तनहुँ, २३ असोज– उत्तरतर्फ हिमालका लर्कन खुल्न थालेको छ । बेसी फाँटमा पहेँलपुर हुदैँ धान झुल्न आटे । पहाडका थुम्काहरु चारैतिर हरियाली देखिन्छन् । सुर्योदय र सुर्यास्तको मस्त दृश्य नियाल्नलाई पाहुना ग्रामीण भेगका होमस्टेमा उक्लने याम सुरु भइसकेको छ । यतिबेला तनहुँको भानु नगरपालिका–१३ मिर्लुङस्थित टुटेपानी सामुदायिक होमस्टे (घरबास) मा पाल्ने पाहुनाको स्वागत सत्कार गर्न गाउँलेलाई भ्याइनभ्याइ हुनुपर्ने हो । तर, विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस‐कोभिड–१९) को संक्रमणदर बढिरहेकाले होमस्टे बन्द छ । होमस्टे सञ्चालकहरु खेती किसानीमा व्यस्त छन् ।
कोरोनाको महामारी फैलन नदिन सरकारले मुलुक लकडाउन गर्नुपुर्व चैतको पहिलो सातादेखि नै होमस्टेको सेवा बन्द भएको हो । अहिले नै होमस्टे खोल्न हतार नरहेको टुटेपानी सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गुरुङ बताउँछन् । उनका अनुसार तिहार अगाडी होमस्टे खोल्ने योजना छैन् । त्यसपछि पनि कोरोना संक्रमणको स्थितीले निक्र्यौल गर्नेछ खुल्ने नखुल्नेमा ।
गुरुङ भन्छन्, ‘दिनानुदिन कोरोना संक्रमण बढ्दै छ । घट्ने संकेत छैन । होमस्टे खुलेपछि टाढाबाट पाहुना आउलान । चिनेकालाई मात्र राख्ने कुरा भएन । तिहार अगाडीसम्म त होमस्टे खुलेर पाहुनालाई बोलाउन सोच छैन् ।’ होमबहादुरका अनुसार टुटेपानी आउन लालायित पाहुनाले फोन गरीरहन्छन्, बारम्बार । होमस्टे खुलेपछि खबर गर्ने बताउँछन उनले । समुदायमा कोरोनाको संक्रमण बढिरहेको बेला हतारो गर्दा गाउँ असुरक्षित हुने ठम्मयाई छ । ‘रोगबाट बच्यौँ भने त अर्को साल पनि छदैँछ । अहिलेको महामारीमा पाहुना बोलाउँदा संक्रमण फैलिएर गाउँ नै सखाप हुने स्थिती आउला । मान्छे नै नरहने गरी किन होमस्टे चलाउनु र ?’, उनले भने ।
दुई वर्षयता टुटेपानी होमस्टे पुग्ने पाहुना बढ्दै थिए । ६ महिनादेखी बन्द छ । हराउदै गएका संस्कार, संस्कृति र कलाको जर्गेना गर्दै पाहुनालाई प्रर्दशन गरिने हुदाँ पाहुना आर्कषित भएका हुन् ।टुटेपानीमा जस्तै व्यास नगरपालिका–१३ मा दलित समुदायले सञ्चालन गरेको आपस्वाँरा होमस्टेमा विदेशी पाहुनाको आर्कषण थियो । अहिले सुनसान छ । पाहुन नआएको मौकामा होमस्टे सञ्चालकहरु पुर्वाधार निर्माणमा जुटेका छन् । बाथरुम नभएका घरमा बनाइएको छ । होमस्टे सञ्चालन गरिने १८ घरकै आँगन ढुंगा बिछ्याएर चिटिक्क देखिन्छ ।
गाउँ नै असुरक्षित हुने भएकाले हाल पाहुना नराख्ने निर्णय भएको होमस्टेका अध्यक्ष रेशमबहादुर विकले जानकारी दिए । ‘गाउँको मान्छे आउदाँ पनि क्वारेन्टिनमा राखिएको छ । गाउँबाहिरका मान्छे आउदा डराउनुपर्ने अवस्था छ । तत्कालै पाहुनालाई आउन दिने मनस्थितिमा छैनौँ’, उनले भने । होमस्टे चलाएर आत्मनिर्भर भईरहेका स्थानिय आम्दानीको स्रोत ठप्प भएपछि ज्याला मजदुरी गर्न थालेको विकले सुनाए । ‘पाहुना आएर बस्ने मात्र नभई फर्कदा स्थानीय उत्पादन किनेर लैजान्थे । अहिले होमस्टे बन्द हुँदा स्थानिय उत्पादनले बजार पाएन । कतैबाट कमाई नभएपछि ज्याला मजदुरी गर्न बाध्य छौँ’, उनले भने ।
तनहुँका ग्रामिण भेगमा करिब ५० गाउँमा दर्ता भएर होमस्टे सञ्चालनमा छन् । केही होमस्टे दर्ता नभईकन पनि चलिरहेका छन् । पाहुनालाई तानिरहेका थिए बन्दीपुरका होमस्टेले । यहाँका १० गाउँका होमस्टे दर्ता भएरै सञ्चालनमा छन् । चैत पहिलो साता सबै बन्द भए । असोजको सुरुवातदेखी नै पर्यटनका गतिविधी सुरु भयो । आन्तरिक पाहुना भित्र्याउने उदेश्य राखेर पाहडी रानी उपमाले सुप्रसिद्ध बन्दीपुरका होटल रेष्टुरेण्ट खुलेका छन् । आन्तरिक पाहुनालाई डाक्न विशेष प्याकेज ल्याउने योजना बुनिरहेका पनि छन्, यहाँका पर्यटन व्यवसायीले । तर, बन्दीपुर वरपरका गाउँमा होमस्टे खुल्ने सुरसार छैन् ।
कोरोनाको संक्रमणदर घटेर सामान्य नहुदाँसम्म पाहुनालाई घरमा राख्न नसकिने बन्दीपुर होमस्टे महासंघकी अध्यक्ष दिलमाया राना बताउँछिन् । ‘परिवारमा बालबच्चा छन् । पाहुना आएपछि चुलोमा राखेर खुवाउनुपर्छ । ट्वाईलेट बाथरुम एउटै प्रयोग हुन्छ’, उनले अगाडी थपिन्, ‘कोरोनाको विगविगी छ । त्रसित भएर अहिलै खुल्दैनौँ, केही समय अझै कुर्छौँ ।’ होमस्टे बन्द भएर आम्दानी शुन्य हुँदा लघुवित्त तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न ताकेता भइरहेको उनले बताईन् । उनका अनुसार होमस्टे सञ्चालकले मानसिक तनाव भोगिरहेका छन् ।
संक्रमणकालीन अवस्थामा बारम्बार ऋण तिर्नलाई ताकेता गरी मानसिक तनाव नदिनलघुवित्त र वित्तीय संस्थासंग समन्वय गर्न गाउँपालिका तयार रहेको बन्दीपुर गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले बताइन् । ‘तनाव हुने गरी ताकेता गरेको आधिकारीक पत्र गाउँपालिकालाई दिनप¥यो । समन्वयकारी भुमिका खेल्न गाउँपालिका तत्पर छ । ऋण लिएपछि तिर्नैपर्छ । तर, यो बेलामा तनाव दिन भएन्’, उनले भनिन् । बन्दीपुर कोरानामुक्त रहेको सन्देश फैलाउन जनप्रतिनधी र कर्मचारी गाउँपालिकामा सञ्चालित होमस्टेमा एक रात बास बस्ने कार्यक्रम ल्याएको उनले जानकारी दिइन् । होटल होमस्टेमा पाहुना शुन्य भई आम्दानीको स्रोत गुमाएकालाई अन्य व्यवसाय गर्न अनुदानको व्यवस्था गर्न लागेको उपाध्यक्ष गुरुङको भनाई छ ।





