मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

लागत मूल्य पाउँदैनन् कुखुरा किसान

लागत मूल्य पाउँदैनन् कुखुरा किसान

किसानले २ सयको माग गर्छन् । त्यही समयमा व्यवसायीले फेरी चितवनबाटै कुखुरा झिकाइदिने धम्की दिन्छन् ।


  • ढोरपाटन संबाददाता
  • कार्तिक ७ २०७७, शुक्रबार

बागलुङ, ७ कात्तिक– बागलुङ नगरपालिका वडा नं. ३ पावरहाउसका नारायण शर्माले ब्रोइलर कुखुरा प्रतिकेजी १ सय ५० रुपैयाँमा बेचेका छन् । ३ केजीभन्दा बढी माग गर्नेलाई उनले घरमै लगिदिने व्यवस्था पनि गरेका छन् ।
तर, उनले १ सय ५० मा दिएको कुखुरा बजारमा ३ सय ४० मा बेचेको देखेर दंग पर्छन् । नाफा खाने निश्चित प्रतिशत हुन्छ की जे मनलाग्यो त्यहीं भाउ हो भन्ने कुरामा अन्यौल भएको उनले बताए ।
किसानले फाइदा नपाई दिएको कुखुरा बिचौलियाले भने अत्याधिक नाफा लिने प्रवृत्तिले उपभोक्ता ठगिएको दाबी गरे । उनले संभव हुने उपभोक्तानै आफ्नो फर्ममा आउन आग्रह गरे । नारायण शर्माको मात्र हैन कुखुरापालक किसानको समस्या पनि उस्तै छ । ५० रुपैयाँ पर्ने ब्रोइलर कुखुराको चल्ला बागलुङ आइपुग्दा ८० पर्छ । दानाको लगानी, खोर बनाउने लागतसहित ४० दिनसम्मको स्याहारबाट हुर्काएको कुखुरा किसानले प्रतिकेजी १ सय ५० रुपैयाँमा बेच्दा घाटा हुने गरेको किसानको गुनासो छ ।
किसानले २ सयको माग गर्छन् । त्यही समयमा व्यवसायीले फेरी चितवनबाटै कुखुरा झिकाइदिने धम्की दिन्छन् । त्यसपछि किसान व्यापारीकै मूल्यमा झर्न बाध्य छन् । व्यवसायीले समयमा खरिद नगरिदिंदा ब्रोइलर कुखुराको लागत बढ्ने गरेको हो ।
किसानले आफ्नो लगानीसमेत नउठेको भन्दै उचित मूल्यको माग गरेका छन् । ‘प्रतिकेजी १ सय ९० देखि २ सय रुपैयाँ नपाउने हो भने ब्रोइलर कुखुरा नपाले पनि हुन्छ’ बागलुङ नगरपालिका वडा नं. ३ की टिका भण्डारीले भनिन्, ‘दाना र चल्लाको व्यापार गर्ने तथा मासु व्यवसायीले किसानलाई दोहन गरिरहेका छन् ।’ उनले बजारमा बेच्दा घाटा भएकोले गाउँमा बेच्न थालेको बताइन् ।
दशै तथा चाडपर्व लक्षित गरेर प्रशासन र उपभोक्ता मञ्चले ३ सय ४० रुपैयाँसम्ममा मासु बेच्न निर्देशन जारी गरेको छ । ‘मूल्य बजारले निर्धारण गर्ने हो, प्रशासनले तोकेको मूल्यमा बेच्ने कुरा होइन, तरपनि मानेर मूल्य घटाएका छौं’ मासु व्यवसायी संघ बागलुङका अध्यक्ष तेजेन्द्र थापाले भने, ‘थोरै मूल्यमा बेच्ने निहुँमा बजार भाउ बिगार्नु राम्रो होइन ।’
फ्रेस हाउस संचालन गरेकै भरमा प्रतिकेजी १ सय ९० देखि २ सय ३० रुपैयाँसम्म नाफा खाने प्रवृत्ति उपभोक्ता हितबिपरित भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । ‘नाफा खाने पनि नैतिकता हुन्छ, प्रशासन र उपभोक्ता मञ्चसहित व्यवसायीको बैठकमा तोकिएको मूल्य कार्यान्वयन हुनुपर्छ’ न्यौपानेले भने, ‘कालोबजारी गरेको भेटिएमा प्रशासनले कारवाही गर्छ ।’
सस्तोमा बेचेको भन्दै संघका पदाधिकारीले नै केही व्यवसायीलाई अबरोध गरेको गुनासो आएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । ‘सस्तोमा बेच्न खोज्दा समस्या पारिएको हो भने कारवाहीको लागि सिफारिस गर्छौ’ श्रेष्ठले भने, ‘उपभोक्ता ऐनले दिएको अधिकार प्रयोग गर्न प्रशासनको ध्यानाकर्षण गराएका छौं ।’
मञ्च, प्रशासन र व्यवसायीले असोजदेखि लागू हुने गरी नयाँ मूल्यसूची तोकेका थिए । बागलुङ बजारमा मात्रै दैनिक २० क्विन्टल ब्रोइलर कुखुराको मासु खपत भैरहेको थापाले बताए । त्यसबाहेक दैनिक ३ क्वीन्टल राँगो, १ क्वीन्टल खसी र २ क्वीन्टल बंगुर खपत भैरहेको छ । जिल्लाभर १ सय क्वीन्टलसम्म मासु खपत हुने गरेको थापाले बताए ।
व्यवसायीले किसानको खोरमा गएर सकेसम्मको न्युन मूल्यमा लिने गरेको र उपभोक्ता मूल्य चर्को बनाएको गुनासो गरेका छन् । ‘हामीलाइ सकेसम्म सस्तो मूल्यमा माग्छन्’ अर्का किसान ओमबहादुर खड्काले भने, ‘बढीमा १ सय ६० रुपैयाँमात्र हामीलाई दिन्छन् ।’ उनले मासिक २० क्विन्टलसम्म कुखुरा बेच्ने गरेको बताए ।
कोरोना संक्रमणका कारण बजारमा दानाको मूल्य बढेको छ । समयमा दाना ल्याउन नसक्दा बढी मूल्य परेको व्यवसायी नारायण पौडेलले बताए । ‘पहिलाजस्तो एकैदिनमा सामान आएर झार्ने अवस्था छैन, त्यसैले लागत बढ्छ’ पौडेलले भने, ‘किसानको खोरमा पुग्दा पहिलाभन्दा लागत बढेको, व्यवसायीले भने किसानको मेहेनतको मूल्य दिन तयार नभएको प्रष्टै छ ।’ नाफाको दर घटाउन व्यवसायी तयार नभएकोले किसान मारमा परेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->