पोखरा, १४ कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलसंग शुक्रवार भेट गरी प्रदेशका आयोजनाहरुमा बजेट निकासाका लागि अनुरोध गरेका छन् । संघ सरकारले शशर्त अनुदानको शर्तसहित प्रदेशलाई हस्त्तान्तरण गरेका आयोजना र योजनाहरुका लागि बजेट नआउदा काम गर्ने समस्या परेको भन्दे बजेटको निकासा लागि अनुरोध गरेको मुख्यमन्त्रीका प्रेस संयोजक बिक्रम न्यौपानेले वताए । प्रदेशभित्रका सवै कामलाई सहज र छिटो छरितो रुपमा कार्य सञ्चालन गर्ने बजेट आवश्यक परेको अर्थमन्त्रीसंगको भेटमा मुख्यमन्त्री गुरुङले वताए ।
संघ सरकारले गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेका ३२ वटा सडक आयोजनाका लागि २ अर्ब ८६ करोड रुपैयाँ बजेट आवश्यक छ । आधारभूत खानेपानीका वर्षौं पुराना योजनाका लागि १ अर्ब ५ करोड, विशेष खानेपानी आयोजना ४३ वटाका लागि ५२ करोड ८७ लाख, १९ वटा सिँचाइका आयोजनाका लागि १८ करोड ५० लाख, ५० वटा सडक पुलका लागि ३० करोड ५१ लाख र जनता आवास कार्यक्रमका लागि ९० करोड रुपैयाँ चाहिन्छ । ती सबै आयोजनाको रकम निकासा गरिदिन मुख्यमन्त्री गुरुङले अर्थमन्त्री पौडेललाई आग्रह गरेका हुन् ।





