बागलुङ, १६ कात्तिक – बागलुङ बजारका केही व्यवसायी, राजनितिकर्मी, कर्मचारी, जनप्रतिनिधी र पत्रकारमा कोरोना संक्रमण देखिएपछि उद्योग बाणिज्य संघले १४ दिन बन्दाबन्दी (लकडाउन) का लागि स्थानीय प्रशासन र बागलुङ नगरपालिकालाई अनुरोध गरेको छ ।
आइतबार बिहान बसेको संघको बैठकले बजारभित्र रहेकाहरुबाट समुदायमा थप संक्रमण फैलिन सक्ने अवस्था रहेको भन्दै बन्दाबन्दीको लागि अनुरोध गरेको हो ।
बैंक तथा वित्तिय संस्था, सार्वजनिक यातायात, सरकारी तथा गैरसरकारी संस्था सबै बन्द गर्ने अवस्था आएमा समुदायमा संक्रमण थप फैलिन नदिनका लागि आँफुहरु व्यवसाय बन्द गर्न तयार रहेको संघका महासचिव नरेश कँडेलले बताए ।
‘व्यवसाय मात्रै बन्द गरेर कुनै अर्थ हुँदैन, सबै क्षेत्र १४ दिन बन्द गरौं भनेर अनुरोध गरेका छौं’ कँडेलले भने ‘भयावह अवस्था आउन नदिनका लागि जिम्मेबार बनौं भन्ने हो ।’ संघले जिल्ला प्रशासन र नगरपालिकालाई पत्राचार गरिसकेको छ ।
‘संघ र प्रदेश सरकारको नीति बन्दाबन्दी गर्ने भन्ने छैन्’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने ‘व्यवसायीहरु बन्दाबन्दीको पक्षमा रहेकाले विकल्पको विषयमा छलफल भैरहेको छ ।’
पछिल्लो समय कोरोना पुष्टि भएर होम आइसोलेसनमा रहेकामध्ये २५ जनाभन्दा बढि बजारभित्रकै व्यवसायी, राजनितिकर्मी, कर्मचारी, जनप्रतिनिधी र पत्रकार रहेका छन् । उनीहरुका सम्पर्कमा आएकाहरु धेरै ब्यक्तिको पिसिआर परिक्षणका लागि पठाइएको छ ।
जिल्लाका दश स्थानीय तहमध्ये बागलुङ नगरमा सबैभन्दा धेरै सक्रिय संक्रमित छन् । बजारक्षेत्रमा आवतजावत समेत धेरै भएकाले नगरक्षेत्रमा बन्दाबन्दी गर्न व्यवसायीहरुले माग गरेका हुन् ।





