बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा २ महिनामा पक्राउ परे १७ जना फरार प्रतिवादी

पर्वतमा २ महिनामा पक्राउ परे १७ जना फरार प्रतिवादी


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०७७, आइतबार

पर्वत, १८ असोज– जिल्ला प्रहरी कार्यालय पर्वतले दुई महिनाको अवधिमा १७ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पर्वत जिल्ला अदालत र अन्य अदालतबाट आर्थिक वर्ष ०७७÷०७८ मा सुनाइएका फैसला अनुसार दण्ड जरिवाना तथा कैद ठेकिएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामध्ये जुवा मुद्दाका ६ जना छन् । जिल्लाका विभिन्न स्थानीय तहमा स्थायी बसोबास गर्ने उनीहरू हाल कुस्मा नगरपालिकामा बस्दै आएकाहरू छन् । ६ जनाका लागि ११ दिनदेखि १८ दिनसम्म कैद सजाय तथा १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गरी तिराउने फैसला भएको थियो । ती सबैलाई भदौ २८ गते नियन्त्रणमा लिइएको हो ।
झुटा विवरण पेस गरी नागरिकता लिएको अभियोगमा सजाय सुनाइएका २ जनालाई भदौ ३१ गते पक्राउ गरिएको प्रहरी निरीक्षक सुवेदीले बताए । जलजला गाउँपालिका घर भएका उनीहरूमध्येका पुरुषलाई १५ हजार जरिवाना र महिलालाई ७ दिनको जेल सजाय सहित १५ हजार जरिवाना तोकिएको थियो । केही सार्वजनिक अपराध अन्तरगतको मुद्दामा ५ हजार जरिवाना सुनाइएका जलजला गाउँपालिका ४३ वर्षीय पुरुषलाई पनि नियन्त्रणमा लिएर अदालतमा पेस गरिएको छ ।
जालसाज मुद्दामा प्रतिव्यक्ति १० हजार रुपैयाँ जरिवाना सुनाइएका फलेवास नगरपालिका–३ सङ्कर पोखरीका तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारको मुद्दामा नगद जरिवाना तोकिएका जलजला गाउँपालिका–३ का एक जना पुरुष, बैङ्किङ कसुरमा ९ लाख ९० हजार रुपैयाँ जरिवाना सहित ६ महिना कैद सजायको फैसला सुनाइएका जलजला गाउँपालिका–२ का एक पुरुष, सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना २ दिन कैद सजाय सुनाइएका मोदी गाउँपालिका–६ का एक पुरुष, कर्तव्य ज्यान मुद्दामा २ महिना २७ दिन कैद सजाय सुनाइएका जलजला गाउँपालिका–८ का एक पुरुष र कर्तव्य ज्यान मुद्दामै २ वर्ष ५ महिना ५ दिनको कैद सजाय सुनाइएका फलेवास नगरपालिका–११ का एक पुरुषलाई पनि पक्राउ गरेर अदालतमा बुझाइएको पर्वत प्रहरीले बताएका छ । १७ जनाबाट कुल ५ वर्ष ३ महिना २ दिनको कैद सजाय र ११ लाख ४८ हजार १ सय रुपैयाँ जरिवाना भुक्तान हुने छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->