बागलुङ, ७ असोज– मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको गलकोट नगरपालिका–३ र पर्वतको कुस्मा नगरपालिका–१ पाङको सहस्रधारामा पहिरो खसेपछि मंगलवार रातीदेखि मध्यपहाडि लोकमार्ग अवरुद्ध भएको छ ।
मङ्गलवार रातीदेखि भएको वर्षाका कारण गत भदौ २७ गते राती अविरल वर्षापछि गेगर र लेदो सहित पहिरो झरेको स्थानमै फेरि पनि पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काले बताए । यता बागलुङको गलकोटमा पनि ठुलो पहिरो झरेको छ । काठेखोला गाउँपालिकाका बिभिन्न ठाउँमा समेत पहिरो झरेकाले लोकमार्ग अबरुद्ध रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।
सडक अवरुद्ध हुँदा साबिकको धौलागिरीका बागलुङ, म्याग्दी र मुस्ताङबाट पर्वत हुँदै पोखरा र अन्य ठाउँमा जाने सवारीहरू पहिरो झरेको स्थानमै रोकिएका छन्, कोही जिल्लामै फर्किएका छन् । देशका विभिन्न ठाउँबाट बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारीहरू पर्वत सदरमुकाम कुस्मा र पहिरो गएको नजिकैको ठाउँ नयाँ पुलमा रोकिएका छन् ।





