बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

दशैंमा च्याङ्ग्राको आयात घट्ने, मुल्य बढ्ने

दशैंमा च्याङ्ग्राको आयात घट्ने, मुल्य बढ्ने

एउटा च्याङ्ग्राको मूल्य कम्तीमा पनि २६/२७ हजार रुपैयाँ परेको भनेर त्यहाँका कृषकहरूलाई उद्धृत गर्दै उनले बताए ।


  • ढोरपाटन संवाददाता
  • असोज २० २०७७, मंगलबार
फाईल फोटो

पर्वत, २० असोज– हिमाल पारीको जिल्ला मुस्ताङबाट यस वर्षको दशैँ र तिहारका लागि निकै कम मात्रामा च्याङ्ग्रा ल्याइने भएको छ । कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण मुस्ताङ र चीनको नाका बन्द रहँदा चीनबाट च्याङ्‍ग्रा आयात नहुने भएको छ ।
यस्तै, डोल्पामा पाल्ने गरिएका च्याङ्ग्रा मुस्ताङको बाटो हुँदै म्याग्दी, बागलुङ, पर्वत, कास्की लगायतका ठाउँमा जाने गरेकोमा त्यो समेत रोकिएको छ । मुस्ताङको कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले गएका वर्षमा नवदुर्गा अगाडि बाँकी रहेका १५/२० दिनमा बाटैभर च्याङ्‍ग्रा झारेको देखिने गरेको भए पनि यस वर्ष भने अहिलेसम्म बढीमा ९/१० बथान मात्रै झरेको देखेको बताए ।‘अघिल्ला वर्षमा यो बेलामा बाटैभर च्याङ्ग्रा हुन्थ्यो । यो वर्ष त खै के झरे भनौँ ! त्यही हो बढीमा ९/१० ओटा ग्रुप मात्रै झरेको देखेको छु,’ उनले भने, ‘यसपालि चीनको बोर्डर बन्द भएकोले चिनियाँ च्याङ्ग्रा झर्न पाएको छैन । कोरोनाको डरले डोल्पाबाट पनि च्याङ्ग्रा आएको छैन ।’ गुरुङका अनुसार यस वर्ष च्याङ्ग्राको मूल्य मुस्ताङमा नै आकासिएको छ । एउटा च्याङ्ग्राको मूल्य कम्तीमा पनि २६/२७ हजार रुपैयाँ परेको भनेर त्यहाँका कृषकहरूलाई उद्धृत गर्दै उनले बताए । च्याङ्ग्रा खरिदकै लागि पर्वत सदरमुकाम कुश्माबाट मुस्ताङको कागबेनी पुगेका सागर जोशी र गोविन्द गिरीले च्याङ्ग्रा झार्ने कि नझार्ने भन्ने अलमलमा आफूहरू परेको बताए ।
विगतका हरेक वर्षमा दशैँ अघिदेखि नै च्याङ्ग्रा झारेर बेच्ने गरेका उनीहरूले यस वर्ष मूल्य चर्को भएका कारण उपभोक्ताले कम खपत गर्न सक्ने र अर्कोतर्फ च्याङ्ग्रा नै नपाएको बताए । ‘यहाँ च्याङ्ग्राको मोलमोलाई सुन्दा त्यहाँ झारेर बेच्न सकिन्छ जस्तो लाग्दैन । मुस्ताङ त आइयो, अब झार्ने की रित्तै फर्किने भन्ने द्विविधा भएको छ,’ गोविन्दले भने, ‘च्याङ्ग्रा झार्दै गरेका अन्य व्यवसायीले एउटालाई कम्तीमा २७÷२८ हजार र बढीमा २९ हजार रुपैयाँसम्म तिर्नुपरेको बताएका छन् ।’
दशैँ आउन केही समय रहेको, तर डोल्पा तथा चीनबाट च्याङ्ग्रा नआएका कारण मुस्ताङका कृषकले यसैलाई मौकाको रूपमा लिन खोजेका कारण पनि महँगो परेको हुनसक्ने उनको भनाई छ । अर्का व्यवसायी जोशीले गत वर्ष पर्वतको कुश्मामा नै २६÷२७ हजार रुपैयाँ प्रतिगोटाका दरले बेचेको भएता पनि यस वर्ष ३५÷३६ हजार रुपैयाँसम्म पर्ने बताए । ‘मुस्ताङबाट हिँडाएको एउटा च्याङ्ग्रालाई कुश्मासम्म उतार्न करिब १२÷१५ हजार रुपैयाँ लाग्छ । यहाँका गोठालालाई दिनको १५ सय रुपैयाँ दिएर झार्न लगाउनुपर्छ । अनि हामी आएकारखाएको हिसाब पनि जोड्नै पर्छ ।’ मुस्ताङका स्थानीय छेप्तेन गुरुङले तल्लोमा भन्दा उपल्लो मुस्ताङमा च्याङ्ग्राको उत्पादन बढी हुने र झार्ने क्रममा बाटोमा परेका प्रत्येक स्थानीय तहलाई कर तिर्दै जाँदा मूल्य आकासिएको बताए । यस हिसाबले मुस्ताङबाट आउने च्याङ्ग्राको मूल्य अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतसम्म बढी हुने देखिन्छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिक्री केन्द्र म्याग्दीका कार्यालय प्रमुख नारायण कुसुमले अघिल्लो वर्ष दशैँ तिहारको बेलामा मुस्ताङबाट २५ हजार च्याङ्ग्रा बाहिरिएको भए पनि यस वर्ष बढीमा सात देखि १० हजारसम्म मात्र बाहिरिने अनुमान गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->