
बागलुङ, ११ कात्तिक- पदयात्राका सौखिन युवा सुमन जिसी आइतबार पहिलोपल्ट हाँडीकोट पुगे । हाँडीकोटबाट सूर्योदय हेर्ने व्यग्रताले निद पनि बिहान चारै बजे खुल्यो । बेलैमा नपुगे सूर्योदय छुट्थ्यो । ब्याडथलामा रात काटेका जिसी र उनका साथीहरु पौने पाँचतिर उकालो लागे । एक घण्टाको पदयात्रापछि हाँडीकोट पुगे ।
हाँडीकोटको टापुमा पाइला राख्दा/नराख्दै पूर्व क्षितिजमा लाली छायो । केहीछिनमै सूर्य उदायो । “धेरै ठाउँको यात्रा गरियो तर हाँडीकोटबाट देखिने सूर्योदय अद्भुत नै लाग्यो”, जिसीले सुनाए । फोटोग्राफीमा पनि अब्बल जिसीले सूर्योदयलाई क्यामेरामा कैद गरे ।
घामको सुनौलो किरण हिमालमा पोखिँदाको दृश्यले त झन् उनलाई रोमाञ्चित तुल्यायो । पर्यटनको प्रबल सम्भावना भएर पनि हाँडीकोट ओझेलमा परेको उनको भनाइ छ । जैमिनी नगरपालिका–७ जैदी, ८ छिस्ती र १० राङखानीको सीमामा पर्ने हाँडीकोट पुग्नेमा जिसी एक्लो थिएनन् ।
पर्यटन प्रवद्र्धनमा सक्रिय ‘घुमन्ते समूह’का सदस्य, पत्रकारलगायतले दशैँको छेकोमा हाँडीकोटलाई लक्ष्य बनाएका थिए । अघिल्लो शुक्रबार मध्यान्हपख बागलुङ बजारदेखि यात्रा थालेका उनीहरु आइतबार बिहान मात्र हाँडीकोट पुगेका थिए । पहिलो दिन जैदी, सुन्तलाचौरमा रात काटेर भोलिपल्ट बिहान हात्तीढुङ्गा, बेलबगर, गाईधुने गुफाहुँदै ब्याडथला पुगेको ‘घुमन्ते समूह’का सदस्य खिमबहादुर क्षत्रीले बताए ।
जैदी सेरोफेरोका पर्यटकीय गन्तव्य चहार्दै शनिबार साँझ हाँडीकोट तल ब्याडथला बास बस्न पुगेको उनले जानकारी दिनुभयो । “यात्राको एउटा लक्ष्य सूर्योदय अवलोकन पनि थियो, साँच्चिकै त्यसले हाम्रो यात्रालाई पूर्ण बनायो”, क्षत्रीले सुनाए । त्यस दिन हिमाल पुरै नखुलेपनि सूर्योदयले अरुथोक बिर्साइदिएको उनले बताए ।
पर्यटकीय लेक हाँडीकोटबाट सूर्योदय/सूर्यास्तसँगै मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट पाल्पा, बुटवलसम्मका भू–भाग देखिन्छन् । कुनै ताका भुरे÷टाकुरे राजाले त्यस क्षेत्रबाट राज्य चलाएको इतिहासमा उल्लेख छ । जडिबुटी र वन पैदावरका दृष्टिले पनि हाँडीकोट धनी छ । दुर्लभ चरा र वन्यजन्तुको बासस्थान छ ।
२१९५ मिटरको उचाइमा अवस्थित हाँडीकोट लेक पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको कमीले पछाडि परेको स्थानीयवासी बताउँछन् । हाँडीकोट युवा क्लवका सदस्य यम पुनले सरकारी तवरबाट कुनै पनि निकायको नजर हाँडीकोटमा नपरेको बताए ।
“यहाँ तत्कालै गर्नुपर्ने धेरै काम छन्, खानेपानी छैन, खाजा खानेसम्म ठाउँ छैन, शौचालय छैन”, उनले भने, “पछिल्लो समय हाँडीको चर्चा हुन थालेपनि सो अनुसार यहाँको विकासले गति लिन सकेको छैन ।” स्थानीय सरकारको रुपमा रहेको नगरपालिकालेसमेत हाँडीकोटलाई बेवास्ता गरेको उनको गुनासो छ ।
फोटो पत्रकार आरके अदिप्त गिरीले पर्यटनमैत्री र कलासापक्ष ढङ्गले संरचनाहरु बनाउनुपर्ने बताए । जथाभावी रुपमा पूर्वाधार खडा गर्दा हाँडीकोटको प्राकृतिक सौन्दर्य नासिने उनको भनाइ छ । “माथिसम्मै सडक किन ल्याउनुप¥र्यो ? मन्दिर, भ्यूटावरजस्ता संरचना बनाउँदा पनि मौलिकता झल्किनुपर्छ”, उनले भने ।
गिरीले हाँडीकोट र नजिकै रहेको ऐतिहासिक थन्थाप माई मन्दिरलाई जोडेर पर्यटन विकासको एकीकृत गुरुयोजना बनाउनुपर्ने धारणा राखे । विसं १८६५ सालमा बनेको उक्त मन्दिर जिल्लाकै प्रसिद्ध शक्तिपीठका रुपमा चिनिन्छ । हाँडीकोट ९० हेक्टर र थन्थाप माई मन्दिर १६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
नगरपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएर हाँडीकोटमा पर्यटन विकासको काम थालिएको जनाएको छ । पदमार्ग, दृश्यावलोकन स्तम्भ, मन्दिर, होटल, सङ्ग्रहालयलगायत संरचना बनाउने योजना नगरपालिकाको छ । दृश्यावलोकन स्तम्भका लागि प्रदेश सरकारकोसमेत रु. १५ लाख बजेट छ ।
नगरपालिकाको लगानीमा पूर्व र उत्तरपट्टीबाट गरी एक किमि जति पदमार्ग पनि बनीसकेको छ । कच्ची सडक पनि नजिकै पुगेको छ । सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटर यात्रामा ब्याडथला पुग्न सकिन्छ । त्यहाँबाट पैदले हिँडेपनि एक घण्टा भित्रैमा हाँडीकोट पुगिन्छ ।
पूर्वाधार पनि बन्न शुरु गरेको र प्रचारप्रसार पनि हुन थालेको स्थितिमा पछिल्लो समय हाँडीकोट पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । बन्दोबस्तीसहित पुग्ने कतिपय आन्तरिक पर्यटकले टापुमै ‘क्याम्प फायर’ गरेर रात बिताउँछन् । माथि नै बस्ने प्रबन्ध मिलाएकाले सूर्यास्त र सूर्योदयको अवलोकन एकै यात्रामा गर्न सक्छन् । पर्यटन प्रर्वद्धनको उद्देश्य राखेर गत वर्ष हाँडीकोट महोत्सवसमेत गरिएको थियो ।





