सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बागलुङ बजारमा तरकारीको अचाक्ली मूल्य

बागलुङ बजारमा तरकारीको अचाक्ली मूल्य

अहिले बजारमा आलुको मूल्यसमेत छोइ साध्य छैन ।


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७७, शनिबार

फाईल फोटो

बागलुङ, २४ असोज– बजारमा गोलभेडाको मूल्य एक सय ३० रुपैयाँसम्म छ । उपभोक्ताले दैनिक उपभोग गर्ने गोलभेडाको यति धेरै मूल्य यसअघि थिएन ।
उपभोक्ताले यति धेरै तिर्ने भएपछि किसानले पनि राम्रो मूल्य पाएका होलान भन्ने लाग्छ । तर किसानले आधा मूल्य पनि पाएका छैनन् । सदरमुकाम आसपासका केही किसानले मात्रै आधा मूल्य पाएका छन् । ग्रामीण किसानले मूल्य नपाएर कुहाएर पालेका छन् । कतिले खाडल खनेर समेत फाल्नु परेको गुनासो गर्छन् ।
मिर्मिरे कृषि सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर थापाले किसानले उचित मूल्य नपाएको बताए । ‘हामी बजार छेउमा भएकोले मूल्यको अवस्था बुझेर बेच्छौं, त्यसैले राम्रो मूल्य पाएका छौं, गाउँका किसानले लगानी उठाउन सकेका छैनन्’ उनले भने, ‘होटल, विद्यालय र कलेज संचालन नहुनुले किसानको उत्पादन खेर गैरहेको छ ।’ लकडाउन खुला भनिएपनि अझै विद्यालय, क्याम्पस, होस्टेल, विभिन्न सार्वजनिक स्थल संचालनमा छैनन् ।
होटल नचल्दा तरकारी बिकाउन नसकेको काठेखोला गाउँपालिका–१ की सीता थापाले बताईन् । ‘पहिला पहिला तरकारी खुब बेचिन्थ्यो, यो पटक बजारमा गएको छैन’ थापाले भनिन्, ‘आँफूले नियमित पठाउन नसकेको, बजारका पसलेले माग्न छाडेकोले तरकारी आधा उत्पादन घटाएकी छु ।’ किसानको समस्या हेरिदिने कार्यालयसमेत नभएको उनले टिप्पणी गरिन् ।
अहिले बजारमा आलुको मूल्यसमेत छोइ साध्य छैन । प्रतिकेजी ८५ रुपैयाँसम्म बिक्री भएको अहिलेसम्म थाहा नपाएको बानपा–२ की दुर्गा हमालले बताइन् । ‘आलु, बोडी, प्याजजस्ता तरकारीको मूल्य सुन्दा तरकारीनै नखाऔं जस्तो हुन्छ’ हमालले भनिन्, ‘मूल्य बढ्नै पर्ने समय होइन ।’ लकडाउन र कोरोना संक्रमणको कारण देखाएर गाउँमा फल्ने तरकारीको मूल्य दोब्बर भएकोमा उनले आश्चर्य व्यक्त गरिन् । बजारमा बोडी पनि प्रतिकेजी १ सय २० रुपैयाँसम्ममा बिक्री भएको छ । प्याज त भारतबाट आयात नभएको भन्दै बजारमा थोरै मात्र देखिन्छ । बेचेकाहरुले पनि महंगोमा बेच्छन् ।
बजारको मूल्य देखेर व्यवसायिक तरकारी खेती गरेका किसान दंग पर्छन् । लाखौं लगानी गरेर ५ रोपनीमा तरकारी खेती गरेका ढोरपाटन नगरपालिका वडा नं. ५ का सोमबहादुर पुनले किसानको बारीमा तरकारी बिक्री नभएको गुनासो गरे । ‘हाम्रा बारीमा गोलभेडा सहितका तरकारी कुहिएका छन्, बजारमा छोइनसक्नु मूल्य छ’ उनले भने, ‘व्यापारीले महंगोमा बेच्न गाउँका किसानको तरकारी किन्दैनन् ।’
प्लाष्टिक घरमा लगाएको तरकारीमध्ये आधाजसो गोलभेडा र अन्य तरकारी बिक्री नभएर कुहिएर खेर गएको उनले गुनासो गरे । पुनले बारीबाट ४० रुपैयाँ प्रतिकेजी गोलभेडा बेचेको बताए । डोको लिएर फर्ममा आउनेलाई उनले ३० रुपैयाँमा पनि दिएका छन् ।
बुर्तिवाङ बजारका पसलमा १ सय ३० रुपैयाँ भाउ छ । डोकोमा ल्याएका किसानको तरकारी पसलेहरु सस्तोमा खोज्छन् । ‘हामीले उत्पादन गरेका गोलभेडा ताजा हुन्छन्, तर व्यपारीले सस्तो खोज्छन्’ पुनले भने, ‘लागतभन्दा घटेर दिन सकिंदैन, बिचौलियाले हेर्दाहेर्दे किलोको ८० रुपैयाँ खान्छन् ।’ होलसेल पसलेहरु नै बिचौलिया बन्ने गरेको उनले गुनासो गरे ।
लकडाउन र संक्रमणको फाइदा उठाएर बिचौलीयाले महंगो मूल्य लिने गरेको थापाको गुनासो छ । ‘अभाव छ, जति भनेपनि किन्छन् भन्नेहरु धेरै छन्’ थापाले भने, ‘किसान र उपभोक्ता नमर्ने गरी नियामक निकाय आवस्यक छ ।’ किसानले मेहेनतको फल नपाएपनि उपभोक्ता मारमा परिरहेको उनले बताए । उत्पादनतर्फ पनि ज्ञान केन्द्रसमेत नहुँदा किसानले प्राविधिक साथ नपाएको उनले गुनासो गरे ।
‘बजारमा आएको मूल्यमा केही मार्जिन राखेर बेच्दा पनि महंगो परेको छ’ स्थानीय थोक बिक्रेता सुमन छन्त्यालले भने, ‘वर्षातले जोगाउन पनि मुस्किल छ ।’ कुहिने खतरा मोलेको भन्दै कतिपयले पसलमा महंगो बनाएका हुन् । लामो समयदेखि बजारमा तरकारीको मूल्य तथा अत्यावस्यक खाद्यवस्तुको गुणस्तरबारे अनुगमनसमेत नभएको उपभोक्ताको गुनासो छ । बजार क्षेत्रमा अत्यावस्यक बस्तुको गुणस्तर, मूल्यजस्ता विषयमा नगरपालिकाले अनुगमन गर्ने र कारवाही गर्नुपर्छ । चाडपर्वको मुखमा छिटफुट अनुगमनबाहेक नियमित नभएको समेत उपभोक्ताले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->