पोखरा, ६ असोज– पर्वतमा भीरबाट लडेर तथा नवलपरासीमा खोलाले बगाउँदा २ जनाले ज्यान गुमाएका छन् । पर्वतको कुस्मा नगरपालिका–१, पाङ बस्ने २८ वर्षीय गणेश अर्याल सोही ठाउँको भीरमा घाँस काट्ने क्रममा लडी घाइते भएकोमा पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यता, नवलपरासीको देउचुली नगरपालिका–१६ की १७ वर्षीया जिममाया सारुको त्यहाँको खहरे खोलाले बगाउँदा मृत्यु भएको हो । बाख्रा चराउन गएकी सारुलाई खोलाले बगाएपछि स्थानीयले उद्दार गरेर भरतपुर मेडिकल कलेज लगेकोमा मंगलबार दिउसो निधन भएको प्रहरीले जनाएको छ ।





