सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

आगन्तुक तान्दै मूर्तिकला सङ्ग्रहालय

आगन्तुक तान्दै मूर्तिकला सङ्ग्रहालय


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०७७, शनिबार

बागलुङ, १४ कात्तिक – दशैँ मनाउन बुटवलदेखि गलकोट आउनुभएकी रञ्जिता परियारले यसपालि घुमफिरका लागि नजिकको गन्तव्य टेउवालाई रोजे । दशैँको भोलिपल्टै परियार र उजका साथीहरुले टेउवालाई लक्ष्य बनाए । घरदेखि झण्डै दुई घण्टा पैदलै हिँडेर उनीहरु टेउवा पुगे । त्यहाँको प्राकृतिक सौन्दर्यमा रमाए । निर्माणाधीन मूर्तिकला सङ्ग्रहालय अवलोकन गरे । दिनभरजसो त्यतै भुले । यसअघि सामाजिक सञ्जालमा टेउवाको फोटो÷भिडियो हेर्दा परियारलाई त्यहाँ कहिले पुगौँ जस्तो भइरहेको थियो ।
दशैँ बिदामा उहाँको धोको पुरा भएरै छाड्यो । “यहाँकोबारेमा फेसबुकबाट थाहा पाएकी थिएँ, साथीहरुले पनि भनिरहन्थे”, परियारले भने, “आज आफै घुम्ने मौका मिल्यो, रमाइलो र आर्कषक ठाउँ रहेछ ।” बेलाबेला गलकोटको पुख्र्यौली घर आउने गरेपनि उनी अहिलेसम्म टेउवा पुग्नुभएको थिएन ।
गलकोट नगरपालिका–५ मा अवस्थित टेउवा केही वर्ष अघिसम्म गुमनाम प्रायः थियो । फाटफुट्ट घुम्न र वनभोजस्थलका रुपमा मात्र त्यो ठाउँको नाम आउँथ्यो । तर गत फागुनयता भने टेउवा एकाएक चर्चामा आयो । एकहजार ९८० मिटरको उचाइमा रहेको टेउवाको परिचय नै फेरियो । टेउवामा खुला मूर्तिकला सङ्ग्रहालयसहित ललितकलाको अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखेर फागुन ५ देखि २१ गतेसम्म अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला आयोजना गरिएको थियो । उक्त कार्यशालापछि टेउवाले प्रकृति र कलाप्रेमी आगन्तुकलाई लोभ्याउन थालेको छ ।
देशविदेशका प्रसिद्ध कलाकारले कुँदेका मूर्तिकलाका अमूल्य कृतिलाई दशैँको सम्मुख पारेर सङ्ग्रहालयमा प्रतिस्थापन गरिएको थियो । निर्माणाधीन सङ्ग्रहालयमा १० देशका १५ मूर्तिकारले कुँदेका ढुङ्गाका मूर्ति छन् । पर्वको याम शुरु भएसँगै मूर्तिकला अवलोकनमा आउनेको सङ्ख्या बढेको गलकोट कला प्रतिष्ठानले जनाएको छ ।
“दैनिक सयौँको सङ्ख्यामा आइरहेका छन्, कोही त गाडी नै रिर्जभ गरेर आउँछन्”, प्रतिष्ठानका सदस्य एवं स्थानीयवासी झङ्कबहादुर बस्नेतले भने । सङ्ग्रहालय घुम्नका लागि अधिकांश सार्वजनिक बिदाको दिन पारेर आउँछन् । गलकोटबाहेक बाहिरका ठाउँबाटसमेत आगन्तुक आउन शुरु गरेका छन् ।
गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्षसमेत रहनुभएका बस्नेतले मूर्तिकला सङ्ग्रहालयले पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास व्यक्त गरे । “सङ्ग्रहालयले पूर्णता पाउँदासम्म यो एउटा आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुन्छ”, उनले भने । आगन्तुकको आउजाउ बढ्न थालेपछि बस्नेतले पसल र खाजाघर खोल्ने तयारीमा छन् । प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले अवलोकनकर्ताको प्रवेशलाई व्यवस्थित बनाउन छिट्टै टिकट प्रणाली शुरु गर्ने तयारी भइरहेको बताए । “मूर्तिकला अवलोकनका लागि मानिसहरु आइरहेका छन्, तत्काल प्रवेशद्वार र टिकटकक्ष बनाएर व्यवस्थित गर्नुपर्ने भएको छ”, उनले भने । सङ्ग्रहालयमा मूर्ति मात्र प्रतिस्थापन गरिएको र अन्य पूर्वाधार तयारीका काम गर्न बाँकी नै रहेको अध्यक्ष रानाले बताए ।
कोभिड–१९ का कारण कार्यशाला सकिएको महिनौँ बित्दासमेत मूर्तिको प्रतिस्थापन हुन सकेको थिएन । संरचना निर्माणमा ढिलाइ हुँदा मूर्ति संरक्षणमा चुनौती थपिएको थियो । अबभने १५ वटै मूर्तिलाई अलग–अलग ठाउँमा बनेका स्थायी संरचनामा प्रतिस्थापन गरिएको छ । मूर्तिको शीर्षक दिने, विवरण राख्ने, बगैँचा, फुटपाथ निर्माणलगायत साजसज्जाको काम यथाशक्य चाँडो सम्पन्न गरिने प्रतिष्ठानले जनाएको छ । बहुवर्षीय योजना भएकाले ‘डिपीआर’ अनुसार क्रमिक रुपमा काम अघि बढ्ने छ । कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटिएको पुस्तिका पनि प्रकाशन हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->