मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

चौतर्फी आलोचनापछि धमाधम दसैं भत्ता फिर्ता गर्दै सांसदहरू

चौतर्फी आलोचनापछि धमाधम दसैं भत्ता फिर्ता गर्दै सांसदहरू

गगन थापाले नगदै फिर्ता गरे, सुर्य पाठकले पत्र लेखेर आगामी महिनाबाट कटौती गर्न भने ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७७, आइतबार

काठमाडौं, २ कात्तिक – कोरोना महामारीका बेला दसैं भत्ता बुझेको भन्दै आलोचना भएपछि सत्तारूढ र प्रतिपक्षी सांसदहरूले धमाधम भत्ता फिर्ता गर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले आईतवार संघीय संसद सचिवालयमा भत्तावापतको रकम नगदै फिर्ता गरेका छन्। थापाका स्वकीय सचिव सविनबाबु मुडभरीमार्फत् थापाले ६४ हजार ७० रूपैयाँ संसद सचिवालयमा फिर्ता दिएका हुन्। ‘संसद सचिवालयमा नगद नै फिर्ता गरिदिएको हो,’ मुडभरीले भने। यस्तै सांसद थापाले संसद सचिवालयलाई लेखेको पत्रमा भत्ता रकम फिर्ता लिन आग्रह गरेका छन्।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद भीम रावलले संघीय संसद सचिवालयलाई आइतबार पत्र लेख्दै भत्ता कट्टा गर्न आग्रह नै गरेका छन्। आफ्नो खातामा पठाएको भत्ता फिर्ता लिन प्रक्रियागत अप्ठेरो आइपरे चेक वा अर्को महिनाको पारिश्रमिकबाट कट्टी गर्ने विकल्पसमेत रावलले संसद सचिवालयलाई दिएका छन्। उनको खाता दसैं भत्ताबापत् ६४ हजार ७० रुपैयाँ आएको थियो। उनले भत्ता लिने व्यवस्था नै हटाउन पनि माग गरेका छन्।
त्यस्तै सांसद सूर्य पाठकले पनि संसद सचिवालयमा पत्र लेखेर आगामी महिनाको पारिश्रमिकवाट कट्टा गर्न निवेदन दिएका छन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि भत्ता रकम फिर्ता गर्ने बताएका छन्। ‘अहिलेको विषम अवस्था र आम नेपालीले भोग्नुपरेको अभाव र पीडालाई ध्यानमा राख्दै जनप्रतिनिधिको रूपमा दसैं भत्ता लिन उचित लागेन,’ खाँणले भने, ‘यो रकम संसद सचिवालयमार्फत् सरकारलाई फिर्ता गर्दछु। सरकारले जनहितमा उपयोग गरोस्।’ नेकपाका सांसदहरू जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतले पनि दसैं भत्ता लिनु उचित नहुने बताएका छन्। पौडेलले आफुले पाएको भत्ता भुजीखोलाका बाढिपहिरो पिडितलाई दिने सामाजिक सञ्जाल फेसवुक मार्फत जनाएका छन् ।
‘कोरोना महामारी हाम्रो प्रमुख समस्या हो। यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं,’ सांसद जनार्दन शर्माले भनेका छन्, ‘मलाई आएको दसैं भत्ता कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।’
नेकपा प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यवापत् आउने पारिश्रमिक र भत्ता एक वर्ष नलिने यसअघि नै घोषणा गरेका थिए। उक्त रकम उनले कोरोना नियन्त्रण तथा उपचारका लागि खर्च गर्न सरकारलाई आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->