बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बाँझो जग्गामा मिश्रित खेती, तेब्बर आम्दानी

बाँझो जग्गामा मिश्रित खेती, तेब्बर आम्दानी


  • धु्रबसागर शर्मा
  • असोज २७ २०७७, मंगलबार
OLYMPUS DIGITAL CAMERA

म्याग्दी, २७ असोज– हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय मिश्रित खेती प्रणाली मौलाउँदै गएको छ । एउटै जग्गामा एक भन्दा बढी बाली (खाद्यान्न,फलफूल र तरकारी) लगाए पछि साविकको भन्दा तेब्बर बढी आम्दानी हुने भएकोले किसानहरु मिश्रित खेती प्रणालीतर्फ आकर्षित भएका हुन् ।
बेनी नगरपालिका वडा नं २ बगरफाँटका दुर्गाबहादुर थापाले काठमाण्डौंबाट फर्केर गत चैतमा सुरु गरेको केरा खेतीसंगै डाले घाँस र कोदोखेती अहिले लहलहै भएर झुलेको छ ।
त्यसैगरी बेनी नगरपालिका २ खबराका कृषक चन्द्रबहादुर कार्कीले आफ्नो १८ रोपनी जग्गामा मिश्रित मौसमी तथा बेमौसमी तरकारी खेती गरेर लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । कार्की जिल्लामा मिश्रित खेती प्रणालीका पहिलो कृषकसमेत हुन् ।
कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल लहलह झुलिरहेका र लटरम्म फलिरहेका देखिन्छन् । गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछा पालनबाट पनि कार्कीले मनग्गे आम्दानी गर्दै आएका हुन् ।
‘मैले १८ वर्षको उमेरदेखि तरकारी खेती शुरु गरेको हुँ’, ५४ वर्षीय कार्कीले विगत कोट्याउँदै भने, ‘यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै अफर आएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेशा शुरु गरेँ, अहिले त्यतिबेला मैले सही निर्णय गरेको रहेछु भन्ने लाग्छ ।’ ३० वर्षअघि १ हजार रुपैँया लगानीबाट सुरु गरेको व्यावसायिक तरकारी खेतीले कार्कीलाई अहिले १ करोडभन्दा बढीको मालिक बनाएको छ । तरकारी बिक्रीबाट आएको आम्दानीले कार्कीले अत्यन्तै महँगो शहरमध्येमा पर्ने बेनी बजारको मंगलाघाटमा घडेरी किनेर घरसमेत बनाइसकेका छन् ।
‘माटोसँग खेल्दा र माटोमा पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ’, कार्कीले भने ‘यही माटोमा गरेको परिश्रमले मलाई यहाँसम्म ल्याइपु¥यायो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न मैले यत्तिको कमाउन सक्थेँ, न मलाई आत्मसन्तुष्टि नै हुन्थ्यो’, कार्कीको भनाइ छ ।
कार्कीकै देखेर पछिल्लो समय म्याग्दीमा मिश्रित खेती पद्यती अपनाउने कृषकहरुको संख्या उल्लेख्य छ । कार्की भन्छन्,‘मिश्रित खेती गर्दा एकल खेती भन्दा तीनगुणा बढी आम्दानी लिन सकिन्छ ।’
कृषि प्राविधिकहरुका अनुसार मिश्रित खेतीप्रणाली नेपालमा परापूर्वकालदेखि चल्दै आएको कृषि प्रणाली हो । साधारणतया मिश्रित खेती गर्दा विभिन्न बालीहरू जस्तैः मकै, बोडी र फर्सी लगाउने गरिन्छ । एउटै बालीभित्र पनि विभिन्न जातहरू जस्तैः गहुँका जातहरू मिसाएर लगाउने परमपरागत चलन छ । मुख्यतया एकभन्दा बढी बाली वा जातहरू मिसाएर लगाउने प्रणालीलाई मिश्रित खेतीप्रणाली भनिन्छ ।
खबराकै अर्का कृषक शोभित सापकोटाले पनि मिश्रित बालीबाट मनग्गे आम्दानी गरेका छन् । उनले एउटै ठाउँमा केरा,साग,उखु र खुर्सानी खेती गरेर एकल बालीको तुलनामा तेब्बर आम्दानी हुने गरेको बताए ।मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँ पछिल्लो समय म्याग्दीमा मिश्रित खेती प्रणाली मौलाउँदै गएको र यसबाट कृषकहरुले मनग्गे आम्दानी गर्न सफल भएको बताउछन् ।जिल्लाका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका दुई सयभन्दा बढि कृषकहरुले मिश्रित खेती पद्यति अपनाउँदै आएका स्थानीय तहहरुका कृषि शाखाले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->