बागलुङ, १५ असोज – ढोरपाटन नगरपालिकामा बाढीपहिरोले गराएको क्षतिको ब्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासको इकाई कार्यालय बुर्तिबाङमा राख्ने भएको छ । बाढीपहिरोबाट पिडितहरुलाई आवास निर्माण गर्न र भौतिक क्षतिको ब्यवस्थापनका लागि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा इकाई कार्यालय राख्ने आवश्यक तयारी भएको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले वताए । त्यसका लागि आवश्यक बजेट प्रदेश सरकारले उपलब्ध गराउने छ ।
गत भदौ १७ गते राती गएको बाढीपहिराले पुराएको क्षति र विपत्तिको अवलोकन गर्न विहिवार ढोरपाटन पुगेका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गुरुङ र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बुर्तिबाङ बजारमा भौतिक पूर्वाधार विकासको इकाई कार्यालय राख्ने बताए । कार्यालयको लागि आवश्यक भवन र कोठाको ब्यवस्थापन ढोरपाटन नगरपालिकाले गर्नेछ ।
भौतिक पूर्वाधार विकास मन्त्री वस्नेतलाई लिएर अवलोकनका लागि ढोरपाटन पुगेका आर्थिक मामिला मन्त्री गुरुङले स्थानीयलाई आश्वस्त पार्दै भने, ‘हामी काम कसरी अगाडि बढाउने भनेर आएका हौ, तपाईहरु ढुक्क हुनुहोस, जनताको सरकार भएको अनुभुती हामीले नै दिलाउछौ ।’ यसभन्दा अगाडि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ त्यहाँ पुगेर पिडितहरुलाई तत्कालिन राहद नगदै वितरण गरेका थिए ।
मन्त्री गुरुङले स्थानीय सरकार नगरपालिका र स्थानीयवासीलाई संगै राखेर प्रदेश सरकारले गर्ने कामको सूची नै सुनाए । उनले भने, ‘बुर्तिबाङमा पुगेको केन्द्रिय विधुत प्रसारण लाईनलाई ढोरपाटन शिकार आरक्षसम्म विस्तार गरिनेछ । त्यसका लागि आवश्यक बजेट प्रदेश सरकारले ब्यवस्थापन गर्नेछ ।’ केन्द्रिय प्रसारण लाईन विस्तारका लागि नेपाल विधुत प्राधिकरणसंग प्रदेश सरकारको कुरा भइसकेको छ ।
ढोरपाटन–सालझण्डी मोटरमार्ग आयोजनासंग समन्वय गरी बुर्तिबाङ–ढोरपाटन मोटर बाटोको तत्काल मर्मत र निर्माण कार्यलाई अघि बढाउने प्रतिवद्धता पनि मन्त्री गुरुङले सुनाए । बाढीपहिरोबाट क्षति भएका मोटरेबल पुल, झोलुङ्गे पुल, बाटो, खानेपानी, सिंचाइ, साना जलविद्युत, स्वास्थ्य केन्द्र, विद्यालय भवन, आवास निर्माण आदिको पुनःनिर्माणको काम तत्कालै सुरु गर्ने र विस्थापित परिवारको व्यवस्थापन तथा राहत कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि नगरपालिकासंग प्रदेश सकारले सहमती नै गरेको छ ।
पुननिर्माण, ब्यवस्थापन र आवश्यक कामका लागि प्रदेश सरकारसंग ४ बुँदे सहमती नै गरेको ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले वताए । नगरपालिकासंगको समन्वयमा काम थाल्ने गरी भएको सम्झौतालाई प्रदेश सरकारले भद्र सहमती भनेको छ । भौतिक पूर्वाधार विकास मन्त्री बस्नेतले स्थानीय नगरपालिकासंग भएको सहमतीका आधारमा आफुहरुले तत्कालै कार्य अगाडि बढाउने वताए ।
ढोरपाटनको बाढीपहिरोबाट २२ जनाको ज्यान गएको छ । १५ जना अहिलेसम्म बेपता छन् । विद्यालय, स्वास्थ्यचौकी भवन र ११ वटा लघुजलविधुत आयोजना बगाएको छ ।





