बागलुङ, २१ असोज– आफ्ना शेयर सदस्यलाई सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङले ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ ।
संस्थाले आफ्नो ११ औं स्थापना दिवसको अवसर पारेर संचालनमा ल्याईएको ई–टेलरले छिटोछरितो सेवा सञ्चालन हुने छभने चेक लगायतका कागजी झन्झट अन्त्य हुने छन् । ई–टेलरमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआरकोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने छन् ।
यो सेवामार्फत एक दिनमा १ लाख र एक महिनामा १० लाखसम्म भुक्तानी पाउने व्यवस्था रहेको सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले बताए । सेवाको शुभारम्भ गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने सहकारीले ल्याएको कार्यक्रम प्रभावकारी भएको हुँदा यसलाई दिगो र भरपर्दो बनाउन जरुरी भएको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सिवाइसीले गरेको कार्य प्रशंसनिय रहेको भन्दै अबका दिनमा सहकारीलाई उत्पादनसंग जोड्न सकेको खण्डमा समृद्धि ल्याउन मद्दत पुग्ने बताए ।





