बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा शुक्रवार राती १२ बजेबाट एक हप्ता लकडाउनको घोषणा

पर्वतमा शुक्रवार राती १२ बजेबाट एक हप्ता लकडाउनको घोषणा

डिसिसिएमसीको बैठकले यातायात बन्द गराउने बारेमा भने कुनै पनि निर्णय गरेको छैन ।


  • संजय रेग्मी
  • कार्तिक १४ २०७७, शुक्रबार

पर्वत, १४ कात्तिक – पर्वत सदरमुकाम कुस्मा बजारमा एक हप्ताका लागि लकडाउन गरिने भएको छ । सदरमुकाममै होटल व्यवसाय गर्दै आएका एक व्यवसायीको कोरोना पोजेटिभ रहेको अवस्थामा उपचारको क्रममा मृत्यु भएपछि शुक्रवार राती १२ बजेबाट लागू हुने गरी एक हप्ताका लागि लकडाउनको घोषणा गरिएको हो । बुधवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकबाट कुस्मा नगरपालिको वडा नं. ४, ५, ६ र ७ मा लकडाउनको घोषणा गरिएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
‘कुस्मामा सङ्क्रमण फैलिँदै गएपछि चिकित्सक सहित अन्य सम्बन्धित निकायका व्यक्तिहरू सहित बसेको सिसिएमसीको बैठकले कात्तिक १४ गते राती १२ बजेदेखि कात्तिक २१ गते राती १२ बजेसम्मका लागि कुस्माका चार ओटा वडामा लकडाउनको निर्णय गरिएको हो ।’ उनले भने, ‘वडाबाट सिफारिस भएर आएका काम गर्दा भिडभाड हुने भयो, वित्तीय संस्थामा पनि भीड नै छ । पसलहरूमा पनि जोखिम हुन सक्छ भनेर लकडाउन गर्ने निर्णय गरिएको हो ।’
बैठकमा सहभागी चिकित्सकहरूले लकडाउन गरिएमा सङ्क्रमण फैलिए पनि त्यसको फैलने दर न्यून हुने बताएको र कुस्मा बजारमा सङ्क्रमणको फैलने दर बढ्ने अवस्थामा रहेको अन्य सहभागीले पनि बताएकोले लकडाउनको नै निर्णय गरिएको प्रजिअ रेग्मीले बताए । उनका अनुसार लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्था, तोकिएको वडाका वडा कार्यालयहरू, लगायत बन्द हुने छन् भने अत्यावश्यक सेवाका रूपमा लिइएका दैनिक उपभोग्य बस्तु बेच्ने किराना पसल, औषधि पसल, डेरी पसल, तरकारी पसल लगायत बन्द रहने छन् ।
डिसिसिएमसीको बैठकले यातायात बन्द गराउने बारेमा भने कुनै पनि निर्णय गरेको छैन । मान्छेको भिडभाड हुने ठाउँबाट सङ्क्रमणको जोखिम उच्च रहेको अवस्थामा बजारमा आन्तरिक सङ्क्रमणको खतराबाट जोगिन लकडाउनको निर्णय गरिएको भए पनि यातायात भने आन्तरिक र अन्तर जिल्ला सबै पूर्ववत् रूपमा नै सञ्चालनमा रहने भएका छन् ।
डिसिसिएमसीको बैठकले पसल व्यवसाय बन्द गरेर यातायातलाई नरोक्नुले व्यवसायीलाई मात्र लकडाउनले असर गर्ने बताउँछन् । सदरमुकाम कुस्मामै कपडा पसल सञ्चालन गर्दै कपडा व्यवसायी कृष्ण नेपालीले यातायात खुला गरेर आइजाइमा अवरोध नहुने तर बजारका पसल बन्द गर्ने निर्णयले व्यवसायी मात्र मर्कामा परेको गुनासो गरे । ‘गाडीहरू खुल्न पाउने, जो जहाँ जता पनि आउजाउ गर्न पाउने । अनि बजारमा रहेका पसलहरू मात्रै बन्द गरेर कोरोना नियन्त्रण गर्ने ?’ उनले भने, ‘यस अगाडिको लक डाउनमा पनि सबै खुले बजारका पसल बन्द हुँदा व्यवसायी नै मर्कामा परे। भाडा तिर्न नै कठिन भइरहेको बेलामा फेरि पनि लकडाउन ?’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->