बागलुङ, २ कात्तिक– बागलुङ नगरपालिकाले सम्झौता तोडेको विरोधमा लगातार लागेको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाको पक्षमा बजारबासी उभिएका छन् ।
शनिबार बागलुङ बजारमा भेला भएको समूहले झण्डै एक घण्टा धर्ना दिएको थियो । उनीहरुले नगरपालिकाको एकतर्फी निर्णय फिर्ताको मागसमेत गरेका छन् ।
बागलुङ नगरपालिकाका पूर्व उपप्रमुख पद्मचन्द्र राजभण्डारीसहित उद्योगी, व्यवसायी, गैससकर्मी र खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीले सम्झौता उल्लंघनको विरोध गरेका हुन् । सरकारी, सहकारी र निजी क्षेत्रको सहकार्यबाट हरेक काम गर्ने राज्यको नीतिविपरित नगरपालिकाले एकतर्फी सम्झौता उल्लंघन गरेको सहभागिले आरोप लगाएका थिए ।
एकघण्टे धर्नापछि आयोजित कोण सभामा पूर्वउपप्रमुख राजभण्डारीले नगरपालिकाले जनतालाई चिढाउने काम गरेको आरोप लगाए । उनले सहकार्यलाई आत्मसाथ गर्नुको साटो नाफा र कमिसनको खेलमा समय अवधि नसकिंदै तोड्ने काम गरेको आरोप लगाए ।
उक्त अवसरमा बागलुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठले भ्रष्टाचारको दलदलमा नगरपालिका फसेको आरोप लगाए । ‘देशभरका नगरपालिकामा हामी पुछारमा पर्न थालिसक्यौं, नगरप्रमुखको नाफाखोरी चरित्रले नगरबासी आजित भएका छन्’ श्रेष्ठले भने ।
कार्यक्रममा सहकारीका अध्यक्ष सुधिर श्रेष्ठले कानूनबमोजिम गरिएको सम्झौता उल्लंघन गरेकोले अदालतमा मुद्दासमेत दिन बाध्य भएको बताए । कोरोना संक्रमणको जोखिम बढेकोले अदालतको कारवाहीमा अवरोध आउँदा उक्त मुद्दा ढिलाइ भएको छ ।
सहकारीले ६२ लाख क्षतिपूर्तिको मागसहित नगरपालिकाविरुद्ध मुद्दा दर्ता गरेको छ । नगरप्रमुखको एकल निर्णयबाट सम्झौता भंग हुँदा सहकारीलाई क्षति पुगेको उनले बताए । गत साउन ३० गतेको कार्यपालिका बैठकले सम्झौता भंग गरेको थियो । त्यसपछि नगरप्रमुख र उपप्रमुखबीच समेत टकराव सुरु भएको छ ।





