म्याग्दी, १६ असोज– वषौंदेखि बाझिँएर रहेका जग्गामा खेती गर्ने कृषकलाई म्याग्दीमा नगद अनुदान दिइने भएको छ । बाँझिएको जमिनको सदुपयोग गरी उत्पादन वृद्धि गर्ने उद्धेश्यले म्याग्दीका स्थानीय तह र कृषि ज्ञान केन्द्र म्याग्दीले नगद अनुदान दिने भएका हुन् ।
कृषि ज्ञान केन्द्रले कृषि उत्पादकत्व बृद्धि गर्न र गाँउघरमै रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले चालु आर्थिक वर्ष २०७७/०७८ मा बाँझो जग्गा सदुपयोग गरी खेती गर्ने म्याग्दी र मुस्ताङका कृषकलाई रु २४ लाख बजेट विनियोजन गरेको हो । दुवै जिल्लामा बाँझो जग्गामा ब्यवसायीक खेती प्रोत्साहन कार्यक्रम अन्तरगत तीनबर्षसम्म लगातार बाँझो राखिएको जग्गामा खेती गर्ने कृषकलाई प्रतिहेक्टर रु ३ हजारका दरले अनुदान दिइने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । उनका अनुसार स्थलगत अनुगमनपछि मात्र अनुदान प्रदान गरिने छ ।
‘बाँझो जग्गाको सदुपयोगका लागि थुप्रै कार्यक्रम छन्,जमिनको सदुपयोग गर्नेलाई अनुदानको कमी छैन, पाण्डेले भने । उनका अनुसार मुस्ताङको तुलनामा म्याग्दीमा धेरै जग्गा बाँझो रहेकाले अनुदानसँगै अन्य कार्यक्रमबाट समेत जमिनको सदुपयोग गर्न सकिने देखिएको छ । केन्द्रमा अनुदानै अनुदानको कार्यक्रम छ,जमिन बाँझो रहेकालाई सम्पर्क गर्न अनुरोध गछौं पाण्डेले जानकारी दिए ।
उनले बाँझो जग्गाको सदुपयोग गर्ने समुहिक टोलीलाई तरकारी, प्राङ्गारिक मल, फलफुल लगायतका अन्य अनुदानसँग समेत जोड्न सकिने जानकारी दिए ।एउटै किसानलाई धेरै अनुदानका कार्यक्रम भन्दा पहिलोपटक अनुदानमार्फत कृषि खेतीमा सक्रिय हुनेलाई प्रोत्साहन गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कोरोनाको जोखिमसँगै घर फर्किएका यूवाहरु धमाधम कृषि कर्मतर्फ लागेकाले अनुदान बजेटभन्दा धेरै माग आउने अवस्था रहेको केन्द्रका कर्मचारीको भनाई छ ।जमिनको क्षेत्रफल र लगाइने बालीको आधारमा अनुदान रकम वितरण गरिने भएकाले खाद्यान्न बाली र तरकारी बाली अन्तर्गतका अनुदान समेत दिन सकिने जनाएको छ ।
चालु आव २०७७÷०७८ को बार्षिक स्वीकृति कार्यक्रमको सार्वजनिकण कार्यक्रममा खुल्ला जमिनमा तरकारी खेती गर्ने कृषकले प्रति रोपनी ३ हजार र प्लाष्टिकको घरभित्र गर्ने कृषकले प्रति १ सय बर्गकिलोमिटरले ३ हजार प्रोत्साहन नगद प्राप्त गर्ने जनाइएको छ । केन्द्रमार्फत बार्षिक करिब ११ करोड बजेटमा म्याग्दी र मुस्ताङ जिल्लामा किसानकै हातमा पुग्ने करिब ९ करोड बजेट रहेको छ ।





