पोखरा, २९ असोज– उसै पनि पोखरा धेरै वर्षा हुने ठाउँ । तालैताल र नजिकबाट हिमाल हेर्न पाइने सहरबाहेक धेरै पानी पर्ने ठाउँ भनेर पनि चिनिन्छ ,पोखरालाई । भारी वर्षात्कै कारण पोखरेलीले बेलाबेलामा हैरानी पनि ब्यहोर्नु पर्छ । पाइलैपिच्छे बनेका खाल्डाखुल्डी र भारी वर्षात्ले पानीको बाटो थुनिँदा आउजाउ गर्न पनि हम्मेहम्मे पर्छ ।
तर, अबदेखि पोखरेलीले यो सास्तीबाट छुटकारा पाउने भएका छन् । महानगरले मुख्य सहरी क्षेत्रका सडकको स्तरोन्नति थालेको छ । भएका खाल्डाखुल्डी टालेर त्यसैमाथि पिच गर्ने काम मंगलबारदेखि सुरु भएको हो । पोखराको चिप्लेढुंगादेखि न्युरोड क्षेत्रको मुख्य सडकमा अहिले सडक स्तरोन्नतिको काम भइरहेको छ । पोखरा महानगर, प्रदेश सरकार र सडक डिभिजन कार्यालयको संयुक्त लगानीमा बन्न लागेको यो आयोजना पूरा भएसँगै सडक हेर्न र गुड्न लायकका हुने अपेक्षा गरिएको छ ।
पोखरा महानगरका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेका अनुसार मंगलबारदेखि न्युरोडबाट पोखराका सडकमा अस्फाल्ट कंक्रिटको काम सुरु भएको छ । कंक्रिट ढलानजस्तै खालको यो अस्फाल्ट प्रविधि कालोपत्रेको उच्च विधि हो । सुरुमा महंगो परे पनि यो सकभर नबिग्रिने खालको हुन्छ ।
न्युरोडलगायत सिद्र्धाचोकदेखि महेन्द्रपुल, महेन्द्रपुलदेखि रानीपौवाहुँदै अमरसिंहचोक, महेन्द्रपुलदेखि नदीपुर, पीएन क्याम्पस हुँदै केआइसिंह पुलसम्म सडक स्तरोन्नतिको काम पोखरा महानगरले गर्नेछ । यस्तै, प्रदेश पूर्वाधार विकास कार्यालयले मुस्ताङचोकदेखि शहीदचोक, बाराहीचोक, हल्लनचोक हुँदै जिरो किलोमिटरसम्म गर्ने छ । सडक विभागले विरोटोचाकदेखि राष्ट्रबैंकचोक हुँदै सिर्जनाचोक र जिरो किलोमिटरदेखि पृथ्वीचोकसम्म गर्नेछ । पृथ्वीचोकदेखि नयाँबजार हुँदै महेन्द्रपुलसम्मको सडक स्तरोन्नति गर्ने जिम्मा पनि सडक विभागलाई नै परेको छ ।
प्रमुख काफ्लेका अनुसार सडक स्तरोन्नति गर्दा सडकको अवस्था हेरेर पिच थपिने छ । ‘कति थप्नुपर्छ भनेर हामीले रिपोर्ट पनि लिएका थियौं । रिपोर्टले के देखायो भने कुनै ठाउँमा ३ सेन्टिमिटर, कुनै ठाउँमा ४, कुनै ठाउँमा ५ सेन्टिमिटरसम्म पनि थप्नुपर्ने देखायो,’ उनल भने, ‘फाउन्डेसन बिग्रेको ठाउँमा बाक्लो हाल्नुप¥यो, नत्र भने कम हाले पनि भयो ।’ यसरी सडक स्तरोन्नति गर्दा ८ देखि १० वर्षसम्म सडक नबिग्रने उनले जिकिर गरे । यसअघि पोखरामा जिरो किलोमिटरदेखि विन्धवासिनी मन्दिरसम्म अस्फाल्ट कंक्रिट विधिबाट सडक स्तरोन्नति गरिएको थियो । सडक स्तरोन्नतिका लागि महानगरले १७ करोड रुपैयाँको लागत छुट्याएको छ । महानगरको जिम्मा परेका सडक एक, डेढ महिनाभित्रमा नै सक्ने गरि काम धमाधम अघि बढी रहेको उनले सुनाए । जम्माजम्मि महानगरको भागमा सडक स्तरोन्नतिको लागि ९ किलोमिटर सडक परेको छ ।
प्रदेश पूर्वाधार विकास कार्यालय र महानगर, दुई वटै पक्षको निर्माण कम्पनी एउटै रहेको उनले सुनाए । प्रदेश र महानगरको भागमा परेको सडक स्तरोन्नतिको जिम्मा निर्माण कम्पनी इलाइट मोतीधन जेभिका कन्ट्रयाकले पाएको छ । मौसम सामान्य अवस्थामा रही रहे समयमै काम सकिने उनले सुनाए । ‘हेरौं मौसम कस्तो हुन्छ, दशैं पनि आई सक्यो । कामदार पनि भाग्ने होलान्’, उनले भने । अहिले दैनिक ३० हाराहारिका कामदारले सडक स्तरोन्नतिको काम गरि रहेका छन् ।
महानगरका इन्जिनियर राजु रेग्मीले ट्राफिक लोड बढ्दै गएको हुनाले सडक स्तरोन्नति थालिएको बताए । ‘ट्राफिक लोड बढ्दै गएको हुनाले त्यसलाई अपग्रेडिङ गर्न लागेको हो’, उनले भने, ‘यसमा दुई वटा पक्ष हुन्छ । एउटा राइजिङ क्वालिटी, अर्को वेडिङ फोर्स बलियो हुन्छ ।’ सडक स्तरोन्नतिपछि कम्तिमा पनि ९, १० वर्ष ढुक्क हुने उनले सुनाए ।
प्रदेश पूर्वाधार विकास कार्यालयका इन्जिनियर दिनेशकुमार घिमिरेले प्रदेश अन्तर्गतका सडक स्तरोन्नतिको म्याद नथपिए पुष २५ भित्रमा काम सक्नु पर्नेछ । म्याद थप नभए पुस अन्तिम साताभित्रै काम सक्नु पर्ने हो । तर, महानगर र प्रदेशकै निर्माण कम्पनी एउटै हुनाले समस्या आएको उनले सुनाए । ‘अलिकति समस्या के छ भने, जाइकाको पनि काम छ, आवश्यक पोल सार्नुपर्ने छ । नगरपालिकाको पनि काम सुरु भइरहेको हुनाले उत्ताट्टि पनि एउटै ठेकेदार परेका हुनाले, उता सकेपछि यता गर्छु । आधा आधा गरेर फेरि उता जान्छु भन्ने कुरा पनि भएको छ,’ उनले भने, ‘कोभिडको पनि असर देखाई रहेको छ कन्ट्रयाक्टरले ।’
प्रदेश पूर्वाधार विकास कार्यालय अन्तर्गत सडक स्तरोन्नतिको लागि ९ करोड ८१ लाख छुट्याइएको छ । यस कार्यालयको भागमा ५ दशमलव ६ किलोमिटर सडक स्तरोन्नतिको लागि जिम्मामा परेको छ ।
यता सडक डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख सुनीलबाबु पन्तले सडक स्तरोन्नतिका लागि पहिला भत्किएका ठाउँ मर्मत गर्नु पर्ने भएकाले सडक मर्मतको काम भई रहेको जानकारी दिए । सडक डिभिजन कार्यालयले सडक स्तरोन्नतिको लागि ११ करोड रुपैयाँको टेन्डर निकालेको उनले बताए । सडक कार्यालयका जिम्मा १० दशमलव ४० किलोमिटर सडक जिम्मामा परेको छ । सडक डिभिजन कार्यालयअन्तर्गतका सडकको अस्फाल्ट कंक्रिटको काम दशैंपछि मात्रै सुरुआत हुने उनले बताए । सडक डिभिजन कार्यालय अन्तर्गतको सडक स्तरोन्नतिको जिम्मा रौतहट पिके जेभी कम्पनीले पाएको छ । पोखरा महानगर, प्रदेश पूर्वाधार विकास कार्यालय र सडक विभाग गरी जम्माजम्मी ३७ करोड ८१ लाख रुपैयाँ बराबरको रकमले पोखरा महानगर भित्र सडक स्तरोन्नतिको काम हुनेछ । महानगर भित्रका २५ किलोमिटर सडकमा अस्फाल्ट कंक्रिट बिच्छ्याइने छ ।





