बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

यो पालिको दशैंमा च्याङ्ग्राको मूल्य आकासिँदै

यो पालिको दशैंमा च्याङ्ग्राको मूल्य आकासिँदै

१५/२० दिनमा बाटैभरि च्याङ्ग्रा झारेको देखिने गरेको भएपनि यस वर्ष भने अहिलेसम्म बढीमा ९÷१० ओटा बथान मात्रै झरेको छ ।


  • संजय रेग्मी
  • असोज २२ २०७७, बिहिबार
फाईल फोटो

पर्वत, २२ असोज– म्याग्दी, पर्वत, बागलुङ, कास्कीलगायतका ठाउँमा दसैँ र तिहारको बेलामा च्याङ्ग्राको मासु खाने प्रचलन बढी छ । मुस्ताङको च्याङ्ग्राले यार्सागुम्बा, काँडा लगायतका औषधिजन्य वनस्पति खाएर हुर्किने च्याङ्गाको मासुले स्वास्थ्यलाई फाइदा गर्छ भनिन्छ । अघिपछिको समयमा स्थानीय जातका खसी बोका खाए पनि दसैँमा ऋण धन गरेरै भएपनि च्याङ्ग्राको मासु एक छान खानुपर्छ भन्ने मान्यता छ ।
मुस्ताङको च्याङ्ग्रा प्रायः कालो र हेर्दामा राम्रो पनि हुने भएकोले माग बढी हुने गरेको व्यवसायीहरू बताउँछन् । तर यस वर्ष च्याङ्ग्राको मूल्य उच्च हुँदा उपभोक्ताले खरीद गर्न निकै महँगो पर्ने भएको छ । मुस्ताङबाट यस वर्षको दसैँ र तिहारको लागि निकै कम मात्रामा च्याङ्ग्रा झर्ने भएका छन् ।
कोभिड–१९ महामारीको कारण मुस्ताङ र चीनको नाका बन्द रहँदा चीनबाट च्याङ्ग्रा आयात नहुने भएको छ । यस्तै डोल्पामा पाल्ने गरिएका च्याङ्ग्रा मुस्ताङको बाटोहुँदै म्याग्दी, बागलुङ, पर्वत, कास्कीलगायतका ठाउँमा जाने गरेकोमा त्यो समेत रोकिएको छ ।
मुस्ताङको कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले गएका वर्षमा नवदुर्गा अगाडि बाँकी रहेका १५/२० दिनमा बाटैभरि च्याङ्ग्रा झारेको देखिने गरेको भएपनि यस वर्ष भने अहिलेसम्म बढीमा ९/१० ओटा बथान मात्रै झरेको देखेको बताए । ‘अघिल्ला वर्षमा यो बेलामा बाटैभरि च्याङ्ग्रा हुन्थ्यो, अहिले बढीमा ९/१० ओटा बथान मात्रै झरेको देखेको छु’ उनले भने, ‘यसपालि चीनको बोर्डर बन्द भएकोले चिनियाँ र डोल्पाबाट पनि च्याङ्ग्रा आएको छैन् ।’
गुरुङका अनुसार, यस वर्ष च्याङ्ग्राको मूल्य मुस्ताङमा नै आकासिएको छ । एउटा च्याङ्ग्राको मूल्य कम्तीमा पनि २६/२७ हजार पारेको भनेर त्यहाँका कृषकहरूलाई उद्धृत गर्दै उनले बताए ।
च्याङ्ग्रा खरिदकै लागि पर्वत सदरमुकाम कुस्माबाट मुस्ताङको कागबेनी पुगेका सागर जोशी र गोविन्द गिरीले च्याङ्ग्रा झार्ने की नझार्ने भन्ने अलमलमा आफूहरू परेको बताए । विगतका हरेक वर्षमा दसैँ अगाडिबाट च्याङ्ग्रा झारेर बेच्ने गरेका उनीहरूले यसवर्ष मूल्य चर्को भएका कारण उपभोक्ताले कम खपत गर्न सक्ने र अर्कोतर्फ च्याङ्ग्रा नै नपाएको बताए ।
‘यहाँ च्याङ्ग्राको मोलतोल सुन्दा त्यहाँ झारेर बेच्न सकिन्छ जस्तो लाग्दैन । मुस्ताङ त आइयो अब झार्ने की रित्तै फर्किने ? भन्ने द्विविधा भएको छ ।’ गोविन्दले भने, ‘च्याङ्ग्रा झार्दै गरेका अन्य व्यवसायीले कम्तीमा २७/२८ हजार र बढीमा २९ हजारसम्म एउटालाई तिर्नुपरेको बताएका छन् ।’ दसैँ आउनका लागि केही समय रहनु र डोल्पा तथा चीनबाट च्याङ्ग्रा नआएका कारण मुस्ताङका कृषकले यसैलाई मौकाको रूपमा लिन खोजेका कारण पनि महँगो परेको हुन सक्ने उनको भनाई छ ।
अर्का व्यवसायी जोशीले गत वर्ष पर्वतको कुस्मामा नै २६/२७ हजारमा नै प्रतिगोटा बेचेको भएता पनि यसवर्ष ३५÷३६ हजारसम्म पर्ने बताए । ‘मुस्ताङबाट हिँडाएको एउटा च्याङ्ग्रालाई कुस्मासम्म उतार्न करिब १२/१५ लाग्छ । यहाँका गोठालालाई दिनको १५ सय रुपैयाँ दिएर झार्न लगाउनुपर्छ ।’
मुस्ताङका स्थानीय छेप्तेन गुरुङले तल्लोमा भन्दा उपल्लो मुस्ताङमा च्याङ्ग्राको उत्पादन बढी हुने र झार्ने क्रममा बाटोमा परेका प्रत्येक स्थानीय तहलाई कर तिर्दै जाँदा मूल्य आकासिएको थपे । उनका अनुसार मुस्ताङबाट आउने च्याङ्ग्राको मूल्य अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतसम्म बढी हुने देखिन्छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिक्री केन्द्र म्याग्दीका कार्यालय प्रमुख नारायण कुसुमले अघिल्लो वर्ष दसैँ तिहारको बेलामा मुस्ताङबाट २५ हजार च्याङ्ग्रा बाहिरिएको भएपनि यस वर्ष बढीमा सातदेखि १० हजारसम्म मात्र बाहिरिने अनुमान गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->