
पोखरा, ७ कात्तिक– दशै लाग्यो कि पोखरामा च्याङ्ग्रा आइहाल्छ । प्रत्येक वर्ष च्याङ्गा्रको भाउ आकाशिदो अवस्थामा छ । यो वर्ष त झन् कोरोना भाइरस महामारीको कारण भाउ बढेको छ । पोखरामा यसवर्ष मुस्ताङ र बझाङको भेडा च्याङ्ग्रा मात्र आएका छन् । कोरोना कहरले तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुल्य आकाशिन पुगेको हो । तर मुल्य बढेपनि पोखरेली उपभोक्ताले भने च्याङ्ग्रा किन्न छाडेका छैनन् ।
टिका नजिकिदै गर्दा च्याङ्ग्रा किन्नेको समेत भीड लाग्न थालेको छ । कास्की ढिकुरपोखरीदेखि च्याङ्ग्रा किन्न आएका गंगाधर दाहालले हिमाली क्षेत्रका विभिन्न जडिबुटी खाने हुँदा पनि यसको महत्व भएको बताए । ‘हिमाली जडिबुटी पाँचऔले, पखनवेद, दुधेकाडेँ हर्राै सतुवालगायत विभिन्न जडिबटीहरु खाने हुँदा हामीले मासु खाँदा पनि विभिन्न तत्व पाउँन सक्छौ । च्याङ्ग्राको महत्व नै छुट्टै छ’ उनले भने ।
त्यस्तै पोखरा ८ सिमलचौरदेखि च्याङ्ग्रा किन्न पुगेका मोहन दाहालले च्याङ्ग्रा स्वास्थ्यको लागि समेत निकै फलदायी र वर्षमा एक पटकमात्र आउने हुँदा मासुको स्वादनै फरक भएको बताए । रकम महँगो भएपनि यसको फाइदा धेरै भएकाले आफुले महँगो रकम तिरेर खान आएको बताए ।
च्याङ्ग्रा व्यापार गरिरहेका पोखरा २६ लेखनाथका राम बहादुर थापाले विदेशी च्याङ्ग्रा नआएको र स्वदेशीमा मात्र हुँदा महँगो पर्न गएको बताए । च्याङ्ग्राको मुल्यमा वृद्धि भएकै कारण आयात कम भएको उनले बताए । ‘अहिले प्रति च्याङ्ग्रा ३० देखि ३८ हजार रुपैयाँसम्म बिक्री गरेका छौ’ उनले भने । यसवर्ष भने बाटोमा विभिन्न बहानामा कर उठाउने काम नभएको बताए । घाँसा भेटेनरी, मुस्ताङबाट निर्यात गर्दा र सामुदायिक वनलाई कर तिरेको उनले सुनाए ।





