बागलुङ, १० कात्तिक– बागलुङ बजारमा गण्डकी प्रदेशकै नमुना बसपार्क निर्माणको म्याद कार्तिक मसान्तमा सकिँदै छ । बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरमा निर्माणाधिन बसपार्कको काम म्याद सकिन केही दिन बाँकी रहँदा ७५ प्रतिशत मात्रै पुरा भएको छ ।
एक वर्षभित्रै सुविधा सम्पन्न बसपार्क निर्माण गर्ने भन्दै नगरविकास कोषसँग दुइ वर्षअघि ऋण सम्झौता गरेर प्रक्रिया थालेको बागलुङ नगरपालिकाले बसपार्क निर्माणको लागि अन्तिम पटक थपेको म्यादमा बसपार्क निर्माणले पूर्णता नपाउने भएको हो । अघिल्लो वर्षको मंसिरमा काम सक्नेगरी निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीले समयमा काम नसकेपछि २०७७ बैशाख १५ गतेसम्मका लागि म्याद थप भएको थियो ।
लकडाउनलगायतका कारण देखाएर निर्माणको काम नसकेपछि पुनः आगामी कार्तिकसम्मको लागि म्याद थप भएको थियो । ‘अहिलेकै अवस्थामा काम चले मंसिरमा काम सकिएला’ बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माले भने ‘मंसिरमा काम सकियो भने पनि हाम्रा लागि खुसीको कुरा हो, काम छिटो सक्न हामीले ताकेता गरिरहेका छौं ।’ ट्रमिनल भवनको काम लगभग अन्तिम चरणमा पुगेको भएपनि भवनमाथि ट्रस बनाउने, ढालन, पीच र रंगरोगनलगायतका काम सुरु नै भएका छैनन् ।
दशैं तिहारजस्ता पर्वहरुका कारण काममा प्रभाव परे कार्तिक मासन्तसम्म भौतिक प्रगति नहुने उनले बताए । ‘निर्माण कम्पनीले मजदुर बिदामा राख्ने भनेको छ, सरासर काम भयो भने मात्रै मंसिरमा सकिन्छ’ शर्माले भने ‘कहिले लगत स्टमेटले समस्या ल्यायो, कहिले कोरोना समस्या हुँदा समय घर्किरहेको छ ।’ कार्तिकमा सकिने गरी कार्यपालिका बैठकबाट म्याद थपको निर्णय गरेका नगरप्रमुख जनकराज पौडेलले भने अंग्रेजी महिनाको डिसेम्बरसम्ममा कम्पनीले काम सक्नुपर्ने तर्क गरे ।
निर्माण कम्पनी आशिष, फेवा जेभीले पनि काम निरन्तर चलिरहेकाले मंसिरसम्म काम सक्ने जनाएको छ । ‘काम रोकिन्न, गर्दा गर्दै नसकिने कुरा अलग हो’ निर्माणस्थलमा सुपरभाईजरको जिम्मेवारीमा रहेका प्रकाश पौडेलले भने ‘अवरोध केही नभए अब धेरै काम बाँकी छैन् ।’
स्थानीयले बसपार्क समयमा निर्माण नगरेको भन्दै बेला बेलामा खबरदारीसमेत गर्दै आएका छन् । बहाना बनाएर एक वर्षमा निर्माण सक्ने भनिएको काम दुई वर्षमा समेत नसकेको स्थानीय इश्वरी प्रसाद उपाध्यायले बताए । ‘हामीले जग्गा दिएका छौं, बसपार्क बनेपछि बाँकी जग्गा फिर्ता हुने कुरा हो’ उपाध्यायले भने ‘पार्क बन्न ढिला हुँदा जग्गा फिर्ताको काम पनि ढिला हुन्छ ।’
बसपार्क बनाउन ऋण दिएको नगर विकास कोषले ६ महिना म्याद थपेर बसपार्क बनाउने बाटो खोलिदिएपछि नगरपालिकाले ठेकेदार कम्पनीलाई काम गर्न लगाएको थियो । कोषले दिएको म्याद भने डिसेम्बरमा सकिँदै छ । बसपार्क निर्माणका लागि कुल १० करोड ४६ लाख ८७ हजार ५ सय रुपैयाँको लागत लाग्ने बताइएको छ ।
निर्माणाधिन बसपार्क धौलागिरिकै आधुनिक र सुविधा सम्पन्न हुनेछ । बसपार्कसँगै टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी पार्कलगायतको संरचना निर्माणको चरणमा छन् । संरचनाहरुमध्ये भवनको रंगरोगन तथा बाहिरी संरचना निर्माण र पार्क व्यवस्थापनको काम बाँकी रहेको शर्माले बताए ।
आधुनिक बसपार्क निर्माण भएपछि कम्तीमा ६० वटा बस पार्किङ गर्न सकिने र साना सवारी साधनका लागि समेत सहज पार्किङको व्यवस्था हुनेछ । पछिल्लो समय सवारी साधनको संख्या बढ्दै गएपछि पार्किङ साँघुरो भएको छ । जीप व्यवसायीले भने बानपा–२ मा भाडामा जग्गा लिएर सवारी पार्क गर्दै आएका छन् ।





