पर्वत, २२ असोज– जिल्ला प्रहरी कार्यालय पर्वतले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा पर्वतको जलजला गाउँपालिका– ७ धाईरिङको घाहाखेत बस्ने ३३ वर्षीय समबहादुर बि.क र कुस्मा नगरपालिका– १४ आर्थरका २७ वर्षीय लक्ष्मण शर्मा रहेका छन् ।
बि.क. को बिरुद्धमा २०६३ साल असोज १७ गते जबरजस्ती करणी र बाल बिबाहको कसूरमा मुद्धा दर्ता भएको थियो । पछि २०६५ साल असार ३० गते जिल्ला अदालत पर्वतले उनलाई सात वर्षको कैद सजाय सुनाएकोमा बि.क. फरार रहँदै आएका थिए । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी मिलनचोकबाट खटीएको प्रहरी टोलीले खोजतलासको क्रममा उनलाई बुधबार घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी बुधबार नै जिल्ला अदालत पर्वतमा पेस गरेको छ । आर्थरका शर्मा बिरुद्ध बैंकिङ कसूरमा मुद्धा दर्ता भएकोमा २०७६ साल वैशाख ८ गते उच्च अदालत तुलसीपुर बुटवलको फैसलाले सात लाख ६२ हजार दुई सय २१ रुपैयाँ जरीवाना र छ महिना कैद सजाय सुनाएको थियो । सजाय भुक्तान नगरी फरार रहँदै आएका शर्मालाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटीएको प्रहरी टोलीले बुधबार नै आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेर पर्वत जिल्ला अदालतमा पेस गरेको छ ।





