
बेनी, १५ कात्तिक – उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थलमा भ्रमण गर्न रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा दशैंतिहारको विदामा आन्तरिक पर्यटकहरु घुम्न आउन थालेपछि गाउँपालिकाभित्रका पर्यटकीय गन्तब्यमा अनिश्चितकालका लागि रोक लगाएको हो । विश्वकै चर्चित पर्यटकीयस्थल घोरेपानी, पुनहिल, खोप्रा, रुप्झे झरना, तातोपानी कुण्ड लगायत विभिन्न पर्यटकीय स्थलमा भ्रमण नगर्न सूचना जारी गरी अनुरोध गरिएको गाउँपालिकाका सूचना अधिकारी कुलप्रसाद आर्चायले बताए । ‘यो घुमघाम गर्ने समय हो,‘बाहिरी जिल्लाबाट आउने पर्यटकबाटै कोरोना फैलिने जोखिम छ’, सूचना अधिकारी आचार्यले भने ।
उनका अनुसार गाउँपालिका भित्र रहेका मुख्य र अन्य पर्यटकीयस्थल रहेका वडाका जनप्रतिनिधिका साथै स्थानीयले समेत निगरानी गरिरहेकाले भ्रमणमा आएर अलपत्र पर्ने अवस्थालाई मध्यनजर गरी म्याग्दीका साथै छिमेकी जिल्लाका कास्कीको नाकामा समेत कडाई गरिएको बताए। बेनी–जोमसोम सडकखण्डमा आवतजावत गर्ने यात्रुबाट समेत कोरोनाको जोखिम भएकाले सडकखण्ड आसपासमा रहेका होटल ब्यवसायीलाई समेत जनस्वास्थ्यको मापदण्ड लागु गरी सेवा उपलब्ध गराउन समेत पालिकाले अनुरोध गरेको छ ।
म्याग्दीमा भित्रिने करिब ६० प्रतिशतभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा रहेका अन्नपूर्ण भित्रका पर्यटकीयस्थलमा कोरोनाको जोखिमका बिचमा समेत घुम्न जानेको लर्को लागेपछि यसअगाडी घोरेपानीका होटल ब्यवसायीले समेत होटल तत्काल नखोल्ने सूचना जारी गरिसकेका छन् । कोरोनाको महामारीको समयमा समुदायस्तरमै संक्रमणको जोखिमसँगै पालिकाले बाहिरी जिल्लाबाट आउनेलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्न, कोरोनाको लक्षण देखिएमा सम्पर्क गर्न समेत अपिल गरेको छ । सार्वजनिक सूचनालाई अटेर गरेमा स्थानीय प्रशासनको सहयोगमा कानुनी कारवाहीको दायरामा ल्याउने समेत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदीले बताए । उनले कोरोना अस्पताल सहित कोरोनाबाट गाउँपालिकाबासीलाई जोगाउन आवश्यक सबै स्रोतसाधनको प्रयोग गर्ने समेत बताए ।





