यान दिएनन् । स्थानीय चुनावबाट रामजी अधिकारी रुपाकोट गाउँपालिका–३ का वडाध्यक्षमा समेत निर्वाचित भए । तर, उनले साझेदार बनाएर काम लगाएका रमेशहरुलाई ज्यालावापत्को रकम दिएनन् । २०७२ सालमा बाटोको टेन्डर परेपछि ०७३ साल मंसिर ३ गते देखि उनीहरुले काम सुरु गरे । काम घाटामा गयो । घाटामा गएसँगै सबै जिम्मा रमेशको काँधमा आयो । बारम्बार फोन गर्दा समेत नउठाउने नभेट्ने गर्दागर्दै ४ वर्ष बितिसक्यो । अहिले वडाध्यक्ष बनेर बसेका रामजीले घाटामा गएसँगै मजदुरलाई रकम दिन नसक्ने अभिव्यक्ति दिँदै गए । ‘ पैसा आएको छैन । ३–४ महिना कुर्दा कुर्दै ४ वर्ष भइसकेछ’ ,कामदार मध्येका एक प्रदीप चेपाङले भने । कामबाट हालसम्म करिब १० देखि १२ हजार रुपैँयामात्र हातमा परेको उनले सुनाए । ‘हामीले बारम्बार दुबैजनसँंग कुरा ग¥याँै रमेश दाईले भन्नुहुन्छ,रामजीसँग कुरा गर, उता रामजीले फोन उठाउँदैनन्,फोन ग¥यौ उठ्दैन’, उनले सुनाए ।
त्यसतै ठेक्का लिएर साझेदारीमा काम गरेका ठेकेदार अर्थात् रमेश चेपाङले घाटा भएपनि दुबै मिलेर आधा आधा तिर्नुपर्ने बताएपनि वडाध्यक्षले भने आनाकानी गरेको बताए । उनले बारम्बार कुरा गर्ने प्रयास गरेपनि अध्यक्षले कुरा टिमोल्दै आएको जिकिर गरे । ‘पार्टनरसीपमा मिलेर ५७ लाख ६० हजार ८ सयको योजनामा काम गरेका हौँ । मजदुरलाई १७ लाख दिन बाँकी छ । हामि घाटामा गएका हौँ । दुबै मिलेर तिर्नुपर्छ भन्दा उहाँ (वडाध्यक्ष रामजी) मान्नुहुँदैन । सोमबार छलफल गरौ भन्नुभएको छ हेरौँ के हुन्छ’, उनले भने । आफूले भने गोजीबाटै रमेशले मजदुरलाई २ लाख त दिएको उनको भनाई छ । श्रमिक ऐनले काम गरेको ७ दिनभित्र ज्याला दिनुपर्छ भन्छ तर यहाँ ४ वर्ष सम्म पनि मजदुरले ज्याला पाएका छैनन् । कामको जिम्मा लिइसकेपछि नाफा भएपनि घाटा भएपनि श्रमको लागत दिनुपर्ने र मजदुरले आफ्नो पसिनाको मूल्इ पाउनुपर्ने धारणा क्युपेक नेपालका केन्द्रीय सदस्य पुण्यप्रसाद उप्रेतीको भनाई छ । मजदुरलाई ज्याला नदिए कानूनी लडाइँ लड्नुपर्ने उनी बताउँछन् । ‘हामीले दुवैजनालाई छलफल गर्न लगाएका छौ । नाफा घाटा आन्तरिक कुरा हुन् । दिनभर घाम पानीमा खटिएका मजदुरलाई कामको पैसा दिनपर्छ । यसो नभए हामी श्रमिक ऐन अनुसार जान बाध्य हुनेछौ’, उप्रेतीले भने । उनीहरुबीच आइतवार छलफल समेत भएको छ । वडा ध्यक्ष रामजीसहित रमेश र पुण्य प्रसादबीचको छलफलमा रामजीले हिसाब किताब हेर्नेगरि दुई जना साझेदार मात्र बसेर निष्कर्ष निकाल्ने बताएका थिए ।





