बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

डराई–डराई घरमा गास, रात परेपछि विद्यालयको बास

डराई–डराई घरमा गास, रात परेपछि विद्यालयको बास

पानी पर्लाजस्तो हुनासाथ ४५ घरधुरीका केटाकेटीदेखि वृद्धसम्म स्कूलमा गएर सुत्छन् । रातभर घर नबगाओस् भन्दै भगवान पुकार्छन् र बिहान घर त बगेको रहेनछ भन्दै खुसी हुन्छन् ।


  • संजय रेग्मी
  • असोज ६ २०७७, मंगलबार

पर्वत, ६ असोज– पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवास्थित एकघरे गाउँका हर्कबहादुर नेपालीलाई यतिबेला दिनको भोक न रातको निद्रा भएको छ । पानी पर्न थालेपछि उनको मुटु काप्छ । बस्ती भन्दामाथि रहेको डाँडाबाट पहिरो झरिहाल्छ कि भन्ने चिन्ताले सताउँछ । डरले गर्दा उनी साँझ बेलैमा गास टिप्छन् र नजिकैको विद्यालयमा रात बिताउँदै पहिरो नआओस भनी भगवान पुकार्छन् ।
हर्कबहादुरको मात्रै हैन, एकघरेका करिब ४५ घरधुरीमा बस्नेको नियति एकै भएको छ । सातायता साँझ उनीहरू सुत्नका लागि बिस्तारा बोकेर विद्यालयमा पुग्छन् । बिहान उठ्दा सग्लो घर देखेपछि लामो सास फेर्छन् र घर फर्किन्छन् ।
एक साताअघि भएको अविरल वर्षासँगैको पहिरोका कारण एकघरेको बस्ती नै पुरिन वा बग्न सक्ने जोखिममा परेपछि उनीहरू आकाशको अवस्था हरेर ज्यान बचाउनकै नजिकै रहेको माटेदेवल प्राविधिक विद्यालयको कोठामा सुत्ने गरेका छन् । निवृत्त कर्मचारी तथा स्थानीयवासी बाल मुकुन्द घिमिरेले वर्षा होलाजस्तो लक्षण देखेमा खाना खाएपछि बस्तीका सबै मानिसहरू बिस्तारा बोकेर विद्यालयमा जाने गरेको र बिहानै उठेर बस्तीमा गएपछि दैनिकी सम्हाल्ने गरेको बताए । ‘यहाँ त हाम्रो त बिजोग नै भएको छ नि । पानी पर्लाजस्तो हुनासाथ ४५ घरधुरीका केटाकेटीदेखि वृद्धसम्म सबैजना विद्यालयमा गएर सुत्ने गरेका छौँ । बिहान घर त बगेको रहेनछ भन्दै खुसीले घरमा गएर फेरि काम सम्हाल्छौँ ।’ उनले भने, ‘बस्तीमाथिको भीर फाटेर झर्न थालेको छ । कतिबेला ज्यान जान्छ भन्ने टुङ्गो नै छैन् । डराउँदै–डराउँदै घरका काम गर्नुपरेको छ ।’ उनका अनुसार बस्तीका करिब २७० जनाको यही बेहाल भएको छ ।
बस्तीबाट करिब एक किलोमिटर माथि रहेको मन्धराको गुफा भन्ने स्थानबाट पहिरो झर्न थालेपछि गाउँलेहरु घर छोडेर हिँड्न बाध्य भएको लक्ष्मी सुवेदी गौडेलले बताइन् । पहिरो जान लागेको स्थानबाट झरेका ढुङ्गा बस्तीमै आइपुग्ने गरेकाले रातीको समयमा पहिरो आएमा जनधनको ठुलो क्षति हुने भएकोले विद्यालयमा आश्रय लिनुपरेको उनको भनाई छ । नगरप्रमुख पदमपाणि शर्माले पहिरोको जोखिममा रहेका बस्तीहरूको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया सुरु गरिएको बताए । अहिलेसम्म ७ वटा बस्ती तत्काल स्थानान्तरण गर्न नगरपालिकाले संघ र प्रदेश सरकार समक्ष सिफारिस गरिसकेको उनले जनाए । पहिरोका कारण वडा नं. ४ कै चुरी, वडा नं. ३ को पुर्कोट र रुग्दी, वडा नं. २ को दरदरे, वडा नं. १० को फल्ला लगायतका गाउँहरू जोखिममा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->