
बागलुङ, ९ असोज– गाउँ नै पहिरोको जोखिममा परेपछि जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा टुनीबोटमा दुध उत्पादन घटेको छ । किसानले घरगोठनै छोडेर हिँडेपछि यहाँ दुध उत्पादन घटेको हो । भदौ २८ र २९ गते बिहान वर्षासँगैको पहिरोले टुनिबोट गाउँका ८ घर पुरिएका छन् ।
विस्थापित परिवारले पालेका गाईभैसी धमाधम बिक्री भैरहेका छन् । बागलुङ कुश्मीशेरा सडकको टुनिबोट खण्डमा मात्रै दर्जन बढि पहिरो खसेका छन् । सडकभन्दा तल्लो भागमा रहेका सबै घरमा बस्ने सर्वसाधारण घर छोडेर आफन्तकोमा शरण लिएर बस्न थालेपछि दुधको उत्पादन घटेको स्थानीय केदार पौडेलले बताए ।
टुनिबोटका किसान बागलुङ नगरपालिका–१२ अमलाचौरको कालिगण्डकी दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएर व्यवसायीक रुपमा दुध उत्पादन गर्दै आएका थिए । टुनिबोटमा रहेको सहकारीको दुध संकलन केन्द्रमा मात्रै हरेक दिन ३ सय लिटर दुध संकलन हुने गरेको थियो ।
‘मान्छेकै ज्यान कसरी जोगाउने भन्ने अवस्था आयो, गोठ खाली गरेर पालेका चौपाय बेच्न थालेका छन्’ दुध संकलन केन्द्रका व्यवस्थापक विकास पौडेल भन्छन्– ‘सारा गाउँनै हिँडेपछि रोजागरीसमेत खोसिने चिन्ता छ ।’ पहिरोले पुरिएका घरका सबै गाईभैंसी बिक्री भैसकेकाले अहिले दैनिक एक सय लिटर दुध घटेको छ ।
आसपासमा जोखिममा रहेका घरहरुले समेत गाईभैंसी बिक्री गरेर घर छोड्ने तयारीमा रहेको स्थानीय अर्जुन पौडेल बताउँछन् । ‘दुध टुनिबोटका लागि स्वरोजगार बनाउने गतिलो माध्याम थियो, एक दुईवटा गाईभैंसी पाल्नेले समेत घर खर्च चलाउँथ्यौं’ पौडेल भन्छन्– ‘ऋणै काडेर भएपनि ज्यान जोगाउनु प¥यो, पहिरोमुनि बस्न सकिन्न, गोठ खाली गरेर सुरक्षित बासस्थानको खोजीमा लाग्दैछौं ।’
तत्कालका लागि वर्षा रोकिए अर्को वर्षाको समयसम्म यहाँको दुध उत्पादन ३ सय लिटरबाट घटेर ५०÷६० लिटरको हाराहारीमा आउने व्यवस्थापक पौडेल बताउँछन् । टुनिबोटमा अन्य पेशा व्यवसायमा रहेकाहरुले समेत दुध उत्पादनमा निकै उत्साहपूर्ण सहभागिता जनाउँदै आएका थिए ।
टुनिबोटबाट बिक्री हुने दुधबाट मासिक ८ लाख रुपैयाँ गाउँ भित्रिने गरेको थियो । ढुवानी, संकलन र व्यवस्थापनमा तीन जना युवाहरुले रोजगारी पाएका थिए । दुधको उत्पादन घटेसँगै आम्दानी र रोजगारी दुवै गुम्ने पौडेल बताउँछन् । यहाँका किसानले नगरपालिकाको सहायतमा बनाएको कृषि उपज संकलन केन्द्रमा पनि पहिरोले क्षति पु¥याएको छ । पाँच लाख रुपैयाँ खर्चेर बनेको भवनमा क्षति पुगेपछि किसान चिन्तामा छन् ।
जैमिनी नगरपालिकाले पहिरोका कारण किसानलाई परेको मर्काको मुल्यांकन गरेर मात्रै राहत दिने जनाएको छ । ‘हामि अध्ययन गरेर राहत दिन्छौं’ नगरप्रमुख इन्द्रराज पौडेलले भने ‘क्षतिको आधारमा हाम्रो स्रोत परिचालन हुन्छ ।’
भदौ २८ को पहिरोमा स्थानीय ६० वर्षिया लक्ष्मी पौडेल र भदौ २९ गतेको पहिरोले घर पुर्दा ६५ वर्षिया हरिकृष्ण पौडेलको मृत्यु भएपछि गाउँनै शोकमग्न छ । पहिरोले टुनिबोटको खेतीयोग्य जमिनमा समेत क्षति पु¥याएको छभने सडकभन्दा माथिको भाग ठाउँ ठाउँमा धाँजा फाटेकाले सडकमुनिका घरहरु विस्थापित हुने अवस्थामा छन् ।





