बागलुङ, ४ कात्तिक– पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाईडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।
‘यहाँ उत्तरतर्फ हावा बहन्छ, त्यसैले प्याराग्लाईडिङका लागि यो उपयुक्त ठाउँ हो’ प्यारा पाईलट टेक बहादुर थापाले भने ‘नेचुरल सिन पोखराको भन्दा कम छैन, एभरेष्टहरुको दृष्य सुन्दर देखिन्छ ।’ मन्त्रालयले प्याराग्लाईडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सराङ्कोटबाट भैरहेको प्याराग्लाडिङ रोकिने भएकाले विकल्पमा बलेवालगायतका ठाउँ रोजिएको महाशाखाका प्रमुख डिल्लीराम रिजालले बताए ।
मंगलबार बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा रहेका वडाध्यक्षलगायत सरोकारवालालाई डाकेर महाशाखाले प्याराग्लाईडिङको लागि उड्ने (टेकअप लिने) र ओर्लिने (ल्याण्डिङ) गर्ने ठाउँको विषयमा छलफल गरेको छ । वडा नं. १०, १२, १३ र १४ का वडाध्यक्षलगायत सरोकारवालाबीच भएको छलफलले उड्ने ठाउँको विषयमा टुंगो लगाएको छ । ‘पोखराको विकल्पमा हामी पर्नु निकै खुसीको कुरा हो’ वडा नं. १० का वडाध्यक्ष प्रेम बहादुर थापाले भने ‘हामी मिलेर उड्ने र ओर्लिने ठाउँको विषयमा टुंगो लगाउँछौं ।’
बलेवा बिमानस्थलसमेत कालोपत्रेको काम भैरहेको र सञ्चालनको सम्भावना रहेकाले ओर्लिने ठाउँको विषयमा थप छलफल गर्ने सहमति भएको छ । बैठकले वडा नं. १३ मा पर्ने पहरेमा उड्ने ठाउँ बनाउनका लागि सहमति गरेको छ । मंगलबार सोही ठाउँबाट प्यारापाईलट टेकबहादुर थापाले दोस्रो पटक सफल परीक्षण गरेका थिए ।
‘उड्ने ठाउँको विषयमा टुंगो लाग्यो अब महाशाखाले त्यहाँ पूर्वाधार बनाउँछ, आज म आँफै पनि सफल तरिकाले उडेँ’ महाशाखाका प्रमुख रिजालले भने ‘सडकलगायतका संरचनामा स्थानीय सरकारले ध्यान दिए राम्रो भविश्य देखियो ।’ उनले पोखराको विकल्पको रुपमा बलेवामा प्याराग्लाईडिङको व्यवसायीक उडान गराएरै छोड्ने बताए । प्रदेश सरकारले यसअघि परीक्षण सफल भैसकेका बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राईनासकोट, स्याङ्जाको सोरेमैदान र कास्कीको अर्मालालाई विकल्पको रुपमा राखेर पूर्वाधार विकास गर्ने योजना बनाएको छ ।
‘पहरेमा अब खानेपानी, शौचालय, मैदान र कपडा परिवर्तन गर्नेलगायतका संरचना बनाउन उपभोक्ता समिति गठन हुन्छ’ रिजाल भन्छन् ‘अर्को वर्षसम्म व्यवसायीक उडान गर्नेलाई महाशाखाले अनुमति दिन्छ ।’
बैठकमा सहभागि जनप्रतिनिधि तथा सरोकारवालाले प्याराग्लाईडिङ स्थलसम्म पुग्ने सडकको विषयमा चासो राखेका थिए । पोखराको विकल्पमा बलेवामा प्याराग्लाईडिङ हुँदा यहाँका अन्य पर्यटकीय क्षेत्रको समेत प्रचार हुने वडा अध्यक्ष गुरुदत्त पाठकले बताए । बलेवामा प्याराग्लाडिङ पोखराको भन्दा लामो दुरीको हुनेछ ।
कालीगण्डकी माथि बनेका पुलका संरचना र धार्मिक पर्यटकीय स्थलहरु यहाँका सहायक घुम्न मिल्ने ठाउँ हुने हुँदा आर्थिक हिसावले समेत प्याराग्लाईडिङ लाभदायक बन्ने छ ।
बिमानस्थलको सञ्चालन, कालीगण्डकीमा ¥याफ्टिङ र नजिकैको बञ्जी विदेशी पर्यटकका लागि प्याकेज बन्ने भएकाले बलेवामा प्याराग्लाईडिङको व्यवसायीक भविश्य रहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल बताउँछन् ।







