स्याङ्जा, २८ असोज – बिरुवा गाउँपालिकाद्वारा गाउँपालिका वडा नं. १ मा रहेको बिरुवा बजारमा बजार अनुगमन गरिएको छ । उपाध्यक्ष देवीकुमारी थापाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीसमेत रहेको टोलीले सम्पूर्ण बजार क्षेत्रको अनुगमन गरेको हो । अनुगमनमा बिरुवा प्रहरी चौकीले समेत समन्वय गरेको थियो ।
दशैं तिहार जस्ता चाडबाडको मुखमा म्याद गुज्रेका तथा गुणस्तर हिन सामग्रीहरु बिक्री हुन सक्ने देखेर अनुगमन गरिएको उपाध्यक्ष थापाले बताइन् । उनले बजार अनुगमनलाई निरन्तरता दिने प्रतिवद्धता जनाइन् । अनुगमनको क्रममा मुख्य गरि पेय पदार्थ , तयारी खाद्य पदार्थ , औषधि तथा म्याद गुज्रेका बीउ बिजनहरु जफत गरिएको थियो ।
यसैगरी. मासु पसलहरूकोसमेत अनुगमन गरी सडेको तथा बासी मासु पनि जफत गरिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले कालो बजारी नियन्त्रण तथा खाद्य गुणस्तर कायम गर्ने हेतुले बजार अनुगमन गरिएको बताए । उनले बजार क्षेत्रबाट झण्डै ३० लिटर घरेलु मदिरा समेत जफत गरिएको जानकारी दिए । जफत गरिएका सामग्रीहरु नेपाल प्रहरी तथा व्यवसायीहरूको रोहोबार बिरुवा गाउँपालिका आफ्नै फोहर संकलन केन्द्रमा लगेर नष्ट गरिएको थियो





