बागलुङ ११ कात्तिक- गत चैतमा ढोरपाटन सिकार आरक्षमा टेण्डर पारेर राजश्व बुझाएका सिकारी आएनन् । कोरोना संक्रमणले संसारभर लकडाउन भएकोले बोलकबोल भैसकेर पनि सिकारी आउन नपाएपछि सिकार रद्द भयो ।
हरेक बर्ष ढोरपाटनमा चैत र कात्तिकमा दुइपटक सिकार खुल्छ । चालु बर्षको पहिलो सिजनको पनि टेण्डर खुलेको छ । तर सिकारी आउने संभावना भने छैन । नेपाल सरकारले अन्तराष्ट्रिय उडान अझै खुला नगरेपछि सिकारी आउने संभावना नभएको सहायक संरक्षण अधिकृत रमेश यादवले बताए ।
चैतमा सिकारका लागि आउन चाहने सिकारीले राजश्व बुझाएर पनि रोकिएका थिए । चालु बर्ष भने टेण्डर नै नपर्ने संभावना रहेको यादव बताउ“छन् । गत चैतकालागि ११ वटा नाउर र ३ झारल सिकारको टेण्डर खुलेको थियो । उक्त सिजनमा सिकार नभएपछि सोही संख्यामा पुनः टेण्डर खुलेको हो । हरेक बर्ष कात्तिकमा पहिलो र चैतमा दोश्रो सिजनको सिकार खुल्ने गथ्र्यो । दुइ पटक गरी २६ नाउर र १० वटा सम्म झारलको सिकार अनुमति दिने गरिन्थ्यो ।
सिकारीले १५ देखि २१ दिन सम्म आरक्षमा बसेर सिकार गर्न पाउने व्यवस्था छ । उनीहरुले ९ लाख देखि १२ लाख रुपैयाँ सम्मको बोलकबोल गरेर नाउर मार्न तयार हुन्थे । यसरी हरेक बर्ष ढोरपाटनमा २ करोडबढी राजश्व संकलन हुने गरेको थियो । बन्दाबन्दीले राजश्व संकलनमा पनि असर परेको छ । अघिल्लो बर्षको दोश्रो सिकारमा एउटै नाउरको १३ लाख ५१ हजार र झारलको १३ लाख ५० हजार रुपैयाँ राजश्व उठेको थियो । ‘गतबर्षको रकम जस्तै राजश्व संकलन हुन्थयो, अहिले ठप्पै भयो’ उनले भने, ‘आगामी चैतमा मात्रै अब सिकार संभव होला जस्तो छ ।’ आरक्षले आसपासको बस्तीका मानिसलाई लक्षित गरेर सेनासँको सहकार्यमा क्वारेन्टाइन पनि बनाएको थियो । सिकारी आएमा सुरक्षा प्रबन्ध मिलाउन आरक्षले काम गरेको हो ।
अधिकांस सिकारीहरु युरोप र अमेरिकाका हुन्थे । उनीहरु हेलिकोप्टर लिएर सिधै ढोरपाटन पुग्ने गरेका छन् । गत भदौमा बाढी पहिरोले सडक बगाएपछि ढोरपाटनमा गाडि चढेर घुम्न जाने क्रम पनि ठप्प जस्तै छ । सिकारकालागि हिमालयन सफारिज, ग्लोबल सफारिज,नेपाल वाइल्ड लाइफ एडभेञ्चर, हिमालयन आउटफिटर, ट्रयाक एण्ड ट्रेल्स र नेपाल वाईल्ड लाईफ समारिज लगायतले सिकारी ल्याउने काम गरेकोमा यो बर्ष उनीहरुका गतिविधि पनि ठप्प छन् । ढोरपाटनमा ७ वटा सिकार व्लक छन् । हरेक बर्ष कात्तिक महिनामा पहिलो सिजन र चैतबैसाखमा दोश्रो सिजनकालागि बिभागले टेन्डर मार्फत सिकार खुलाउँछ ।
ढोरपाटन हिमाली क्षेत्र भएकोले चितवन, पर्सा र बर्दिया राष्ट्रिय निकुञ्ज जस्तो चोरी सिकार हुँदैन । तर छिटफुट रुपमा रुख र जंगली जनाबर तस्कर गर्नेहरु यहाँपनि सक्रिय छन् । ‘बन्दाबन्दीको समय भएपनि हामीले नियमित गस्ती गरिरहेका छौं’ ढोरपाटन स्थित सुरक्षा गुल्मका एक सेनानीले भने, ‘घरसारको उपयोग बाहेक बिक्री गर्ने तस्कर भेटिएको छैन ।’ सिकार आरक्षको क्षेत्रमा बागलुङ, म्याग्दी र रुकुमका बस्तीहरु छन् । केहीबर्षदेखि सेना बस्न थालेकोले चोरीसिकार हटेको हो । ७ वटा ब्लकमा आरक्षले सेना र संरक्षणकर्मी खटिएका छन् ।





