काठमाण्डौ, २५ असोज– नेपाल राष्ट्र बैंकले हरेक वर्ष दसैं–तिहार लक्षित गरेर अर्बौ रुपैयाँका नयाँ नोट सटही गर्दै आए पनि यस पटक निष्कासन नगर्ने भएको छ ।
राष्ट्र बैंकले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नयाँ नोट वितरण गर्दा झनै जोखिम बढ्ने भन्दै निष्कासन नगर्ने भएको हो । कोभिड–१९ का कारण यसअघिका वर्षझैं सामान्य परिस्थिति नभएकाले नयाँ नोट सटही गर्ने सम्भावना नभएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए । ‘कोरोना संक्रमण फैलिरहेकाले जोखिमका बेला नयाँ नोट बाँड्ने सम्भावना छैन । यसबारे अझै २–३ दिनमा औपचारिक निर्णय गर्दै छौं,’ उनले भने ।
राष्ट्र बैंकले प्रत्यक वर्ष ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका नयाँ तथा सफा नोट सटही गर्दै आएको थियो । नोट सटही गर्दा राष्ट्र बैंकमा तथा तोकिएका बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको घुइँचो लाग्ने गर्दथ्यो । अहिले पनि लाइनमा नोट वितरण गर्ने स्थिति नभएकाले सम्भावना न्यून भएको प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । कोभिडले गर्दा अब आम नेपालीले नयाँ नोट सटही गरेर दसैंमा प्रयोग गर्ने प्रवृत्ति हटाउन प्रेरित गरिने उनको भनाइ छ ।
प्छिल्लो परिस्थितिले नगदभन्दा पनि मोबाइल बैंकिङजस्ता डिजिटल प्रविधिको प्रयोग गरेर दक्षिणादेखि सबै कारोबार गर्नुपर्नेमा उनको जोड छ । उनका अनुसार मोबाइल बैंकिङ बढाउन सके नोटको माग कम हुन्छ ।
‘अहिले मोबाइल बैंकिङका प्रयोगकर्ता बढिरहेका छन् । यसैले नगदलाई भन्दा प्रविधिमा जोड दिने उचित समय हो,’ उनले भने, ‘मोबाइल बैंकिङ बढाउन सके नोटको माग कम हुने र नोट छपाइ, ढुवानी खर्च कम हुँदा लागत घट्थ्यो ।’
अधिकांशले दसैंमा नयाँ नोट सटही गर्ने प्रवृत्ति बढ्दै गएकाले व्यवस्थापन गर्न राष्ट्र बैंकलाई चुनौतीसमेत भएको मुद्रा व्यवस्थापन विभागको भनाइ छ । नयाँ नोट सटही गर्ने बढ्दो प्रवृत्ति र नयाँ सुकिला नोट नै चाहिन्छ भन्ने मानसिकता बढ्दै जाने हो भने केन्द्रीय बैंक दोहोरो मारमा पर्छ । यसले एकातिर ढुकुटीमा भएका नोट झुत्रो हुँदै जान्छ भने अर्कोतिर बजारमा नयाँ नोट परिचालन गर्दै जाँदा व्यवस्थापनमा चुनौती थपिने विभाग बताउँछ ।
नयाँ नोट वितरण गर्ने प्रक्रिया नै कमजोर भएकाले अब नयाँ नोट सटही गर्ने प्रवृत्तिलाई परिमार्जन गर्न जरुरी भएको राष्ट्र बैंकको तर्क छ ।





