ल्युकोरिया सामान्यतया महिलाहरुको यौनाङ्गबाट सेतो वा हल्का पहेलो खालको पानी बग्ने प्राकृतिक प्रक्रिया हो । महिनावारी सुरु हुने उमेरका किशोरीहरुदेखि महिनावारी रोकिएका महिलाहरुसम्म अर्थात् सामान्यतः प्रजनन उमेर समूह (१५ वर्षको उमेरदेखि ४९ वर्ष उमेरसम्म)का महिलाहरुमा हुन सक्ने शुद्व प्राकृतिक र सामान्य चक्र हो । तर अधिकांस महिलाहरू यो समस्याबाट मानसिक तनावमा रहेको देख्छु । यदी असामान्य छैन भने तनाव लिनै पर्दैन । यदी असामान्य छ भने नलुकाई समाधानतर्फ लाग्दा उत्तम हुन्छ ।
महिलाको योनीबाट निस्कने सेतो रंगको, चिपचिप खालको पानीजस्तो प्रकृतीको हुन्छ ‘ल्युकोरिया’ । यो भनेको महिला कोशरीले स्वतः महिला प्रजनन अंगको सफाई गर्ने प्राकृतिक प्रक्रिया हो । यो प्रक्रियाले योनीको भित्री भागलाई सफाइ गर्ने, त्यस क्षेत्रको पीएचमा नलाई आवश्यक मात्रामा नियन्त्रण राखेर व्याक्टेरिया, ढुसी वा अन्य कुनैपनि किसिमका आन्तरिक संक्रमणहरुबाट प्रजनन अंग र यौनाङ्गलाई बचाउने काममा सहयोग गरिरहेको हुन्छ । यस अर्थमा ल्युकोरिया उपयोगी प्रक्रिया नै हो ।
तर प्रकृतिले निर्धारित गरिदिएको त्यो उपयोगी प्रक्रियामा पनि कहिलेकाहीँ गडबडी देखापर्न सक्छ । त्यस्तो गडबडी देखा पर्नु चाहिँ समस्याको सूचक हो । यसै सन्दर्भमा ल्युकोरियालाई कसरी बुझ्ने र कुन अवस्थामा चाहिँ ल्युकोरिया समस्या बन्न सक्छ र कस्तो अवस्थामा त्यसको उपचार गर्नु जरुरी हुन्छ भन्नेबारेमा बुझ्न आबस्यक छ ।
सामान्य भाषामा भन्दा ल्युकोरिया भनेको महिलाको प्रजनन् अंगबाट सेतो पानी बग्ने प्रकृया हो । त्यसरी योनीबाट बग्ने पानी पातलो, सेतो, सामान्य गन्ध भएको तर स्वास्थ्यलाई हानी नगर्ने खालको हुन्छ । महिनावारीको बेलामा, डिम्बाशयमा अण्डा परिपक्व भएर निस्काशन हुन लागेको वा भएको बेलामा महिलाको शरीरमा हर्मोनजन्य परिवर्तनहरु आउने गर्छन् । त्यस्तो स्थितीमा पनि महिलाको योनीबाट त्यस्तो हानीरहित पानी सामान्य अवस्थामा भन्दा अलि बढी नै बग्ने गर्छ । त्यो भनेको पनि कुनै समस्याको लक्षण होइन । अर्थात् त्यो पनि सामान्य ल्युकोरिया नै हो । त्यसैगरी, गर्भवती भएको शुरुवाती चरणमा पनि त्यस्तो सेतो पानी अलि बढी नै बग्न सक्छ । गर्भावस्थामा सेतो पानी धेरै बग्ने गर्छ । ओभुलेशनको समयमा इस्ट्रोजनको मात्रा बढ्ने भएको कारणले सेतो पानी बग्न सक्छ । यो अवस्थामा सेतो पानी धेरै बाहिर आउँछ । नवजात शिशुमा आमाको इस्ट्रोजनको हर्मोनको कारण सेतो पानी छोडिन्छ । त्यसो हुनुकोमुख्य कारण पनि हर्मोनमा आएको परिवर्तन नै हो । ल्युकोरियाको त्यो स्थिति पनि सामान्य नै हो ।
तर, कुनै पनि अवस्थामा सामान्य मात्राभन्दा अलि बढी नै सेतो पानी बग्यो, त्यसको रंग सफा सेतो नभई अलि–अलि गाढा पहेंला वा हल्का हरियो खालको भयो, त्यस्तो पानी बढी नै गन्हाउने खालको भयो र यौनाङ्ग चिलाउन थाल्यो भने त्यो सामान्य ल्युकोरिया नभई कुनै समस्याको लक्षण पनि हुन सक्छ । त्यसैले कुन ल्युकोरिया सामान्य हो र कुन ल्युकोरिया चाहिँ चिन्ता र चासो लिनुपर्ने खालको हो भन्नेबारे थाहा पाउनु जरुरी हुन्छ । सामान्य भाषामा बुझ्ने गरी भन्नुपर्दा हामी ल्युकोरियालाई दुई भागमा विभाजित गर्न सक्दछौंः एउटा सामान्य अवस्था र अर्को संक्रमणको अवस्था ।
महिनावारीको बीचमा १२ औं दिनदेखि हल्का सेतो पानी बग्न थाल्यो र त्यो गन्हाउदैन, सफा पानी छ, अलिअलि चिपचिपे मात्र छभने त्यो सामान्य नै हो । तर, त्यही सेतोपानी अरुबेला पनि अलि बढी मात्रामा बग्यो, महिनाबारी रोकिएपछि पनि त्यो बग्न रोकिएन वा भित्रीवस्त्रनै छपक्कै भिज्ने गरी बग्न थाल्यो र त्यसमा अलिकति पहेँलो, हरियो रंगको गन्हाउने अथवा दहीको छोक्राजस्तो देखियो भने त्यो संक्रमणको अवस्था हो भनेर बुझ्नुपर्ने हुन्छ । यस्तो अवस्थामा चिकित्सकलाई जँचाउनुपर्छ । त्यसैगरी, त्यसरी बगेको पानीमा दहीको छोक्राजस्तो देखियो भने पनि ढुसीको संक्रमण अर्थात् फंगल इन्फेक्सन भएको हो भनेर बुझ्नुपर्ने हुन्छ ।
अत्यधिक उपवास बस्नु, उत्तेजक कल्पना गर्नु, अश्लिल कुराकानी गर्नु, मौखिक सेक्स गर्नु, संभोगको समयमा उल्टो आशन गर्नु, दुई तीनजनासंग अत्याधिक यौन संभोग गर्नु, फोहोर हुनु यस समस्याको प्रमुख कारण हो । बारक्बार गर्भपातन गराउनु वा आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग गर्नु पनि सेतो पानीको प्रमुख कारण हो ।
त्यसरी ढुसीको संक्रमण (फंगल इन्फेक्सन) चाहिँ किन हुन्छ त ?
वास्तवमा, महिलाको यौनाङ्गमा ढुसीको संक्रमण हुनुको सबैभन्दा मुख्य कारण त्यस क्षेत्र सुख्खा नहुनु अर्थात् सधैंजसो भिजेको अवस्थामा हुनु नै हो । सामान्यतः महिलाको यौनाङ्गको बनौटले पनि त्यसमा केही भूमिका निर्वाह गरिरहेको हुन्छ । धेरैजसो अवस्थामा पिसाब गरेपछि पानीले पखालेर त्यतिकै भित्रीवस्त्र लगाउने गरिन्छ वा राम्ररी पुर्णरूपमा सुख्खा हुनेगरी नपुछ्ने बानी धेरैको हुन्छ । पुछिहाले पनि राम्ररी पानी सुख्खा हुने गरी पुछिन्न । फलतः त्यस क्षेत्रमा चिसोपन कायम रहिरहन्छ । त्यो भनेको ढुसीलाई मनपर्ने वातावरण हो । त्यही ओसिलो भागमा ठुसीको विजारोपन हुन्छ र त्यसले गर्दा ढुसीको संक्रमण हुने संभावना बढी हुन्छ । त्यसरी ढुसीको संक्रमण हुँदा योनी चिलाउने, पानी बगिरहने र त्यो बगेको पानीमा पनि दहीको छोक्राजस्तो देखिन्छ । यस्तो समस्या देखिएमा ढुसीको संक्रमणका कारण ल्युकोरिया भएको हो भनेर बुझ्नुपर्छ ।
अर्को अवस्था भनेको हल्का पहेँलो, हरियो जस्तो रंगको पानी बग्ने र गन्हाउने हुन्छ । त्यस्ता अवस्था चाहिँ व्याक्टेरियाको संक्रमणका कारण भएको हुन सक्छ । चिकित्सीय भाषामा त्यसलाई व्याक्टेरियल वे–जाइनल इन्फेक्सन (दबअतभचष्ब िखबनष्लब िष्लाभअतष्यल) भनिन्छ । यस्तो इन्फेक्सन मुख्यतः योनी क्षेत्रको सफाइमा पर्याप्त ध्यान नदिँदा हुने गर्दछ । त्यसबाहेक, ल्युकोरियासँगै पेल्भिस क्षेत्र (तल्लो पेट) र खुट्टा दुख्यो भने पनि त्यो संक्रमणजन्य ल्युकोरियाको लक्षण हुन सक्छ ।
यौनाङ्ग क्षेत्रको सफाइ
हामीले आफ्नो अनुहार तथा शरीरका अन्य भागहरुलाई जसरी सफा गर्छौ, त्यसैगरी वा त्योभन्दा झन् बढी हामीले आफ्नो यौनाङ्गहरुलाई पनि सफा गर्नुपर्छ । धेरैजसो संक्रमण व्यक्तिगत सरसफाइमा हेलचेक्र्याइको कारणले गर्दा नै हुन्छ । त्यस कारण यौनाङ्ग क्षेत्रको सरसफाइमा विशेष ध्यान दिने हो भने हत्तपत्त ल्युकोरियामा संक्रमणको त्रास हुँदैन । बारम्बार समस्या देखापरिरहेको अवस्थामा यौनाङ्ग सफा गर्ने भन्दैमा पानीले मात्र पखालेर सफा हुँदैन । यौनाङ्गलाई स्वस्थ्य राख्न बजारमा विभिन्न वेजाइना वासहरु पाइन्छ । त्यसले दिनको एकपटक राम्रोसँग धुने र सुख्खा हुने गरी पुछ्नुपर्छ । अझ यौन सम्पर्कपछि वेजाइनल वासले धुने र सुख्खा राख्ने गर्दा समस्या आउने सम्भावना हटेर जान्छ ।
पानीले यौनाङ्ग धुँदा पनि विशेष ध्यान दिनुपर्छ । सकेसम्म एकै हातले योनी र मलद्वार धुनु हुँदैन । दुई ठाउँलाई धुन दुई हातलाई अलग–अलग प्रयोग गर्ने बानी बसाल्नुपर्छ वा छुट्टाछुट्टै धुनुपर्छ । एकै हात मात्रै प्रयोग गर्ने बानी छ भने पहिले योनी सफा गरिसकेपछि मात्रै मलद्वार धुने बानी गर्दा उक्त कारणले यौनाङ्गमा संक्रमण हुने सम्भावना रहँदैन । महिलाहरुले यौनाङ्गमा संक्रमण हुन नदिन सरसफाइका साथसाथै यथाशक्य दिनहुँ भित्रीवस्त्र (पेन्टी) फेर्ने गर्नुपर्छ । साथै, यस्तो समस्या बढी देखापर्ने किशोरी तथा महिलाहरुले यौनाङ्ग वरिपरीका रौं खौरिने र सो भागलाई सुख्खा राख्ने गर्दा समस्याबाट बच्न सकिन्छ ।
ल्युकोरियाको उपचार
साधारण ल्युकोरियालाई उपचारको आवश्यकता नै पर्दैन । त्यसबेला ख्याल गर्नुपर्ने कुरा भनेको व्यक्तिगत सरसफाइ नै हो । त्यसले भित्री वस्त्र नभिजोस् भन्नका लागि पेन्टी लाइनरको प्रयोग गर्न सकिन्छ । साथै, दिनहुँ भित्री वस्त्र फेर्ने गर्नुपर्छ । त्यसबाहेक, पिसाब फेर्दैपिच्छे सफा पानीले योनी धुने र सुख्खा हुने गरी सफा कपडाले पुछ्ने गर्नुपर्छ । कतिपयले त्यस्तो अवस्थामा भित्री वस्त्र निभिजोस् भनेर ट्याम्पनको पनि प्रयोग गर्ने गर्छन् तर त्यसो गर्नु उचित हुन्न । ट्याम्पनको प्रयोगले योनीभित्र किटाणुहरु पैदा भएर थप संक्रमण निम्त्याउने खतरा रहन्छ ।
ढुसी वा व्याक्टेरियाको संक्रमण भएको लक्षणहरु
देखिएको छ भने चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ । चिकित्सकको सल्लाहका आधारमा सेतोपानीको प्रयोगशालामा परीक्षण गरेर समस्याको वास्तबिक पहिचान गर्न सकिन्छ । तर माथि उल्लेख गरिएजस्तै ढुसी वा व्याक्टेरियाको संक्रमण भएको लक्षणहरु देखिएको छ भने चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ । प्रयोगशालामा सेतोपानीको कल्चर गरेर परीक्षण गर्दा देखिएको नतिजाको आधारमा चिकित्सकको सल्लाहबमोजिम औषधीको सेवन गर्नुपर्छ । यो समस्यामा खास कारणको पहिचान नगरी औषधीको सेवन गर्नुहुँदैन । फंगल इन्फेक्सन हो भने एन्टीफंगल उपचारमा लाग्नुपर्छ । पाठेघरभित्रको समस्याको लक्षण पनि हुन सक्छ ल्युकोरिया कहिलेकाहीँ पाठेघर वा गर्भाशयमा भएका समस्याहरुका कारण पनि त्यस्तो पानी बग्ने समस्या देखापर्न सक्छ । त्यो स्थितीमा चिकित्सकले समस्याको पहिचान र ठोस निदान गर्नको लागि थप परीक्षण स्वरुप पाठेघरको मुखको वा पाठेघरभित्रैको तरल पदार्थ (स्वाव) अथवा स्मेयर परिक्षण पनि गर्न सक्छ । सामान्यतः त्यसरी परीक्षण गर्दा योनी र पाठेघरको मुख वरिपरिको स्रावको परीक्षण गर्ने गरिन्छ । कहिलेकाहीँ पाठेघर वा गर्भाशयमा भएका समस्याहरुका कारण पनि त्यस्तो पानी बग्ने समस्या देखापर्न सक्छ ।
विशेष गरी, महिनावारी सुकिसकेको महिला वा बृद्ध अवस्थाको महिलामा पानी बग्ने समस्या देखियो भने पाठेघरमा क्यान्सरको संकेत पनि हुन सक्छ । त्यसरी महिनावारी सुकिसकेपछि लगातार पानी बग्नु अथवा रगतजस्तो पानी बग्नु भनेको क्यान्सर भएको हुनसक्ने कुराको लक्षण पनि हो । यस्तो अवस्थामा पाठेघरको मुखको र भित्री भागको जाँच गराउन अत्यन्त जरुरी हुन्छ । सो परीक्षणबाट आउने नतिजाको आधारमा आवश्यक उपचार अघि बढाउन सजिलो पर्छ ।
कस्तो अवस्थामा सतर्क हुने ?
यो आफैमा रोग नभई अन्य रोगको कारण पनि हुनसक्छ । सेतो पानी वास्तवमा एक रोग होइन तर योनी वा गर्भाशयको रोगको लक्षण वा सामान्यतया प्रजनन अंगहरु सुन्निएको संकेत पनि हो ।
अन्य लक्षणहरु
योनी चिलाउने, ढाड दुख्ने, चक्कर लाग्ने, निरन्तर कमजोरीपन देखिने ।
सेतो पानी निम्न अवस्थामा निस्कनु स्वाभाविक हुन्छ
नवजात केटी, कामेच्छा हुँदा, मासिक धर्मको केही दिनअघि, अज्ञात कारणले र ड्ड गुप्ताङ्कमा रोग ।
सानै उमेरमा देखिन सक्छ ल्युकोरिया ?
हो ल्युकोरिया यही उमेरमा नै देखिन्छ भन्ने हुँदैन । सामान्यतः १४ देखि ४४ वर्ष उमेरसम्मका महिलाहरुमा बढीजसो ल्युकोरिया हुने गर्छ । तर यो सानो उमेरमा पनि देखिन सक्छ । स्कुल जाने साना–साना किशोरीहरुमा पनि यो समस्या देखिएको पाइन्छ । बच्चा आफै शौचालय जान थालेदेखि नै सरसफाइ गर्ने तरिका नसिकाउँदा ल्युकोरिया समस्यामा परिणत हुने गरेको पाइन्छ । सही तरिकाबाट सरसफाइ गर्न नजान्दा स्कुल जाने छात्राहरुमा ल्युकोरिया समस्या बन्ने गरेका थुप्रै उदाहरण छन् ।
त्यसैले, छोरीहरुलाई दिसापिसाब गरेपछि यौनाङ्ग वरिपरिका क्षेत्रहरु कसरी नियमित रुपमा सफा राख्ने भनेर घरबाटै सिकाउन अत्यन्तै जरुरी छ । त्यो ज्ञानले उनीहरुलाई भविष्यमा आउने जटिल समस्याबाट बच्न सघाउँछ । दुःखको कुरा, नेपाली समाजमा यौनशिक्षाको व्यापक अभाव छ । ज्ञानविज्ञानले थुप्रै प्रगति गरिसक्दा र समाज निक्कै अघि बढिसक्दा पनि यौन स्वास्थ्यका बारेमा भने चर्चा परिचर्चा गर्न अझै पनि बर्जित जस्तै छ, शंकोचकै विषय बन्ने गरेको छ । कतिसम्म भने, शिक्षित भनिएका अभिभावकहरुले नै पनि आफ्ना बच्चाहरुलाई यौनाङ्गको सरसफाइ कसरी गर्ने भनेर सिकाएको पाइँदैन । यो अत्यन्त गलत र चिन्ताजनक बिषय हो । आमाहरुले आफ्ना छोरीहरुलाई यौनाङ्गको सरसफाइबारे सानैबाट सिकाउने हो भने ल्युकोरियाको संक्रमणबाट मात्रै होइन, अन्य थुप्रै रोगबाट पनिबच्न सकिन्छ ।
के गर्ने त ?
गर्नुपर्ने कुरा सजिलो छ । जस्तो कि, स्कुल जाने बच्चाहरुलाई यौनाङ्गको सफाइ गर्न टिस्यु पेपरको सानो–सानो प्याकेट बनाएर स्कुल पठाइदिने बानी गर्नुपर्छ । यसले उनीहरुलाई स्कुलमा अथवा बाहिर हिँड्दा प्रयोग गर्ने शौचालयबाट हुने संक्रमणबाट पनि बचाउँछ । उनीहरुलाई नरम खालको पेपरले यौनाङ्गलाई सही तरिकाले पुछ्न सिकाउनुपर्छ । त्यसरी पुछ्दाखेरि जहिले पनि अगाडिबाट पछाडितिर पुछ्ने बानी गर्नुपर्छ । त्यसको विपरित पछाडिबाट अगाडितिर तानेर पुछ्ने बानीले दिशा वा अन्य फोहोर यौनाङ्गभित्र अथवा मुत्रनलीभित्र प्रवेश गर्ने खतरा बढ्छ र संक्रमणको डर हुन्छ । सानैबाट सरसफाइमा ध्यान दिने र सफाई गर्ने तरिका सिकाउने हो भने ल्युकोरिया अन्य यौन सम्बन्धी समस्याबाट बच्न सकिन्छ ।





