बागलुङ, २१ असोज– सिवाईसी सहकारी बागलुङले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २६ करोड रुपैयाँ सम्पत्ति वृद्धि गरेको छ । कोरोना कहरका कारण चैतदेखि प्रभावित भएको कारोवार चालु वर्षको पहिलो तीन महिनामा ह्वात्तै बढेकाले सहकारीको सम्पत्ति वृद्धि भएको हो ।
गत आवको असार मसान्तमा एक अर्ब ४५ करोड सम्पत्ति रहेको संस्थाले असोज १९ गतेसम्ममा एक अर्ब ७१ करोड रुपैयाँ सम्पत्ति जम्मा गरेको संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माले जानकारी दिए । जिल्लाभरका २६ वटा स–साना सहकारी एकिकृत गरेको सहकारीले शेयर सदस्य संख्यासमेत बृद्धि गरेको छ ।
सहकारीको ११ औं स्थापना दिवसको पूर्वसन्ध्यामा मंगलबार पत्रकार सम्मेलन गर्दै संस्थाले आफ्नो पछिल्लो विवरण सार्वजनिक गरेको हो । जिल्लाभरि ११ वटा सेवा केन्द्र रहेको सहकारीले मंगलबारदेखि आफ्नो स्थापना दिवस मनाउन सुरु गरेको छ ।
सहकारीले बुधबार इ–लेटर उद्घाटन तथा सदस्य शिक्षा सञ्चालन गर्ने जनाएको छ । ‘नेपाल सरकारका विधिलाई हामीले सघाउँदै छौं’ अध्यक्ष चण्डी प्रसाद शर्माले भने ‘क्यासलेस सहकारी बनाउने प्रविधिमैत्री अभियानमा हामी छौं ।’
आफ्नो स्थापना दिवसलाई समृद्धि दिवस नाम दिएको सहकारीले विभिन्न अभियानसमेत सञ्चालन गर्ने जनाएको छ । असल सदस्य परिचय पत्र वितरण, गाउँ टोल अभिमुखीकरण, सबै जुटौं–कोही नछुटौं, बाल भेला, जेष्ठ नागरिक भेलाजस्ता कार्यक्रम गर्ने अध्यक्ष शर्माले बताए ।
‘हामी हाम्रा सदस्यका घर मात्रै होईन जिल्लाभर सबै नागरिकको घर पुग्ने अभियानमा छौं’ उनले भने ‘सहकारीले हुँदा खानेलाई हुनेखाने बनाउने अभियानमा छ ।’ ११ हजार ७ सय शेयर सदस्य रहेको संस्थाको शेयर पूजि मात्रै २१ करोड, ९८ लाख १८ हजार २ सय छ ।





