पर्वत, ३० असोज– पर्वत सदरमुकाम कुस्मा बजारमा जडान गरिएका सिसी क्यामेराहरू चार वर्षपछि सुचारु गरिएको छ । नेपालीका ठुला चाडपर्वहरु दसैँ, तिहार र छठ पर्व नजिकिँदै जाँदा आपराधिक घटना बढ्न सक्ने भएकोले कुस्मा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्वतले क्यामेराहरू सुचारु गराएको हो ।
पर्वतका प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीका अनुसार, बजारका मुख्यचोक, बजारमा प्रवेश गर्ने विभिन्न नाका, व्यापारका हिसाबले बढी व्यस्त हुने क्षेत्र र अग्ला लामा झोलुङ्गे पुलहरू भएको ठाउँमा क्यामेराहरू राखिएको छ ।
कुस्मा नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट दिएपछि जिल्ला प्रहरी कार्यालयबाट सिसी टिभीको निगरानी गर्ने गरी तत्कालका लागि २० ओटा क्यामेराहरू जडान गरिएको छ । ‘क्यामेराबाट हामीले बजारका प्रत्येक चोक, नाका, पुल, व्यापारका हिसाबले व्यस्त ठाउँहरूको अवलोकन गरिरहेका छौँ’ डिएसपी अधिकारीले भने, ‘यसले चाडबाडको बेलामा हुन सक्ने विभिन्न आपराधिक घटना नियन्त्रण गर्न तत्कालका लागि फाइदा हुनेछ । पछिका लागि पनि अपराध नियन्त्रणमा धेरै सहज हुन्छ ।’
कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कम्तीमा पनि सदरमुकामलाई क्यामेराको निगरानीमा राख्ने हो भने आपराधिक मानसिकता भएकाहरू डराउने र कसैले गल्ती गरिहालेमा पनि पहिचानका लागि सजिलो हुने बताउँछन् । पर्वतमा आवश्यकता अनुसार प्रहरी संख्या नभएको र चाडबाडको बेलामा प्रहरी जनशक्ति धेरै चाहिने भए पनि क्यामेराले नै आवश्यक जनशक्तिको आपूर्ति गर्ने उल्लेख गरे ।
यसअघि २०७२ सालमा पर्वत उद्योग वाणिज्य संघ, स्थानीय व्यापारी र विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा जिल्ला प्रहरी कार्यालयको अपनत्व रहने गरी २६ ओटा सिसी क्यामेरा जोडिएको थियो । जडान गर्दा आर्थिक सहयोग मिलेको भए पनि मर्मतका लागि आवश्यक बजेट नहुँदा काम गर्ने क्यामेराको संख्या घट्दै गएको थियो । यस पटक जडान गरिएका २० ओटा क्यामेरामध्ये पाँच ओटा चाहिँ पुरानै हुन् ।





