बागलुङ, १४ असोज– उच्च अदालत पोखराको बागलुङ इजलासले दिएको आदेशको दुई वर्षपछि बागलुङ बजार नाङगो ताररहित हुने भएको छ । अदालतको आदेश पालनासहित बजारमा केबुलीकरण भएको हो ।
नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले बजारभित्रका सबै टोलमा नाङ्गो तार हटाएउने अभियानलाई पूर्णता दिन लागेको हो । अघिल्लो वर्ष करेन्ट लागेर मृत्यु भएका धेरै घटना बढेपछि प्राधिकरणलाई अदालतले आदेश जारी गरेको थियो । आदेशको पहिलो वर्ष केही स्थानमा केवुलीकरण गरेको प्राधिकरणले यो वर्ष भने बजारक्षेत्रमा पुरै केबुलीकरण गराएको प्राधिकरणको बागलुङ बितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए ।
तत्कालिन मुख्य न्यायाधिस शेषराज शिवाकोटी र न्यायाधिस हरिप्रसाद पौडेलको संयुक्त इजलासले प्राधिकरणलाई चार महिनाभित्र नाङ्गो तार हटाउन आदेश दिएको थियो । थोत्रा पोल फेरेर नया“ पोल गाँड्न र सर्वसाधारणको ज्यानको जोखिम हुने काम नगर्नसमेत जारी भएको परमादेशको पूर्ण पालना हुन दुई बर्ष लागेको हो । अघिल्लो वर्ष चार जना र गतवर्ष पनि दुई जनाको करेन्ट लागेर मृत्यु भएको थियो । पटक पटकको आग्रह बेवास्ता भएको भन्दै बागलुङ नगरपालिका १ का टेकबहादुर सार्कीले दायर गरेको रिटमा अदालतले आदेश जारी गरेको थियो ।
उक्त निवेदनका पक्षमा अधिवक्ता बद्रीप्रसाद शर्मा र विपक्षी प्राधिकरणको तर्फबाट अधिवक्ताहरु रामप्रसाद कर्माचार्य र कुवेरनाथ पोखरेलले बहस गरेका थिए । प्राधिकरणको बागलुङ वितरण केन्द्रबाट प्रसारण गरिएको ३३ केभीए र ११ केभीए प्रसारण गरिएको हाईटेन्सन लाईनबाट विद्युत चुहावट भई दुर्घटना बढेको भेटिएपछि सो अनुसारको सुधार गर्न आग्रह गरिएको थियो ।
जोखिम बढेकै कारण निर्माणाधिन धौलागिरी अञ्चल अस्पतालको बी र सी ब्लकसमेत निर्माण ढिला भएको ठेकेदारले टिप्पणी गर्दै आएका थिए । तार हटाएपछि मात्रै अस्पतालको बी ब्लक निर्माणले गति लिएको थियो । पहिलो चरणमा धौलागिरी अस्पताल, धौलागिरी बहुमुखी क्याम्पसदेखि उच्च अदालतहु“दै ढिकसम्मको क्षेत्रमा फेरेको प्राधिकरणले पछिल्लो चरणमा बजारक्षेत्रका सबै तार फेरेको हो ।
टेलिकमले पनि थालेको छ तार फोहोर सफाई
बागलुङ बजारमा दुई वर्ष लगाएर नेपाल टेलिकमले पनि तारहरु हटाएको छ । २ हजार ४ सय फाइवरमार्फत एडिएसएल लाइन र टेलिफोन लाइन विस्थापित गरेपछि पोलमा गुजुल्टा परेका तार हटाएको हो । प्राधिकरण र टेलिकमले तारमा रहेका गुजुल्टा फाल्ने काम गराइरहेका छन् ।
अब बागलुङ बजारमा निजी संस्थाहरुले टाँगेका तार मात्रै बाँकी छन् । ‘निजी केवल कम्पनीहरुका तारले अब बजारको कुरुप बनाएको छ, सरकारी तार बाँकी छैनन्’ नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले भने, ‘सडक नजिकै रहेका पोल पनि अब हट्ने छन् ।’ सडक मापदण्ड बढे अनुसार दुवै कार्यालयले पोलसमेत टाढा पु¥याएका छन् । होचा र नजिकै रहेका पोल हटाएर सडक चौडा पार्ने काममा पनि उनीहरुले साथ दिएका छन् ।
बागलुङ नगरपालिकाले थालेको चोक सुधार तथा सडक चौडा पार्ने काममा पनि यो अभियान सहयोगी बनेको छ । यो क्रमसँगै ग्रामीण क्षेत्रमा लगिएको तारमा पनि केबुलीकरण गर्नुपर्ने बाध्यता बढेको छ । पटक पटक विद्युत सेवा अवरुद्ध हुनुमा नाँगो तार पनि कारक भएको बताइएको छ । ‘चुहावट पनि कम गर्ने, लाइन जाने समस्या पनि दुवै हटाउन केवुलीकरण सहयोगी छ’ गोशलीले भने, ‘सबै ठाउँमा संभव छैन, बढी जोखिम भएको स्थानमा केवुलीकरण गराउने योजना राखिएको छ ।’
बुर्तिवाङ बजारमा बिद्युतीकरण अभिायन चलिरहेकोले प्राधिकरणलाई उक्त स्थानमा पनि केवुलीकरणको चुनौती थपिएको छ । मुख्य बजारक्षेत्र र राजमार्गको जोखिम रहेको क्षेत्रमा केवुलीकरणको माग भएको उनले जानकारी दिए । महंगो पर्ने भएकोले सबै क्षेत्रमा केबुलीकरण भने संभव नहुने समेत उनले बताए ।





