मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङ नगरका तीन ठूला साझेदारीका सडकको काम सुरु

बागलुङ नगरका तीन ठूला साझेदारीका सडकको काम सुरु

पर्यटकीय भैरवस्थान जाने सडक यसै बर्ष कालोपत्रे गर्ने काम सुरु ।


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०७७, बिहिबार
फाईल तस्विर

बागलुङ, २२ असोज– नगरका ग्रामिण सडकहरुको स्तरोन्नती र पर्यटकीय क्षेत्रमा सडक सञ्जालको विस्तार थालेको बागलुङ नगरपालिकाले तीन ठुला साझेदारीका सडकको काम सुरु गरेको छ । संघीय सरकारसँगको समपुरक अनुदान साझेदारीको एक, प्रदेश सरकारसँगको साझेदारीको एक र स्थानीय पूर्वाधार विकास साझेदारीको एक सडकको काम सुरु भएको हो ।
नगरको वडा नं. १२ अमलाचौरमा रहेको प्रसिद्ध कालभैरव मन्दिर जाने ३.१ किलोमिटर सडक कालोपत्रेको काम थालिएको छ । जिल्ला सदरमुकामसँग यो सडकले मन्दिरलाई जोड्ने छ । चालु आर्थिक वर्षमा नगरले सञ्चालन गर्ने सडक आयोजनाहरुमा यो सबैभन्दा ठुलो आयोजना हो ।
वडा नं. १३ पैयुपाटाको काभ्रेडाँडा जल्किनी घुम्तीदेखि चिसाखोलाहुँदै अमलाचौरको भैरवस्थानसम्मको सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम सुरु भएको इञ्जिनियर मनोज शर्माले बताए । ८ करोड ७२ लाख २८ हजार रुपैयाँ बजेट रहेको यो सडक ६ करोड ३० लाख ४४ हजार रुपैयाँमा निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको छ ।
संघीय सरकारको ६० प्रतिशत र नगरको ४० प्रतिशत अनुदानमा यो सडक कालोपत्रेको काम सुरु भएको हो । दुई वर्षे कार्यक्रम भएपनि गत वर्ष काम हुन नसकेको यो सडक स्तरोन्नतीसहित कालोपत्रेको काम आगामी असार मसान्तसम्म सक्नुपर्ने छ । रौताहा कन्स्ट्रक्सन प्रालिले यो सडक निर्माणको जिम्मेवारी पाएको शर्माले बताए ।
‘हामीले नगरका ९ सडकलाई प्रमुख सडक भनेका छौं, जुन सडकहरुले हाम्रा गाउँहरु जोड्छन्’ नगरप्रमुख जनकराज पौडेलले भने ‘भैरवस्थान पुग्ने सडकले भकुण्डे, भैरवस्थानको पर्यटन र हाम्रो नगरका पाँच वडालाई सहजता प्रदान गर्छ ।’ बलेवा क्षेत्रमा मात्रै थप दुईवटा सडक प्रमुख सडकको रुपमा नगरले सुचिकृत भएका छन् । गत आवमा केही स्तरोन्नती भएका ती सडक क्रमागत छन् । पानी ट्याङ्की–बलेवा बिमानस्थल सडक र पाउजा–अमलाचौर सडक गतवर्ष केही ठाउँमा ढलान र कालोपत्रे भएका छन् ।
गण्डकी प्रदेश सरकारको समपुरक अनुदानमा साझेदारी गरेर तित्याङको बुकेनी मनकामनादेखि डिहीडाँडाहुँदै सिमस्वारा सडक स्तरोन्नतीको काम सुरु भएको छ । ‘सडक साँघुरो छ, स्तरोन्नती मात्रै गर्दा धेरै सहज हुन्छ’ पौडेल भन्छन् ‘यो सडकले उत्पादनको बजारीकरणमा सहयोग गर्छ ।’ १ करोड ६६ लाख ६४ हजार रुपैयाँ बजेट विनियोजन भएको यो सडक ८४ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सातबिसे कन्स्ट्रक्सन चितवनले काम थालेको प्रविधिक शाखाले जनाएको छ ।
वडा नं. ६ र ३ को सिमानामा पर्ने भलाटाकुरा काभ्रेहुँदै कालीमाटी जोड्ने सडकमा पनि कालोपत्रेको काम सुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्र्तगत कालोपत्रे थालिएको यो सडक ७ सय ५० मिटर कालोपत्रे हुनेछ भने यहि सडकमा थप १ करोड ५० लाख रुपैयाँ थप गरेर सडकको स्तरोन्नती गरिने छ । ९९ लाख ९९ हजार ९ सय १० रुपैयाँ बजेट रहेको यो सडकको काम बि.एम.ए निर्माण सेवा बागलुङले ९५ लाख ४१ हजारमा गर्नेगरी जिम्मेवारी लिएको छ ।
‘यो वर्ष सडकमा ठुला योजना यी नै हुन जसको सम्झौता भएर पहिलो किस्ताको रकमसमेत निकासा भएको छ’ इञ्जिनियर मनोज शर्मा भन्छन् ‘कम्पनीहरुले काम थालेका छन्, समयमा परिणममुखी काम हुनेगरी हामी अनुगमनमा छौं ।’
स्थानीय सडकहरुको स्तरोन्नती हुँदा वर्षा याममा बन्द रहने सडक सञ्चालना सहज हुने नगरपालिकाले जनाएको । बागलुङ बजारभित्रका सडकहरुको मर्मतको कामलाई पनि प्राथमिकतामा राखिएको छ । सडक बोर्ड नेपालसँगको सहकार्यमा बजारक्षेत्रभित्र भत्किएका सडक टालटुल पार्ने काम चलिरहेको शर्माले बताए । टालटुलका लागि ६५ लाख २ हजार रुपैयाँ बजेट छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->