पर्वत, ३ कात्तिक– पर्वतमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नं. १३ घर भई पर्वतको कुस्मा नगरपालिका वडा नं. ५ मेलमिलापचोकस्थित होम आइसोलेसनमा रहेकी ४८ वर्षिया महिलाको आइतबार साँझ सात बजे मृत्यु भएको हो ।
उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पतालमा पुगेकी ती महिलालाई स्वाब लिइएकोमा मृत्यु भएकै दिन कात्तिक दुईमै कोरोना पुष्टि भएको थियो । ती महिलामा मधुमेहको पनि समस्या रहेको र उनको मृत्युसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५१ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
संक्रमणको पुष्टि भएपछि उनी उपचारका लागि गएको मेट्रोसिटी अस्पतालले भने कोरोनाको विषयमा बेवास्ता गरेको यो घटनाले पुष्टि गरेको छ । महिलामा संक्रमण रहेको थाहा पाएपछि होम आइसोलेसनमा बस्न भन्दै उनलाई घर पठाइएको पाइएको थियो ।
ती महिला कुस्मा बजार आएकोबारे न त स्थानीय प्रशासनलाई थाहा थियो न त स्वास्थ्यकर्मीहरूलाई नै । मेट्रोसिटीले कोरोना संक्रमित महिला पर्वत आउँदै गरेको भनी पर्वतका सम्बन्धित निकायमा जानकारी नगराएका कारण उनी घर फर्किने क्रममा कति जनाको सम्पर्कमा रहिन भन्ने यकिन हुन सकेको छैन ।
एक स्थानीयका अनुसार, मृतक महिला आइतबार बिहान बागलुङ जाने जिपमा आएर सदरमुकाम कुस्माको साझाचोकमा झरेकी थिइन् । उनी केहीबेर सडक छेउमा छटपटिए जस्तै अवस्थामा रहेकी थिइन् । लगत्तै उनका श्रीमानले ट्याक्सी बोलाएर उनलाई घरमा लगेका थिए ।
पर्वत अस्पतालका चिकित्सहरुले आफूहरूलाई संक्रमित महिला कुस्मामा रहेको भन्नेबारे जानकारी नभएको र उनी आएको थाहा पाएको भए होम आइसोलेसनमा नराखी कोरोना अस्पताल (अस्थायी) को आइसोलेसनमा राखेर बचाउने प्रयास गरिने बताएका छन् ।





