मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बडिगाडमा खानेपानी आयोजना निर्माण

बडिगाडमा खानेपानी आयोजना निर्माण

यो आयोजनाले पात्ले झाँक्रीस्थानका ४२ घरधुरीमा शुद्ध खानेपानी पुगेको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७७, आइतबार

बागलुङ, २ कार्तिक– बडिगाड गाउँपालिका वडा नं. १० को दर्लिङमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), बडिगाड गाउँपालिका र स्थानीयको श्रमदानमा आयोजना निर्माण भएको हो ।
४१ घरधुरीमा पुगेको यो आयोजनाका लागि नेवाको २६ लाख ३१ हजार, उपभोक्ताको १० लाख ३८ हजार र गाउँपालिकाको ३ लाख ८ हजार गरी ३९ लाख ७८ हजार रुपैयाँमा आयोजना निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष सन्त बहादुर रासकोटीले बताए ।
यो आयोजनाले पात्ले झाँक्रीस्थानका ४२ घरधुरीमा शुद्ध खानेपानी पुगेको छ । वर्षौ अघिदेखि स्थानीयले खानेपानीको समस्या झेलेको पाएपछि नेवाले यहाँ पानीको आयोजना बनाउने तयारी गरेको थियो । स्थानीयले पनि आफ्नो समस्याका कारण श्रमदान गर्न तयार भएपछि आयोजना निर्माण गर्न सकिएको नेवाका गण्डकी प्रदेश प्रबन्धक कुमार सिलवालले बताए ।
खानेपानीको समस्याले गर्दा किसानले तरकारीसमेत लगाउन पाएका थिएनन् । ‘पानीको समस्याले पशुचौपाया पनि खोलाछेउमा लगेर पाल्नु परेको थियो’ रासकोटीले भने, ‘अहिले पानीले धेरै सजिलो बनायो ।’ अझै केही घरमा पानीको आपूर्ति पुरा भैनसकेको छैन । आयोजना बनाउने क्रममा पाइपलाइनबाट नपुगेका ७ घरका लागि सोलार प्यानल जोडेर लिफ्ट गरी खुवाउने योजना छ । जडान भएको मोटरले नधानेपछि फेर्ने क्रममा रहेको उनले बताए ।
केही वर्षदेखि नेवाले बागलुङमा दर्जनौं खानेपानी आयोजनामा काम गरिरहेको छ । घर घरमा धारासहितको आयोजना बनाउने अभियान नेवाको कार्यक्रममा छ । पछिल्लो समय बनेका अधिकांस योजनामा मिटर जडित धारा बनाइएको हो । यसरी पानी आपूर्ति गर्दा जथाभावी खेर नजाने, उपभोक्ता समितिले मर्मत कोष बनाउन सक्ने जस्ता फाइदा पुगेको वडा अध्यक्ष वीरेन्द्र बुढाले बताए ।
दर्लिङकै बलगाँसमा पनि गत साउनमा अर्को खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । २२ लाख ३९ हजार रुपैयाँको लागतमा बलगाँस मैदाले खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । यो आयोजनाबाट ५५ घरधुरीले स्वच्छ पानी खान पाएको उपभोक्ता समितिका सदस्य बिजय केसीले बताए ।
हरेक आयोजनामा स्थानीय पालिकाले सानो सहयोग गरेपछि उपभोक्ताको सहकार्यमा नेवाले ठूला आयोजना पनि निर्माण गर्दै आएको हो । गाउँपालिका मात्रैले निर्माण गर्न नसकेका आयोजनामा सहलगानी गरेर आयोजना बन्दा उपभोक्ताले छिटो लाभ पाएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताए । बागलुङकै अर्नाकोट, निसीखोलाको झिँवाखोवा, बोहोरागाउँ तथा ढोरपाटनको अधिकांस बस्तीमा खानेपानी आयोजना निर्माण भैरहेका छन् ।
त्यस्तै, गत भदौ १७ गते भुजीखोलामा गएको बाढी पहिरोले क्षतविक्षत बनाएका खानेपानी आयोजनाहरुको पुननिर्माण र मर्मतका लागि पनि प्रारम्भिक तयारी गरिएको छ । आयोजनाबाट क्षति पुगेकामध्ये ३ वटा आयोजना पुननिर्माण गर्नुपर्ने बताइएको छ । ती आयोजनामध्ये १५ घर सबैभन्दा बढी प्रभावित भएको भेटिएको थियो । उनीहरुलाई तत्काल अस्थायी व्यवस्थापन गराइएको छ । नेवाले दशैपछि तीनवटै आयोजनाको पुननिर्माण थाल्ने भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->