बागलुङ, २३ असोज– सिवाईसी वचत तथा ऋण सहकारी संस्था लि. बागलुङले त्रिदिवसीय समृद्धि दिवस मनाएको छ ।
दिवसअन्तर्गत बिहिबार आयोजित मुल समारोहमा बोल्दै संघिय सांसद डा. सूर्य पाठकले गाउँ गाउँमा गरिबी निवारण, उत्पादन र रोजगारीको लागि सहकारीको भूमिका महत्वपुर्ण रहेको बताएका छन् ।
सांसद पाठकले छरिएर रहेको पूँजीलाई एकिकृत गरी रोजगारीको अवसर सृजना गरी समाजमा पछि पारिएका व्यक्तिको जीवनलाई सहज बनाउन सिवाइसीको भूमिका महत्वपुर्ण रहेको चर्चा गरे ।
कार्यक्रममा सहकारीका पूर्व सल्लाहकार शकुन्तला शर्मा, पूर्वउपाध्यक्ष हरि प्रसाद गौतम, पूर्वलेखा सुपरिवेक्षण समितिका संयोजक रामकृष्ण सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहसचिव सुवास आचार्य र संचालन सचिव जयरामभारीले गरेका थिए । कार्यक्रममा सहकारीको गतिविधिबारे प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले जानकारी गराएका थिए ।
सो अवसरमा सहकारीका पूुर्वसंचालक तथा विभिन्नउपसमितिका संयोजक र उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई कदर पत्रले सम्मान गरिएको थियो ।
सहकारीले बागलुङ नगरपालिका–४ कुँडुलेका असिम सापकोटाले काठमाण्डौ युनिर्भसिटीमा एमविविएसमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएको भन्दै सम्मान समेत गरिएको थियो । त्यस्तै उत्कृष्ट कारोबार गर्ने जिल्लाका १ सय ७ जना सदस्यहरुलाई असल सदस्य परिचयपत्र ग्रिनकार्डसमेत वितरण गरिएको छ । ग्रिनकार्ड पाउने सदस्यले ऋणमा अरुभन्दा १ प्रतिशत छुट तथा अन्य वित्तिय सेवामा विशेष सुविधा प्राप्त गर्ने संस्थाले जनाएको छ ।





