बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतका चार ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन

पर्वतका चार ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०७७, बुधबार

पर्वत, २८ असोज–चाडबाडको बेलामा यात्रुहरूलाई पर्न सक्ने समस्यालाई केन्द्रित पर्वतका विभिन्न चार ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको सहकार्यमा ती कक्षहरू सञ्चलनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्ण बहादुर खड्काले जानकारी दिए । उनका अनुसार पोखराबाट पर्वत भित्रिने तथा पर्वतबाट बाहिरिने सवारीको लागि कास्की र पर्वतको सीमा नजिकै रहेको डिमुवामा तथा पर्वत सदरमुकाम कुस्मा बजारको शिवालय चोकमा यात्रु सहायता कक्ष सञ्चालनमा आइसकेका छन् । यस्तै म्याग्दी र मुस्ताङ आउजाउ गर्ने सवारीलाई ध्यानमा राखेर पर्वतको जलजला गाउँपालिका स्थित मिलनचोकमा र जिल्लाको दक्षिणी क्षेत्रलाई ध्यानमा राखेर पैयूँ गाउँपालिकाको बजार क्षेत्रमा पनि तत्कालै सहायता कक्ष स्थापना गर्न लागिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले नेपालीका ठुला पर्वहरू दसैँ, तिहार र छठ नजिकिएसँगै यात्रुहरूको चाप बढ्दा यात्रु र यातायात व्यवसायी विभिन्न समस्यामा पर्न सक्ने भएकोले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको बताए । ‘यो बेलामा यातायात व्यवसायीबाट यात्रुले, यात्रुबाट यातायात व्यवसायीले समस्या भोग्न सक्ने सम्भावना धेरै हुन्छ ।’ उनले भने, ‘कसैले पनि समस्या भोगेमा यात्रु सहायता कक्षमा पुगेर जानकारी गराएपछि ड्युटीमा रहेका प्रहरीले त्यसको समाधान गर्नेछन् ।’
ट्राफिक प्रहरी प्रमुख खड्काले विगतका वर्षमा सहायता कक्षबाट यात्राका क्रममा परेका समस्याको सुनुवाइ गर्ने गरेकोमा यस वर्ष भने कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्नका लागि पनि सहयोगी भूमिका निभाउने बताए । ‘अघिल्ला वर्षमा कोरोना थिएन । यात्राका क्रममा भोगेका समस्या मात्र उजुरीका रूपमा आउने गरेका थिए ।’ उनले भने, ‘यस पटक यात्राका क्रममा मास्कको प्रयोग, सेनीटाइजरको प्रयोग, स्वास्थ्य सतर्कताका लागि तोकिएका मापदण्डको कार्यान्वयन गराउन पनि प्रहरीले काम गर्ने छ ।’
सदरमुकाम कुस्मा बजारमा सञ्चालनमा ल्याइएको सहायता कक्ष शुभारम्भ कार्यक्रममा डिएसपी विश्वराज अधिकारी, कुस्मा नगरपालिका वडा नं. ६ का अध्यक्ष रुद्र गिरी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष शिव सुवेदी, ट्राफिक प्रहरी प्रमुख कृष्ण बहादुर भट्टराई, यातायात व्यवसायी सुवर्ण अर्याल, प्रहरी नायव निरीक्षक पूर्णिमा थापा, गण्डकी धौलागिरी यातायात प्रा.लि. का अध्यक्ष बाबुराम पौडेल लगायतको उपस्थिति रहेको थियो ।
यात्रु सहायता कक्षबाट यातायात व्यवसायीले असुल गर्ने भाडाको निगरानी तथा उजुरीको सुनुवाइ, सवारी सञ्चालकहरूबाट यात्रुसँग गरिने व्यवहार, हराएका वा छुटेका सामानको खोजी, क्षमताभन्दा बढी यात्रु राखिएको अवस्थामा आवश्यक कारबाही सहित यात्राको क्रममा सवारी छनोटमा अलमलमा परेकाहरूलाई सघाउने काम पनि सहायता कक्षबाट गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->