पर्वत, १९ असोज– पर्वतका विभिन्न स्थानमा वन्यजन्तुको आक्रमणमा परी घाइते भएका तथा पशु चौपायामा क्षति बेहोरेका २५ जनालाई राहत वितरण गरिएको छ ।
डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत केशव पुडासैनीका अनुसार, चितुवाको आक्रमणमा परी घाइते भएकी जलजला गाउँपालिका–४ माझफाँटकी पदमकुमारी मल्ल र पशु चौपायामा क्षति बेहोरेका अन्य २४ जनालाई स्थानीय तहबाट गरिएको मूल्यांकनको आधारमा राहत दिइएको हो ।
मल्ललाई उपचार खर्चबापत एक लाख ३५ हजार ७ सय ५४ रुपैयाँ र पशुधनमा क्षति भोगेका अन्यलाई न्यूनतम १० हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म गरी कुल ४ लाख ५५ हजार २५४ रुपैयाँ वितरण गरिएको हो ।
राहत रकम पाउने अधिकांश जलजला गाउँपालिका, कुस्मा नगरपालिका, फलेवास नगरपालिका र महाशिला गाउँपालिकाका रहेका छन् । पुडासैनीका अनुसार, वन्यजन्तुको आक्रमणबाट बाख्रा मारिएको भएमा बढीमा १० हजार र भैँसी, राँगा, गोरु, साँढेलगायतका ठुला जनावर मारिएको भएमा बढीमा ३० हजार रुपैयाँ उपलब्ध गराउने नियम छ ।
उक्त राहत रकम गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पीडितहरूलाई हस्तान्तरण गरेका थिए । राहत वितरणपछि बोल्दै उहाँले वन्यजन्तु मानिससँग डराउने भए पनि हिंस्रकले आक्रमण गर्दा कृषकले क्षति भोग्नुका साथै मानिस पनि घाइते हुने गरेको बताए । वन्यजन्तुले आक्रमण गरेको रिसमा कसैले पनि वन्यजन्तुलाई प्रतिकार गर्न नहुने उनको भनाई थियो ।





