बागलुङ, १४ असोज– धौलागिरी अस्पतालको स्तरवृद्धिका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ । ५० शैय्या क्षमताको अस्पताल स्तरवृद्धि गरेर १ सय ५० शैय्या क्षमताको बनाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रमार्फत अस्पतालको स्तरवृद्धिका लागि विनियोजित रकमको जानकारी अस्पताल प्रशासनलाई गराएको छ । शैय्या खरिद, त्यसको व्यवस्थापन र अस्पतालमा शैय्या थप गर्दा आवश्यक सामग्री खरिदको लागि मन्त्रालयले उक्त रकम अस्पताललाई पठाएको हो ।
‘मन्त्रालयको पत्र प्राप्त भएको छ कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत अख्तियारी आएपछि खरिद प्रक्रियामा लाग्छौं’ अस्पतालका प्रमुख डा. शैलेन्द्र बि. पोखरेलले भने ‘अख्तियारी अनुसारको तयारीमा हामी छौं ।’
अस्पतालको स्तरवृद्धिका लागि बजेट विनियोजन भैसकेको भएपनि जनशक्ति भने अस्पतालमा छैन् । ५० शैय्या क्षमताको अस्पतालका लागि ७८ जना चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीसमेतको दरबन्दी छ । ‘अस्पतालको शैय्या बढेपछि जनशक्ति पनि बढाउनु पर्छ’ पोखरेलले भने ‘त्यसका लागि प्रदेश सरकारले सर्वे गर्ने भनेको छ ।’ शैय्या अनुसारकै जनशक्ति थप भएमा मात्रै पूर्ण क्षमतामा सेवा प्रवाह गर्न सकिने उनले बताए ।
२५ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा तीनवटा भवन, आवास र सडकसमेत पर्छ । पछिल्लोपटक निर्माणको काम भैरहेको ‘सि’ व्लक भवनको काम समयमा सकिएमा मात्रै अस्पतालको क्षमता विकास गर्न सकिने पोखरेल बताउँछन् । ‘सि व्लक निर्माण गरिरहेको कम्पनीले मंसिरसम्ममा भवन हस्तान्तरण गर्छु भनेको छ’ उनले भने ‘त्यो भवन बनेमात्रै केही कम्प्रमाईज गरेर विस्तार गर्न सकिन्छ ।’
अस्पताल व्यवस्थापन समितिले पूर्वाधारको तयारीका लागि सबै तहमा पहल थालिसकेको छ । ‘हामीले प्रदेशदेखि केन्द्र र स्थानीय तहमा समेत पहल थालेका छौं, शैय्या थप्नु मात्रै सेवा थप्नु होईन, उपकरण र जनशक्तिको व्यवस्थापनका लागि पनि पहल भैरहेको छ’ अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले भने ‘माथिबाट भएको डिसिजन कार्यान्वयन हुँदा हामीलाई काम थपिन्छ, अवसर पनि उत्तिकै छ ।’
२०६९ सालदेखि निर्माण थालिएको अस्पतालको ‘सि’ व्लक भवन निर्माणाधिन अवस्थामा छ । ‘भवन निर्माणको काम हाम्रो काबु बाहिर छ हामीले पहल गरिरहेका छौं, काम थालनी भएको छ’ शर्माले भने ‘अस्पतालको स्तरोन्नतीको कुराले निर्माण व्यवसायीलाई पनि दबाव बढेको छ ।’
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अस्पताललाई दुई सय बेडको अस्पताल बनाउने उल्लेख थियो । सोही अनुसार तत्कालका लागि एक सय शैय्या थप गर्नेगरी बजेट विनियोजन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ‘नीति तथा कार्यक्रममा उल्लेख भएको हो, किन कम भयो मैले पनि बुझ्नु पर्छ’ मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने ‘एक÷दुई दिनमा त्यस विषयमा जानकारी आउला ।’
गण्डकी प्रदेश सरकारले कोभिड अस्पताल घोषणा गरेपछि केही शैय्या थप गरेर यहाँ कोरोनाका बिरामीको उपचार भैरहेको छ । साविकको धौलागिरीका झण्डै ६ लाख सर्वसाधारणले उपचार गराउने यस अस्पतालको स्तरोन्नती अपरिहार्य रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर बताउँछन् । कोरोना महामारी पूर्व अस्पतालमा दैनिक ३ सयबढी बिरामीको उपचार हुँदै आएको थियो ।





